१२ अंकले बढेको नेप्सेमा हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण उच्च

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो समय लगानीकर्ताहरूले कम्पनीअनुसार फेरी–फेरी लगानी बढाइरहेको देखिएको छ। मंगलबार लघुवित्त वित्तीय संस्थाप्रति आकर्षण भएका लगानीकर्ता बुधबार हाइड्रो समूहमा खनिएका छन्। 

सो दिन हाइड्रोपावर समूहको सेयर पाँच दशमलव ५८ प्रतिशतले बढेको छ। विकास बैंक र फाइनान्समा पनि लगानीकर्ताको आकर्षण कायमै रहेको छ। पछिल्लो तीन कारोबारमा सुस्त भइरहेको वाणिज्य बैंक समूहमा सामान्य हरियाली बन्न पुगेको छ। नेप्से परिसूचक १२ दशमलव १५ अंकले बढेर तीन हजार एक सय २३ बिन्दुमा पुगेर बन्द भएको छ। त्यस्तै ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्समा झिनो अंकले वृद्धि भएको छ।
 

आठ कम्पनीको सर्किट मूल्यमा कारोबार
बुधबार आठ कम्पनीको सेयर मूल्य सर्किट मूल्यमा कारोबार भएको छ। अपि पावर कम्पनी, खानीखोला हाइड्रोपावर, युनियन लाइफ इस्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर, कालिका पावर कम्पनी, अपर तामाकोसी हाइड्रोपावर कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्तको सेयरमा १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार हुन  पुगेको हो। 

नारायणी डेभलपमेन्ट विकास बैंक, सन्जेन जलविद्युत् कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी सेयरमा लगानीकर्ताको आकर्षण उच्च रहेको हो। सो दिन सबैभन्दा धेरै घट्ने कम्पनीमा न्याग्डी ग्रुप पावरको पाँच प्रतिशतले घटेको भने  पोखरा फाइनान्स, विजय लघुवित्त, नेरुद्धे लघुवित्त वित्तीय संस्थाको सेयर चार प्रतिशतले घट्दा  यी कम्पनीका लगानीकर्ताहरू निराश बनेका छन्।

कारोबार रकम वृद्धि
पछिल्लो हप्ता घटेको सेयर कारोबारमा आइतबार   सुधार आएको छ। मौद्रिक नीति आउन अझै केही समय लाग्ने संकेत सरकारले दिएपछि ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता सक्रिय हुन थालेका छन्। पछिल्लो हप्ता १२ र १३ अर्बमा सीमित हुँदै आएको सेयर कारोबार बुधबार भने आकर्षण हिसाबले बढेको छ। धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका दुई सय २५ कम्पनीको दुई करोड ८८ लाख कित्ता सेयर किनेबेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। 

पहिलो सेयर खरिद–बिक्री हुने कम्पनीमा अपि पावर कम्पनी  रहेको छ। कम्पनीको ७९ करोड ५० लाख रुपैयाँको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी कारोबार हुने कम्पनीमा सानिमा माई हाइड्रोपावर कम्पनीको ५० करोड ३४  लाख रुपैयाँको कारोबार भएको छ। छिमेकी लघुवित्त वित्तीय संस्थाको ४१ करोड रुपैयाँको कारोबार भएको छ।

See More On

सुझावित समाचार