माओवादी केन्द्रले अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबारदेखि देशका सबै वडामा सुरु भएको सम्मेलनमध्ये करिब ७० प्रतिशतमा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । माओवादी केन्द्रले वडा सम्मेलनमा विभाजित मनोविज्ञान र मानसिकता नराखी एकताबद्ध भएर लाग्न अपिल गरेको थियो ।
पहिलोपटक पार्टीमा आन्तरिक निर्वाचनबाट नेतृत्व चुन्न पाउने, तर त्यसका लागि समूहगत नभई व्यक्तिगत रूपमा चुनावमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था माओवादी केन्द्रले गरेको थियो । तर, वडा सम्मेलनमा अधिकांश स्थानमा शनिबार साँझसम्म कतै पनि निर्वाचन गर्नुपर्ने अवस्था नआएको आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताए ।
‘अहिलेसम्म पूर्ण रिपोर्ट आइपुगिसकेको त छैन । तर, सम्मेलन सकिएका जिल्लाबाट सर्वसम्मत रूपमा वडा तहको नेतृत्व चयन भएको रिपोर्ट पाएका छौ“,’ आयोग अध्यक्ष श्रेष्ठले भने, ‘निर्वाचन गर्नुपर्ने अवस्था भए केहीमा होला, त्यसको रिपोर्ट आइतबारसम्म आइपुग्छ ।’ आगामी ११ देखि १३ पुससम्मका लागि पार्टीको राष्ट्रिय सम्मेलनको मिति तय गरेको माओवादी केन्द्रले कार्यतालिकाअनुसार पहिलो चरणमा शनिबारदेखि वडा तहको सम्मेलन सुरु गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयबाट देशभर सम्मेलनको उद्घाटन गरेका थिए । साथै, अन्य नेताहरूले पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा पर्ने केही वडाहरूको उद्घाटन गरेका थिए ।
माओवादी केन्द्रले महानगरका वडा समिति ४१ सदस्यीय, उपमहानगरका वडा समिति ३१ सदस्यीय र नगर तथा गाउँपालिकाका वडा समिति २१ सदस्यीय बनाउने र टोल समिति १५ सदस्यीय तथा पार्टी सेल ११ सदस्यीय रहने व्यवस्था विधानमा गरेको छ । साथै, सबै समितिमा अधिवेशनबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र बाँकी सबै सदस्य रहने व्यवस्था विधानमा छ ।
माओवादी केन्द्रले पार्टीको सेलदेखि केन्द्रसम्मको सम्मेलनका लागि निर्वाचन नियमावली, २०७८ र निर्वाचन आचारसंहिता, २०७८ पारित गरेको छ । साथै, निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार सात सय ४३ वडा, सात सय ५३ पालिका र सातवटै प्रदेशमा निर्वाचन समितिसमेत गठन गरेको छ ।
पार्टीको निर्वाचन आयोगले प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति बनाएको माओवादी केन्द्रको निर्वाचन आयोगका प्रमुख श्रेष्ठले जानकारी दिए । यस्तै, निर्वाचन अनुगमनका लागि केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूको जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ । वडादेखि केन्द्रसम्मको सम्मेलन सम्पन्न भएपछि करिब तीन लाख कार्यकर्ता विभिन्न तहमा निर्वाचित हुने र आठ हजारभन्दा बढी समिति गठन हुने माओवादी केन्द्रले जनाएको छ ।