‘मैले सोचेकै थिइनँ, स्कुलमा भेन्डिङ मेसिन आउला। स्यानिटरी प्याड झिकौँला, ट्वाइलेट गएर प्रयोग गरौँला र ढुक्कले पढौँला, ’प्रमिला दाहालले उत्साहित हुँदै भनिन् । कलंकीस्थित ज्ञानोदय माध्यमिक विद्यालयले छात्राहरूको लागि भेन्डिङ मेसिन अर्थात् प्याड झर्ने मेसिन राखेपछि यस्तै उत्साहित छन्, यहाँका छात्राहरू।
०७५ सालको सुरुवाततिरैबाट विद्यालयले भेन्डिङ मेसिन अर्थात् एक वा दुई रुपैयाँको सिक्का हालेर प्याड निकाल्न मिल्ने व्यवस्था गरेपछि छात्राहरू खुसी छन् । पहिलोपटक भेन्डिङ मेसिन प्रयोगको अनुभव सुनाउँदै उनले भनिन्, ‘मेसिन भर्खर भर्खर राखिएको थियो। मलाई प्याड चाहिएकाले म्यामलाई भन्न गएँ। तर, म्यामले अब यहाँदेखि प्रयोग गर्ने भनेर नीलो रंगको एउटा भाँडो देखाउनुभयो,’ प्रमिलाले भनिन्, ‘कसरी प्रयोग गर्ने भन्ने भयो। त्यसपछि शारदा म्यामले प्लग अन गरिदिनुभयो। बट्टामा राखिएको सिक्का राख अनि प्याड आउँछ भन्नुभयो। त्यसैगरी निकालेँ। म त अचम्मै परेँ नि। त्यसपछि एकदमै सजिलो भयो । चाहिएको वेला प्याड झिक्यो। प्रयोग गर्यो।’
उनी जस्तै, सन्ध्या अधिकारीलाई पनि भेन्डिङ मेसिनबाट सुटुक्क प्याड निकाल्न पाउँदा आनन्द नै महसुस हुन्छ । ‘सबैको महिनावारी समयमै हुन्छ भन्ने छैन। कहिलेकाहीँ यताउता पनि हुन सक्छ । तर, जहिले भए पनि प्याड निकाल्न पाउँदा सजिलो लाग्छ, ’ सन्ध्याले भनिन् । विद्यालयले भेन्डिङ मेसिन नराख्दा उनीहरूलाई निकै सास्ती हुने गरेको उनको अनुभव छ । ‘भेन्डिङ मेसिन राख्नुभन्दा पहिला मैले घरबाटै प्याड ल्याउँथेँ । कहिलेकाहीँ ब्यागबाटै झरिदिने, कहिले बोटलमा पानी पनि ल्याउँदा पोखिएर प्याड नै काम नलाग्ने हुन्थ्यो,’ सन्ध्याले भनिन्, ‘अहिले त्यस्तो समस्या छैन।
प्याडको काम भनेको महिनावारीको वेलामा नै हो। स्कुलमा प्याडको व्यवस्था नहुँदा महिनावारीको समयमा कहिलेकाहीँ घर फर्किएरै जानुपर्ने, कहिलेकाहीँ ड्रेसमै लागिदिने समस्या हुन्थ्यो । अहिले महिनावारी भएको थाहा पाउनेबित्तिकै प्याड राख्न पाएपछि धेरै सजिलो भएको छ ।’

विद्यालयमा शिक्षिकाहरूलाई समेत महिनावारी भएको वेला भन्न अप्ठ्यारो लाग्ने आयुषा गैरेलाई पनि भेन्डिङ मेसिनबाट प्याड निकालेर प्रयोग गर्न पाउँदा निकै राहत अनुभव भएको छ । ‘स्कुलमा भेन्डिङ मेसिन नहुँदा महिनावारीको समय आउन लागेपछि घरबाटै लिएर आउँथेँ। स्कुलमै म्यामहरूलाई भनेर प्याड लिनका लागि पनि अप्ठ्यारो हुन्थ्यो। डर पनि लाग्थ्यो। अहिले त्यस्तो समस्या छैन,’ आयुसाले भनिन्। एलिजा कँडेल महिनावारी भएको वर्ष नै विद्यालयमा भेन्डिङ मेसिन राखियो । तर, अरू साथीलाई भेन्डिङ मेसिन नहुँदा भएको पीडा उनले महसुस गरेकी छिन् । ‘मैले जसरी भेन्डिङ मेसिनबाट आफूलाई चाहिनेबित्तिकै प्याड निकालेर प्रयोग गर्न पाएको छु । तर, मभन्दा पहिला पहिलाका साथीलाई भने निकै गाह्रो हुन्थ्यो । म्यामहरूसँग गएर १० रुपैयाँ तिरेर प्याड लिनुपर्थ्यो । बेन्चमा कहिलेकाहीँ लाग्थ्यो । भेन्डिङ मेसिन आएपछि गयो । प्याड ल्यायो अनि युज गर्यो। धेरै सजिलो भयो,’ उनले भनिन्।
विद्यालयले महत्वपूर्ण कामअन्तर्गत स्यानिटरी प्याड झर्ने भेन्डिङ मेसिन हुने हो भने महिनावारीको बारेमा खुल्न सजिलो हुने उनीहरूको भनाइ छ। ‘अझै पनि महिनावारी भनेको निकै भयानक विषय हो भन्ने जस्तो छ । सबै विद्यालयले भेन्डिङ मेसिनबाट प्याड निकाल्न पाउने व्यवस्था गर्यो भने महिनावारी सामान्य प्रक्रिया हो। यसलाई लुकाउनुपर्दैन भन्ने हुन्छ। खुलेर कुरा गर्न सक्छौँ भन्ने हुन्छ,’ सन्ध्याले भनिन्। उनीहरूले बाहिर पाउने र विद्यालयमा पाउने स्यानिटरी प्याडको गुणस्तरमा खासै भिन्नता नहुनेसमेत बताए । विद्यालयले सुरुवाती दिनमा दश रुपैयाँमा स्यानिटरी प्याड उपलब्ध गराउँदै आए पनि भेन्डिङ मेसिन राखेपछि पाँच रुपैयाँ भने तिर्नुपर्छ।
ज्ञानोदयमा यसरी भयो भेन्डिङ मेसिन सुरुवात
सामुदायिक विद्यालयमा देशभरबाटै एक नम्बरमा ज्ञानोदय त्यसै परेको छैन। अन्य विद्यालयलाई भेन्डिङ मेसिन र स्यानिटरी प्याडको व्यवस्था गर्न सरकारकै मुख ताक्नुपर्दा ज्ञानोदयले भने त्यसो गरेन। राजधानीकै विद्यालयमा कुनै पनि निजी स्कुलसँग दाँज्दा एसइईमा अब्बल नतिजा ल्याउँदै आएको ज्ञानोदयले प्याड खस्ने भेन्डिङ मेसिन राखेर आफूलाई महिनावारीमैत्री स्कुलको दर्जामा उभ्यायो। ज्ञानोदय प्याड मेसिन जडान गर्ने उपत्यकाकै सम्भवतः पहिलो स्कुल हो। ज्ञानोदयले भेन्डिङ मेसिन राखेपछि बल्ल एक वर्षपछि सरकारले निःशुल्क प्याडको व्यवस्था गरेको थियो ।
आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको थियो । ज्ञानोदयमा कसरी भयो मेसिनको जडान ? ‘म आफैँ साइन्सको विद्यार्थी थिएँ । धेरै वर्ष माध्यमिक तहमा स्वास्थ्य शिक्षा पनि पढाएँ । म पनि एउटी केटी भएको भए महिनावारीको समयमा कसरी बाहिर जान्थेँ ? लुगाबाट चुहियो भने कसरी समाजमा लुकेर हिड्थेँ होला भन्ने कुराको डर लाग्थ्यो। विद्यार्थी महिनावारी भएको वेला धेरै समस्या हुन्छ भन्ने लाग्थ्यो। महिलालाई त गाह्रै हुन्छ । झन् भर्खरका किशोरीलाई तनाव नै हुन्छ,’ प्रधानाध्यापक नातीकाजी महर्जनले भने, ‘त्यही अनुभवका कारण म प्रधानाध्यापक हुनेबित्तिकै स्यानिटरी प्याड किन्नका लागि वार्षिक एक लाख छुट्याउने गरेको थिएँ । त्यसलाई निरन्तरता दिने क्रममा भेन्डिङ मेसिन जडान पनि सुरु भयो ।’ अन्य विद्यालयमा एउटा भेन्डिङ मेसिन पनि राख्न सकेका छैनन् । तर, विद्यालयले दुईवटा मेसिन जडान गरिसकेको छ।
सरकारले १२ देखि १५ वर्ष उमेरका छात्रालाई ध्यानमा राखेर सुरु गरिएको यो सेवाले विद्यालयको समग्र शैक्षिक गुणस्तरमै फाइदा पुगेको प्रधानाध्यापक महर्जन बताउँछन् । उनका अनुसार महिनाका ती चारपाँच दिन छात्राहरू आफ्नो समस्या अरूलाई भन्ने झन्झट वा सरमले विभिन्न बहानामा घरमै बसिदिन्थे । यसले पढाइ त छुट्थ्यो नै, नियमित स्कुल आउने बानी पनि बिग्रन्थ्यो । यसअघि पनि स्कुलले प्याड उपलब्ध गराउँदै आएकोमा भेन्डिङ मेसिन राखेपछि छात्राहरूले झन् धेरै सहज मान्न थालेको उनले बताए । विद्यालयको एउटा कोठामा र अर्को कोठाबाहिर जडान गरिएको भेन्डिङ मेसिनले गोपनियता राख्छ। छात्राहरूले शिक्षिकालाई भेटेर प्याड मागिरहनुपर्दैन। सँगसँगै, शिक्षिका र अन्य महिला कर्मचारी पनि लाभान्वित छन् ।
स्वास्थ्य र विज्ञान विषय पढाएका महर्जन महिनावारी वेला छात्राहरूको शारीरिक र मानसिक परिवर्तनलाई स्कुलहरूले आत्मसात् गर्नुपर्ने बताउँछन् । ‘सरकारले निःशुल्क प्याड उपलब्ध गराउने नीति लिएसँगै विद्यालयहरूले उपलब्ध गराउन त थालेका छन् । तर, धेरै विद्यालयमा अझै पनि मेसिन नै राखिएको छैन,’ उनले भने, ‘यसको निम्ति विभिन्न संघ–संस्थासँग मिलेर काम गर्न सकिन्छ । जसका कारण छात्राहरूले धेरै सहज महसुस गर्न पाउँछन्।’ ८ वर्षदेखि ज्ञानोदयले वार्षिक एक लाख स्यानिटरी प्याडको लागि छुट्याउँदै आएको छ।

यस्तो व्यवस्था छ, नि:शुल्क प्याड उपलब्ध गराउने कार्यविधिमा
सरकारले नीति तथा कार्यक्रममै नि:शुल्क प्याड वितरणको व्यवस्था गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ जारी गर्यो। कार्यविधिको दफा ५ मा विद्यालयलाई स्यानिटरी प्याड वितरणसम्बन्धी व्यवस्था गरिएको छ । दफा ५ को उपदफा १ मा विद्यालयले आफ्ना छात्राहरूको संख्याका आधारमा आवश्यक पर्ने स्यानिटरी प्याड शिक्षा शाखामार्फत स्थानीय तहले माग गरी पठाउनुपर्नेछ। उपदफा २ मा उपदफा १ बमोजिम माग भएको संख्यालाई शिक्षा शाखाले स्थानीय तहमा भएको शैक्षिक व्यवस्थापन सूचना प्रणालीको तथ्यांकसँग भिडाई विद्यालयलाई आवश्यक संख्यामा स्यानिटरी प्याड उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
दफा ६ मा छात्राहरूलाई स्यानिटरी प्याड वितरण गर्ने उल्लेख छ । दफा ६ को उपदफा ३ अनुसार स्यानिटरी प्याड वितरणका लागि विद्यालयमा नर्स उपलब्ध भए नर्सलाई सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। विद्यालयमा नर्स उपलब्ध नभएको अवस्थामा महिला शिक्षक वा प्रारम्भिक बाल विकासका महिला सहजकर्ता वा महिला कार्यालय सहयोगी वा स्वास्थ्य, जनसंख्या र वातावरण विषय अध्यापन गर्ने शिक्षकलाई सम्पर्क व्यक्ति तोकी प्याड भण्डारण र वितरणको जिम्मेवारी दिनुपर्ने उल्लेख गरिएको छ । उपदफा ४ बमोजिम विद्यालयको सम्पर्क व्यक्तिले छात्राहरूलाई एउटा महिनावारी चक्रका लागि बढीमा १६ वटासम्म प्याड उपलब्ध गराउनुपर्नेछ । उपदफा ७ बमोजिम छात्राहरूलाई वितरण गरिने प्याडको दुरुपयोग हुन नदिने दायित्व विद्यालयका प्रधानाध्यापकको हुनेछ ।
विद्यालय नै महिनावारीमैत्री हुनुपर्ने
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार आर्थिक वर्ष ०७६/७७ मा १ अर्ब ४२ करोड बजेट हस्तान्तरण भएको थियो भने आर्थिक वर्ष ०७७/७८ मा पनि १ अर्ब भन्दामाथि नै विनियोजन भएको छ । ‘हामीले स्यानिटरी प्याड प्रतिविद्यार्थी लागत मापदण्ड बनाएर स्थानीय तहमा बजेट पठाउने गरेका छौँ,’ शर्माले भने, ‘कुनै विद्यालयका विद्यार्थीले स्यानिटरी प्याड पाएनन् भने स्थानीय तहका प्रमुखलाई गएर ठाडो प्रश्न गर्न सक्छन् ।’
लेखक तथा स्वास्थ्यकर्मी राधा पौडेल भने भेन्डिङ मेसिन राख्ने मुख्य कुरा नभई विद्यालय महिनवारीमैत्री छ कि छैन भन्ने कुरा मुख्य हुने बताउँछिन् । ‘सरकारले प्याड नि:शुल्क वितरणकाे घोषणा गर्यो । विद्यालयहरूले पनि भेन्डिङ मेसिन राख्न थाले । तर, यसले दीर्घकालीन प्रभाव पार्न सक्दैन,’ पौडेलले भनिन्, ‘महिनावारी हुँदा ती विद्यार्थी छुट्टै कोठामा बस्नुपर्छ । होमवर्क गर्ने ठाउँ छुट्टै हुन्छ । अरूले नै दिएको खानुपर्छ । विद्यालयमा पनि उसले सहज रूपमा कसैलाई म महिनावारी भएँ भनेर भन्न सक्दिनन् । त्यसैले प्याड बाँड्ने भेन्डिङ मेसिन राख्नेभन्दा पनि लाज हटाउने काम गर्न पर्यो ।’ उनले महिनावारीलाई मर्यादित चस्माबाट हेर्नुपर्नेमा जोड दिइन्। महिनावारीसँग जोडेर गरिने छुवाछुत, विभेद, दुर्व्यवहार वा हिंसामुक्त अवस्था नै मर्यादित महिनावारी हो ।
कोरोना महामारी नहुँदो हाे त अहिले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूले भेन्डिङ मेसिनबाट स्यानिटरी प्याड झिकेर प्रयोग गर्ने थिए । महिनावारीलाई सामान्य विषयक रूपमा लिन सक्थे । तर, राजधानीकै धेरै विद्यालयले भेन्डिङ मेसिन राखे पनि प्रयोगमा भने ल्याउन पाएका छैनन् । कोरोनापछि विद्यालयहरूमा भौतिक रूपमै पठनपाठन हुन थालेकाे छ । त्यसैले अबका दिनमा विद्यालयमा छात्राहरू ढुक्कले बस्न सक्नेछन् कि !