केरुङमा भारी हिमपात, सामान लोड हुन नसक्दा आयात प्रभावित

बिहिबार, १५ पुष, २०७८
डिजिटल संस्करण

केरुङमा बाक्लो हिमपात परेकाले नेपाल आयात हुने सामान लोड हुन नसक्दा आयात  प्रभावित भएको छ । मंगलबार बेलुकादेखि परेको बाक्लो हिमपातका कारण नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएका सामान लोड हुन नसकेको व्यवसायीहरूले बताएका छन् । केरुङमा करिब तीन फिटभन्दा बाक्लाे हिउँ परेको व्यवसायी पुरुषोत्तम पौडेलले बताए । उनले भने, ‘मैले केरुङमा बुझ्दा पहिलाको भन्दा धेरै हिउँ परेको छ, अहिले सामान लोड गर्ने स्थिति छैन  ।’ 

बाक्लो हिमपातका कारण सामान लोड भएर नेपाल आउन लागेका चिनियाँ कन्टेनरसमेत केरुङमै रोकिएको पौडेलले बताए । ‘सामान लोड भएर बसेका गाडी केरुङबाट रसुवागढी आउन सकेका छैनन्, हिमपात भइरहेकाले  थप सामान लोड हुन सकेको छैन,’ उनले भने, ‘बाक्लो हिउँ परेकाे छ, यातायात सञ्चालन अवरुद्ध भएको छ, अवराेध खुल्न अब कति दिन लाग्छ भन्ने यकिन भएकाे छैन ।’ 

अर्का व्यवसायी शारदाप्रसाद पराजुलीले हिमपातका कारण अबको केही दिन नेपालमा सामान आयात प्रभावित हुने देखिएको बताए । चिनियाँ पक्षले बिहान सात कन्टेनर र साँझ दुई कन्टेनर गरी दैनिक नाैवटा चिनियाँ कन्टेनरमार्फत रसुवागढीसम्म सामान आयात गर्ने गरेको थियो । मंगलबार बेलुका नै  सीमापारि आएर बसेका सात कन्टेनरले बुधबार बिहान रसुवागढीसम्म सामान ल्याएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद मैनालीले बताए । 

‘बुधबार बिहान सातवटा चिनियाँ कन्टेनरमार्फत सामान आयात  भएको छ, बेलुकी दुई कन्टेनर आउँथे, तर बुधबार भने आएनन्,’ मैनालीले  भने, ‘चिनियाँ पक्षले हामीलाई केही जानकारी गराएको छैन ।’ चीनतर्फ बाक्लो हिमपात परेका कारण हरेक वर्ष नेपाल आयात हुने सामान रोकिने गरेको छ । 

चिसोले रसुवाको जनजीवन प्रभावित

यसैगरी, रसुवाको उच्च हिमाली भेगसहित धेरै स्थानमा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले रसुवाको जनजीवन प्रभावित भएको छ । जिल्लाको गोसाइँकुण्ड, चन्दनवारी, ठूलोस्याफ्रुको, लाङटाङ, नाकथली तातोपानी गत्लाङ, तथा सदरमुकाम धुन्चेसमेतमा हिमपात भएको छ । राम्चे, स्याउबारी, उत्तरगया गाउँपालिकाको तिरू एवं नौकुण्ड गाँउपालिकाको यार्सा, घाङमर, दोक्लाङमा समेत हिमपात हुँदा त्यस क्षेत्रको जनजीवन  प्रभावित भएको छ ।

खेतीयोग्य जमिनमा हिउँ पर्दा यस वर्ष गहुँ, तोरी र आलुजस्ता हिउँदे बालीलाई भने राम्रो भएको कृषकले बताएका छन् । हिमपातले जाडो बढेसँगै बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।  हिमपातको समयमा सर्वसाधारणलाई बाहिर ननिस्कन र घरभित्रै आगो बालेर तातोमा बस्न जिल्ला प्रशासन कार्यालय रसुवाले सबैमा अनुरोध गरेको छ ।

See More On

सुझावित समाचार