टिपरको ठक्करबाट साइकलयात्रीको ज्यान गयाे, प्रहरीद्वारा अश्रुग्यास प्रहार

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको नवलपुरमा टिपरको ठक्करबाट एकजना साइकलयात्रीको ज्यान गएको छ । शुक्रबार दिउँसो पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.७ख ८२९३ नम्बरको टिपरले साइकलमा घाँस बोकेर जाँदै गरेका स्थानीय रामनरेश महतोलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट लालबन्दी नगरपालिका– २ निवासी ४० वर्षीय महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । 

लगत्तै आक्रोशित स्थानीयले नवलपुर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा अवरोध गर्नुका साथै तोडफोडको प्रयास गरेका थिए ।

आक्रोशित स्थानीयले टिपर नियन्त्रणमा लिएर तोडफोड एवं आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्याससमेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । 

टिपरचालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

See More On

सुझावित समाचार