नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले जस्तोसुकै कठिनाइमा पनि महाधिवेशन समयमै सम्पन्न हुने बताएका छन्। शुक्रबार बिहान नेता प्रकाशमान सिंहको निवासमा बसेको देउवानिकट नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता रिजालले जस्तोसुकै कठिनाइका बाबजुद महाधिवेशन समयमै सम्पन्न हुने बताएका हुन्।
बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवादलगायत विविध व्यावहारिक कठिनाइहरूलाई समाधान गरेर महाविधेशन सम्पन्न गर्ने बाटोको खोजी गरिनुपर्ने निष्कर्ष निकालेको उनले जानकारी दिए। ‘एकातिर क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्छ भन्ने विषय छ भने अर्कोतिर समयमै अधिवेशन प्रक्रिया सुरु गरेर जानुपर्नेछ। त्यसैले यी व्यावहारिक कठिनाइहरूलाई समाधान गरेर महाविधेशन सम्पन्न गर्ने बाटोको खोजी गर्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ। त्यही निष्कर्षको आधारमा सभापतिजीसँग वरिष्ठ नेताले भेटेर कुराकानी गर्ने समय लिनुभएको छ। भरे भेटेर कुरा गर्नुहुन्छ। मलाई विश्वास छ, जस्तोसुकै कठिनाइका बाबजुद पनि ती समस्याहरू समाधान गरेर पार्टीको महाधिवेशन समयमै सम्पन्न हुनेछ,’ उनले भने।
नेपाली कांग्रेसको महाधिवेशन वैधानिक ढंगले आगामी मंसिर ९ देखि १३ गते सम्पन्न गर्न यही भदौ १८ गते देशभरको वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ। तर, क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद अझै समाधान नहुँदा यसको वैधानिकतामाथि नै प्रश्न उठ्न सक्ने भन्दै पौडेल पक्षले क्रियाशील सदस्यताको बाँकी विवाद छिटो टुंगो लगाएर पार्टी महाधिवेशनको प्रक्रिया छिटो टुंगो लगाउन सभापति देउवालाई दबाब दिँदै आएको छ।