तीन महिनामै वाणिज्य बैंकहरूको नाफा १८ अर्ब

गत आर्थिक वर्षको पहिलो तीन महिनामा २७ वाणिज्य बैंकहरूले साढे १४ अर्ब नाफा कमाएकोमा यो वर्ष २४ प्रतिशतले बढेर १८ अर्ब एक करोड पुगेको छ

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफा तीन अर्ब ४९ करोड रुपैयाँले बढेर १८ अर्ब एक करोड रुपैयाँ पुगेको हो ।  बैंकहरूको खुद ब्याज आम्दानी १३ प्रतिशतले मात्रै बढे पनि शुल्कलगायतबाट हुने आम्दानी तथा सेयर र विनिमय कारोबारबाट हुने आम्दानीलगायतमा वृद्धि भएपछि नाफामा सुधार देखिएको हो ।

तीन महिनामा बैंकहरूको खुद ब्याज आम्दानी ३६ अर्ब ३३ करोड भएको छ । त्यस्तै, शुल्कबाट हुने आम्दानी २५ प्रतिशतले बढेर आठ अर्ब पाँच करोड र कारोबारबाट हुने आम्दानी ५ प्रतिशतले बढेर दुई अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । पाँच बैंकले भने यसअघि राखेको प्रावधानबाट राइट ब्याक गरेका छन् । मेगा, एनएमबि, प्रभु, प्राइम र एनसिसी बैंकले राइट ब्याक गरेका छन् । यस्तो राइट ब्याक चार करोडदेखि २९ करोड रुपैयाँसम्म छ । 

पाँच बैंकको नाफा अर्ब रुपैयाँभन्दा बढी छ भने चारवटा बैंकको नाफा २८ प्रतिशतसम्म घटेको छ । बैंकहरूको वितरणयोग्य नाफामा भने उल्लेख्य सुधार देखिएको छ । यसमा ७१ दशमलव ६६ प्रतिशतले वृद्धि भएर ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यद्यपि, १५ वाणिज्य बैंकको यस्तो वितरणयोग्य नाफा घटेको छ । बैंकहरूको कर्जा लगानी तीन महिनामै करिब ३२ प्रतिशतले बढेर ३९ खर्ब ७९ अर्ब रुपैयाँ पुुगेको छ ।

तर, निक्षेपको वृद्धि भने कम छ । निक्षेप १७ प्रतिशतले बढेर ४३ खर्ब चार अर्ब रुपैयाँ पुगेको छ । बैंकहरूको खराब कर्जा औसतमा एक दशमलव १७ प्रतिशत मात्रै छ । नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकको भने खराब कर्जा २ प्रतिशत माथि छ । ६ बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० भन्दा माथि छ । मेगा, एनएमबि, कुमारी, हिमालयन, नेपाल एसबिआई र नेपाल इनभेष्टमेन्टको यो अनुपात तोकिएको भन्दा उच्च छ । यद्यपि, यो सीमा चालू आवभित्र ल्याए हुने व्यवस्था गरिएको छ । 

बैंकहरूको सेयरमा प्रतिफल (आरओई) करिब १ प्रतिशत बिन्दुले सुधार भएर १२ दशमलव ७६ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी पनि औसतमा करिब २० प्रतिशतबाट बढेर २२ दशमलव ५६ प्रतिशत पुगेको छ ।

 एनआइसी एसिया बैंक र कृषि विकास बैंकको खुद स्प्रेड दर (निक्षेप र कर्जाको ब्याजअन्तर) राष्ट्र बैंकले तोकेको ४ प्रतिशतभन्दा बढी छ । औसतमा यो ३ दशमलव २४ छ । बैंकहरूले ग्राहकलाई निक्षेपमा दिएको ब्याजमा अतिरिक्त ३ प्रतिशत थप लिएर कर्जा लगानी गरिरहेका छन् भन्ने यसले देखाउँछ ।   

सुझावित समाचार