व्यवसायको आवरणमा अपराध : दुई चिनियाँविरुद्ध रेड नोटिस जारी हुने

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

होटेल व्यवसायको आवरणमा आपराधिक गतिविधिमा संलग्न रहेका दुई चिनियाँविरुद्ध नेपाल प्रहरीले इन्टरपोलको रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको छ । ठमेलमा होटेल चलाउँदै आएका सी वेनलङ र चेन फेङकाईविरुद्ध रेड नोटिस जारी प्रक्रिया अघि बढाइएको हो ।

उनीहरूको ठमेलस्थित होटेलबाट तीन महिनाअघि प्रहरीले बाघको छाला बरामद गरेको थियो । बाघको छालासहित चार चिनियाँ पक्राउ परेकोमा एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने तीन चिनियाँ भने साधारण तारेखमा छुटेका छन् । होटेलका प्रबन्धक मा जिङगविनलाई काठमाडौं जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि कारागार पठाएको हो । जाओ पेनुचेङ, पेङ हुई र निई युलिङलाई भने साधारण तारेखमा छाडिएको छ । उनीहरू सो होटेलमा जुवा खेल्न जाँदा पक्राउ परेका थिए । 

गत २१ असारमा महानगरीय प्रहरी परिसर काठमाडौं र लैनचौर वृत्तको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा ठमेलको ज्याठा गल्लीमा रहेको झियागुं खाजान होटेलबाट उनीहरूलाई पक्राउ गरेको थियो । होटेलमा खानतलासी गर्ने क्रममा दुई बाघको छालासमेत भेटिएको थियो । परीक्षणका क्रममा बाघको छाला नै प्रमाणित भएको डिभिजन वन कार्यालय काठमाडौंका प्रमुख बद्री कार्कीले बताए । ‘होटेलका सञ्चालक भने चीनमै रहेछन्,’ उनले भने, ‘उनीहरू फरार छन्, उनीहरूविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरी पक्राउ गर्ने प्रक्रिया अघि बढाउन नेपाल प्रहरीलाई लेखेका छौँ ।’ 

होटेल सञ्चालकहरू फरार रहेकाले सो बाघको छालाको स्रोत खुल्न सकेको छैन । करिब ५–६ वर्ष पुरानो छाला भएको र त्यसको स्रोत नखुलेको सो मुद्दाका अनुसन्धान अधिकृत रहेका सन्तकुमार श्रेष्ठले बताए । होटेलको आवरणमा उनीहरूले आपराधिक गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार