बिपी कोइरालाको आत्मबोध, नेपाली कांग्रेसको नियति

शनिबार, २५ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली राजनीतिका महानायक बिपी कोइराला घाँटीको क्यान्सर उपचारका लागि विदेश जाने तयारी गर्दा आफ्नो जीवनको भविष्यप्रति विश्वस्त थिएनन्। जिन्दगीको अन्तिम–अन्तिम क्षणमा र आफ्नो समग्र राजनीतिक जीवनको आत्मादेखि नै समीक्षा गर्ने क्रमममा बिपीले ८ जेठ २०३९ मा गणेशराज शर्मासँग भनेका थिए– ‘मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्छ भने.....एउटै कुरामा देओस् कि मैले देशभित्र देशको सामर्थ्यलाई बुझेको रहेछु र देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोसिस गरेको रहेछु।’ (राजा, राष्ट्रियता र राजनीति, पेज १६०) 

जीवनको अन्तिम क्षणमा मामुली मानिसले पनि जीवनमा गरेका गल्तीहरूप्रति प्रायश्चितसहित जीवनको यथार्थबोध ओकल्ने प्रयास गर्दछ। अन्तिम क्षणमा सबै पद वा हैसियतबाट मुक्त भएर जोकोही पनि केवल मानिस मात्रै बाँकी रहन्छ। बिपीले नेपालको तत्कालीन वर्तमान तथा सुदूर भविष्यका लागि बलियो प्रजातन्त्र र राजसंस्था अपरिहार्य रहेको यथार्थबोध गरेका थिए। उनी यो मान्यताबाट अन्तिम समयसम्म पनि बिचलित भएनन्।  यसको दुई महिनापछि साउन ६, २०३९ मा बिपीको निधन भयो। 

बिपीले तत्कालीन घरेलु र बाह्य परिवेश, नेपालको छिमेक नीति एवं राष्ट्रिय हितका सम्बन्धमा आखिरीमा महत्वपूर्ण भनाइ सार्वजनिक गरेका छन्। उनका अधिकांश उद्गार यतिवेला पनि मुलुकको सामर्थ्य सिद्ध भएका छन्। तर, वर्तमानमा कांग्रेसको नियति मुलुकको सामार्थ्यभन्दा पर छ। नेपालको राष्ट्रियता र समृद्धिका लागि आज अपनाउनुपर्ने वैदेशिक नीतिका बारेमा बिपीले तय गरेको मार्गनिर्देशन महत्वपर्ण थियो। त्यसतर्फ एकपटक फर्केर विहंगम समीक्षा गर्नुपर्ने देखिएको छ।  बिपीले भौतिक जीवनको अन्तिम क्षणमा व्यक्त गरेको ‘नेपाल–भारत–चीन’ सम्बन्धको उच्च प्राथमिकताको अनिवार्यतालाई उनका राजनीतिक उत्तराधिकारीहरूले वर्तमानमा महसुस गरेका छन् कि छैनन् भन्ने बारेमा पनि यतिवेला बहस गर्नुपर्ने भएको छ। अहिले कांग्रेस महाधिवेशन हुँदै छ। नीतिगत विषयमा छलफल नभए पनि महाधिवेशनको यो क्षणमा यो विषयमा बहसको सान्दर्भिकता थपिएको छ। 

बिपीले जीवनको ‘अन्तिम  सन्देश’ मा भनेका छन्, –‘हिन्दुस्तानसँग हाम्रो सबैभन्दा नजिकको सम्बन्ध रहनुपर्छ। हिन्दुस्तानसँग हाम्रो धेरै कुरामा मतभेद छ तर मतभेदले मनोवैज्ञानिक आधार लियो भने जुनसकै कुरामा पनि मतभेद देखिन्छ। ... त्यसलाई मनोवैज्ञानिक आधारबाट भन्दा राजनीतिक बुँदाबाट हेयौँ भने कुरा मिल्छ भन्ने लाग्छ।’ उनले अझ स्पष्ट रूपमा भनेका छन्,‘ हामी हाम्रो भूगोलले गर्दा या अरू कारणले गर्दा हिन्दुस्तानसँग धेरै कुरामा निर्भर हुनुपर्या छ र हिन्दुस्तानले पनि हामीमाथि निर्भर हुनुपर्या छ। त्यसो हुनाले अरू मुलुकको तुलनामा हिन्दुस्तानसँग हाम्रो नजिकको सम्बन्ध रहन्छ। त्यस्तै, चीनसँग हाम्रो नजिकको सम्बन्ध रहन्छ। अमेरिका र रुससँग पनि हाम्रो सम्बन्ध रहन्छ तर तिनीहरू टाढाका हुन्।’ 

बिपीले पार्टीको परिधिबाहिर रहेर निकालेको फराकिलो निष्कर्ष पार्टीले अंगाल्न नसके कांग्रेस र मुलुककै भविष्य नरहने भविष्यवाणी गरेका थिए। अहिले संयोगवश मुलुकको राष्ट्रियता र कांग्रेसको भविष्य दुवै संकटमा भएको आमआकलन छ। सैद्धान्तिक  रूपमा कांग्रेस वा अमुक दल र मुलुकको भविष्यलाई एउटै तरिकाले हेर्न मिल्दैन किनभने कांग्रेस र मुलुक एक आपसमा परिपूरक हुन सक्दैनन्। कुनै दलको भविष्य मुलुकको राष्ट्रियताको आधारशीला बन्दैन। तर, नेपालको सन्दर्भमा कांग्रेसले लिने नीतिले ठूलो अर्थ राख्दछ। किनभने राजसंस्थाको बहिर्गमनपछि कांग्रेस मुलुकको संस्थापन मानिन्छ। त्यस हिसाबले हेर्दा बिपीले आफ्नो तहबाट कांग्रेसको भविष्यप्रति गरेको चिन्ता अत्यन्तै स्वाभाविक हो। 

बिपीले भनेका छन्– ‘मैले भनेको कुरोलाई पार्टीले मान्यो भने हाम्रो पार्टीको पनि भविष्य छ, नेपालको पनि भविष्य छ। यसलाई मानेनन् भने...अर्को बाटो लिए भने या कुनै विदेशीको मद्दत नभईकन हुँदैन भन्ने बाटो लिए..., मेलमिलापको जुन सैद्धान्तिक व्याख्या मैले गर्या छु, त्यसलाई छाड्यो भने हाम्रो पार्टीको भविष्य छैन र देशको पनि कुनै भविष्य छैन।’ 

मुलुकमा यतिवेला राजसंस्था छैन तर उसको अनुपस्थितिमा मुलुकको राष्ट्रियता बलियो बनाउने आन्तरिक सामर्थ्य किन बढ्न सकेको छैन ? यसमा कांग्रेस कहाँ छ ? बिपीका मार्गदर्शनतर्फ कांग्रेस फर्किनुपर्ने हुन्छ। नेपालको हरेक राजनीतिक परिवर्तनको प्रवाहमा सहयोगी भूमिका निर्वाह गरेको छिमेकतिर तीर्थाटन जाने अहिलेको प्रचलन हेर्दा लाग्छ, कांग्रेस बिपीभन्दा धेरै पर पुगेको छ। अहिले पनि राजनीतिको शीर्षासनमा बसेका मानिसहरू  आपसी निन्दा र भर्त्सनामा केन्द्रित छन्। आफ्नो सामर्थ्य विस्तार गर्न नसकेका र अपरिहार्य घरेलु दायित्व निर्वाह गर्न नसकेका कांग्रेसका शीर्ष नेता विदेशतिर फर्कन थालेका छन्। योभन्दा ठूलो बिडम्बना के रहन्छ ? बिपीलाई आदर्श मान्न रुचाउने र उनलाई मार्गदर्शक ठान्ने कांग्रेसका शीर्ष नेता यसमा घोत्लिनु जरुरुी छ। बिपीले भारत–चीनसँगको उच्च प्राथमिकताको कुरा गरिरहँदा घरेलु राजनीतिमा उनीहरूको प्रवेश बर्जित हुनुपर्ने महत्वपूर्ण यथार्थ व्यक्त गरेका थिए।  कांग्रेसका वर्तमान नेताले  यस वास्तविकतालाई आत्मसात गर्न सकेको देखिँदैन।  

राजनीतिक आशिर्वादका लागि यात्रारत रहेका वा नरहेका कांग्रेस नेताले महात्मा गान्धीले बिपीलाई भनेका निम्न कुराहरू ध्यानपूर्वक अध्ययन गर्नु जरुरी छ। गान्धीको निधन हुनुभन्दा दुई दिनअघि २८ जनवरी १९४८ मा दिल्लीको बिरला हाउसमा बिपीले गान्धीसँगै दिन बिताएका थिए। बिपीले गान्धीसँग केही मद्दत मागेका थिएनन् तर मद्दत माग्न बिपी आएको भान भएका गान्धीले भनेछन्, ‘म तिमीलाई मद्दत गर्न सक्दिनँ। जब मेरा आफ्नै मानिसहरू मेरा कुरा सुन्दैनन् भने तिमी कसरी अपेक्षा गर्छौ कि तिम्रा राणा प्रधानमन्त्रीहरू मेरा कुरा सुन्छन्।’ पशुपतिशमशेर राणाका हजुरबुबा मोहनशमशेर नेपालका प्रधानमन्त्री हुँदाको कुरा हो यो। पाकिस्तानलाई ५५ करोड सहायता गर्न गान्धीले जोडबल गर्दा जवाहरलाल नेहरु र बल्लभ भाइ पटेलले नमानेपछि सरकारविरुद्ध अनशनमा बसेकै वेला नाथुराम गोड्सेले गान्धीको हत्या गरेको थियो। 

कांग्रेसको अघिल्लो चुनावी घोषणापत्रमा उसले छिमेकलाई प्राथमिकता दिएर तीन बुँदा स्पष्ट पारेको थियो। पहिलो, छिमेकी मित्रराष्ट्रहरूको सुरक्षा र संवेदनशीलतालाई ध्यानमा राख्दै नेपालको भूमि कुनै पनि राष्ट्रको हितविपरीत प्रयोग गर्न नदिने नीति नेपाली कांग्रेसले अवलम्बन गर्नेछ। दोस्रो, छिमेकी मित्रराष्ट्र भारत र चीनसँगको बहुआयामिक र बहुपक्षीय सम्बन्धलाई उच्च प्राथमिकता दिँदै समानता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको पूर्ण पालना हुने गरी पारस्परिक हित र अन्तर्राष्ट्रिय सम्बन्धका मूल्य र मान्यताअनुरूप व्यावहारिक र वस्तुनिष्ठ आधारमा अरू सुदृढ र सुमधुर बनाइनेछ। दुवै छिमेकी राष्ट्रहरूको आर्थिक प्रगतिबाट लाभ लिने गरी साझेदारीको नीतिलाई प्राथमिकता दिइनेछ। तेस्रो, विपरीत विदेशी भूमिबाट समेत कुनै पनि हिंसात्मक गतिविधि हुन नदिने नीति सुनिश्चित गरिनेछ। तर, कांग्रेसले व्यावहारिक रूपमा यो नीति पछ्याएको देखिँदैन। 

बिपीको निधन भएको करिब चार दशकमा राजसंस्थाको समाप्तिबाहेक नेपालमा आमूल परिवर्तन केही पनि भएको छैन। जनताको आवश्यकता र समस्या बढेको छ, त्यसको समाधान गर्ने मुलुकको सामर्थ्य झन् कमजोर हुँदै छ। कांग्रेसका नेताहरू आपसी निन्दा र भर्त्सनाको जगमा प्रजातन्त्रको वृक्ष पल्लवित गर्न खोजेका छन्। त्यसकारण कांग्रेसजनले एकपटक बिपीतिर फर्कनुपर्ने वेला आएको छ। 

सुझावित समाचार