के साँच्चै ठगिन्छन् उपभोक्ता विद्युत् प्राधिकरणबाट ?

नेपाली नागरिकलाई ग्राहक भनेर सम्बोधन गरी दोब्बर कर उठाउन पछि नपर्ने यस्ता राज्यसंयन्त्रहरू अधिकांश भ्रष्टाचारमा डुबेका छन्

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

असारको १९ गते बिहान सबेरै सायद ६ः३० बजेको हुँदो हो, गेटमा घन्टी बज्यो, निस्केर हेरेको नेपाल विद्युत् प्राधिकरणबाट मिटर रिडिङका लागि कर्मचारी आएका रहेछन् । उनले बिजुलीको बिल थमाउन नपाउँदै मेरा आँखा बिलको युनिटमा पुगिहाले । यति हुनु स्वाभाविक पनि थियो किनकि यो महिना प्राधिकरणले ग्राहकलाई ठगेका समाचारहरू यत्रतत्र मिडियामा छाइरहेका थिए । मैले त्यसको अघिल्लो दिन मात्र रातोपाटीमा यस्तै एउटा लेख पढेको थिएँ, जहाँ मजस्तै ठगिएका प्रसस्त ग्राहकबारे बेली–विस्तार लेखिएको थियो । यस्ता अरू थुप्रै लेख अनलाइन खबरसहित अरू सञ्चारमाध्यममा समेत आइरहेकै छन् । 

अझ रमाइलो त के भने, म बेलुका इभिनिङ वाकमा निस्किँदा मैले मेरो छिमेकी तथा सँगै पढेको साथी विकास कोइरालालाई प्राधिकरणको लुटपाटबारे बताएँ । उसले उसकोमा घटेको दुरुस्त कहानी मलाई बतायो । उसको घरमा पनि प्रत्येक महिना रु. १,२०० देखि १,५०० सम्मको बिल आउने गरेकोमा यसपटक भने २,४०० रुपैयाँ आएछ । यो अस्वाभाविक लुटपाटबारे हामीहरू बहस गरिरहेकै वेला हाम्रो अर्को छिमेकीको घरमा त्यस्तै ठगी प्रकरण चलेछ । छिमेकी बिनु निरौलाका अनुसार अरू महिना करिब चार सयदेखि पाँच सयसम्म उठ्ने महसुल यसपटक भने रु. १,६८० उठेछ । प्राधिकरण अफिसमा गएर महसुलबारे थप जिज्ञासा राख्दा कर्मचारीले उल्टै रु. ४२० जरिवानासमेत भनेर जम्मा २,१०० तिर्न लगाएछन् । बिनुको भनाइअनुसार प्राधिकरण कार्यालयमा अरू पनि धेरै ग्राहक ठगीबारे बहस गरिरहेका थिए, तर कर्मचारीहरू भने मनपरी पैसा असुलिरहेकै थिए । 

त्यो बिहान पनि मैले बिल लिएर ती कर्मचारीलाई रोकेर असार महिनाको बिलमा मात्र ३०१ युनिटबराबरको २,९९० रुपैयाँको दस्तुर कसरी आयो भनेर सोधेँ । उनी प्रत्येक महिनाको १९ गते मिटर रिडङ गर्न आउने गर्छन्, तर जेठमा चाहिँ आएनन् । त्यही भएर मैले जेठ महिनाको महसुलचाहिँ ई–सेवाबाट नै तिरेको थिएँ । असारमा सधैँभन्दा बिजुली पनि नचलाएको र उल्टै कोरोनाको महामारीमा सरकारले बजेट भाषणमै बिजुलीमा ३० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने भनेकोमा अचानक यस्तो बिल देखेर म छक्क परेँ । ती कर्मचारीले मेरो जिज्ञासा सुनेर सहज उत्तर दिँदै भने– तपाईंको मिटरमा जति छ उति बिलमा रिड भएको हो र त्यो तपाईंले तिर्नैपर्छ । सोही दिन दिउँसो मैले भक्तपुर ठिमी प्राधिकरणमा फोन गरेर घटना सुनाएँ । तर, अत्यन्तै खस्रो स्वरमा एकजना पुरुष कर्मचारीले मलाई बिलमा उठेको पैसा खुरुक्क तिर्न भने । बहसकै क्रममा मैले उनलाई कर्मचारीले जनताको सुविधालाई हेर्नुपर्ने बताउँदा उनले सबैको ठेक्का आफूले लिन नसक्ने बताए । मैले त्यो पैसा पनि ई–सेवाबाट नै तिरिदिएँ । 

नेपाली नागरिकलाई ग्राहक भनेर सम्बोधन गरी दोब्बर कर उठाउन पछि नपर्ने यस्ता राज्यसंयन्त्रहरू अधिकांश भ्रष्टाचारमा डुबेका छन् । हाकिमदेखि पियनसम्म राजनीतिक दलको खेताला बनेर मोटो रकम बुझाई संस्थामा घुसेर नागरिकको बिचल्ली बनाएका छन् । यहाँ प्रस्तुत गरिएका उदाहरण थोरै भए पनि यिनीहरूले धेरै राज्य अंगका गतिविधिहरू समेटेको छ । हुन त हामीले राज्यबाट सुविधा लिनुअघि हामी राज्यको नागरिक हो या ग्राहक हो भन्ने कुरामा नै विमति छ । अझ पनि यिनीहरूलाई तिरेको महसुल रसिद या पासबुकमा हामीलाई ग्राहक भनेर लेखिएको हुन्छ । नेपालको संविधानले सबै नेपालीलाई समान हैसियतको नागरिकको दर्जा दिए पनि यस्ता पुराना राज्य अंगबाट ग्राहकको हैसियतमा बस्नु नै पूर्णतः सामाजिक विभेद पनि हो । यो अर्थमा हामीले यो देशको संविधान मानिरहनु जरुरी पनि छैन किनकि कुनै देशको संविधान त्यो देशको नागरिकले मात्र पालना गर्छ भने कुनै ग्राहकलाई बाध्यकारी भने हुन्न । 

कुनै पनि देशको नागरिक बन्नलाई त्यो देशको नागरिकता अनिवार्य हुन्छ, तर त्यो देशको सुविधा लिने ग्राहक त्यसै देशको नागरिक हुनु जरुरी छैन । हाम्रो देशको नयाँ संविधानले नागरिकको मौलिक हकको ग्यारेन्टी गरे पनि राज्यबाट भने नागरिक ठगिने क्रम घटेको छैन । तर, हालसालैका वर्षहरूमा विश्वभरिका धेरै अल्पविकसित सरकारहरूले ती देशका नागरिक या ग्राहकहरूका लागि केही नयाँ प्रयोग गर्ने प्रयास गरेका छन् र तिनीहरूको गुनासोसम्बन्धी अप्रत्यक्ष सुधार र नयाँ रणनीतिहरूको विकास गरेका छन् जसले गर्दा जनतामाझ उनीहरूले अरू बढी जवाफदेहिता बढाउन सकुन् । सार्वजनिक सेवामा प्रभावकारी ढंगको क्षमताका लागि मौलिक नागरिककेन्द्रित मूल्यहरूको प्रतिबद्धतालाई प्रोत्साहित गरिरहेका छन् । उदाहरणको रूपमा भुटान, किरिबाटी, कंगो, बंगलादेश इथियोपिया, कोस्टारिका, अजरबैजानजस्ता देशहरूमा इमिडिएट हेन्सिभु अर्थात् जनताले तत्काल सरकार (जो उनीहरूको अभिभावक पनि हो) बाट सेवा पाउनेजस्ता सेवाहरू उपलब्ध गराइन्छ । 

ती राज्यहरूले नीति र प्रक्रियाहरूमा छोटो अवधिका प्रणालीगत सुधारहरू गरी व्यक्ति र राज्यसंयन्त्रबीच उत्पन्न हुने सेवासम्बन्धी समस्याहरूको समाधान गरिरहेका छन् । यसले गर्दा जनतामाझ सरकारको लोकप्रियता बढेर गएको छ । नेपालमा सरकारी अंगहरूबाट हुने यस्ता नालायकीपना तथा लुटहरूको अनुगमन न त सरकारले नै गर्छन् न त सामाजिक संस्थाहरूले नै गर्छन् । गरे पनि तिनीहरू प्रभावकारी छैनन् । यस्ता अनुगमनहरू उपभोक्तावादी मोडेलजस्ता देखिने भए पनि यसले सार्वजनिक उत्तरदायित्वलाई संकुचन परिप्रेक्षमा हेर्ने गरेका छन् । यस्ता सेवाहरूप्रति विश्वास जगाएर राज्य संयन्त्रले सार्वजनिक क्षेत्रको धारणालाई आकार दिनुपर्नेमा उल्टै जनतालाई ठगिरहेका हुन्छन् । नागरिकहरूले आज सार्वजनिक क्षेत्रबाट बढी पारदर्शी, पहुँचयोग्य र प्रतिक्रियाशील सेवाहरूको अपेक्षा गरेका छन् । तर, समस्याको अंश यो हो कि उनीहरूको उत्तम अभिप्रायको बाबजुद धेरै सरकारका अंगहरूले नागरिकहरूको सेवा आवश्यकताको आधारमा नभई तिनीहरूको आफ्नै आवश्यकताहरू र प्रक्रियाहरूको आधारमा सेवाहरू डिजाइन र डेलिभर गर्न जारी राख्छन् । 

अझ स्थानीय, राज्य र संघीय तहलगायतका केही सरकारी एजेन्सीहरूले सेवा डिजाइन र वितरणका लागि ग्राहककेन्द्रित दृष्टिकोण सफलतापूर्वक कार्यान्वयन गरेका छैनन् । राज्यका हरेक अंगहरूले रूपान्तरण या सेवा दिने कुराहरू नागरिकको आवश्यकता र प्राथमिकता बुझेर सुरु गर्नुपर्ने हुन्छ । कुन सेवाहरूलाई नागरिकहरूले सबैभन्दा समस्याग्रस्त पाउँछन् र त्यो असन्तुष्टिको हदलाई मापन गर्दा सरकारहरूले सुधारका लागि छुट्याइएका क्षेत्रहरू प्राथमिकताका आधारमा कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । नागरिक सन्तुष्टि मापन प्रयासहरूले सही, कार्ययोग्य अन्तर्दृष्टि उत्पन्न गर्दछ भन्ने कुरा सुनिश्चित गर्नका लागि राज्य अंगहरू जहिले पनि कुनै अर्को अनुगमन गर्ने अंगको मुनि रहेर काम गर्नुपर्दछ । जस्तै नागरिकहरूले ती अंगहरूलाई कुन कुरालाई महत्वपूर्ण ठान्छन् भन्ने कुरामा केन्द्रित हुनुपर्दछ । 

ट्रान्सपरेन्सी इन्टरनेसनलले जारी गरेको एक प्रतिवेदनअनुसार गत एक वर्षमा मुलुकमा राज्य संयन्त्रबाट भएको भ्रष्टाचार ५८ प्रतिशतले बढेको छ । अझ मालपोत, राजस्व कार्यालय, यातायात विभाग, श्रम कार्यालय, आयाल निगमजस्ता संस्थानहरूमा त भ्रष्टाचार ९३ प्रतिशतभन्दा माथि हुने गरेको पाइएको छ । ग्लोबल करप्सन ब्यारोमिटर एसिया २०२० ले सार्वजनिक गरेको सर्वेक्षणअनुसार स्थानीय निकायहरू सबैभन्दा बढी भ्रष्टाचारप्रति जोडिएका छन् । सरकारी कार्यालयबाट सेवा लिनका लागि सार्वजनिक सेवा अधिकारीहरूलाई घुस दियो भने २१ प्रतिशतले सेवा प्राप्त गर्न व्यक्तिगत सम्पर्क प्रयोग गर्ने गरेका छन् । स्थिर वा भ्रष्टाचारको बढ्दो स्तरहरू, सार्वजनिक सेवाहरूका लागि समान पहुँचलाई कम महत्व दिने काममा मुछिएका सरकारी कर्मचारीहरूलाई राजनीतिक पार्टी र स्वयं राज्यले नै हेर्ने गरिराखेको छ । असफल राज्यका अंगहरू तिनीहरू हुन्छन् जसले आधुनिक विश्व प्रणालीमा सार्वभौम राष्ट्र–राज्यको मौलिक कार्यहरू गर्न असमर्थ हुन्छन्, यिनीहरूले न त आफ्नो क्षेत्र र जनतामा अधिकार दिन सक्छन् न त जनताका न्यूनतम आवश्यकताहरूको रक्षा गर्न सक्छन् । 

एक असफल राज्यको सञ्चालन क्षमता यति छ कि यो मानिस र स्रोतहरूलाई नियन्त्रण गर्न आवश्यक प्रशासनिक र संगठनात्मक कार्यहरू पूरा गर्न असमर्थ हुन्छ र केवल कम सार्वजनिक सेवाहरू प्रदान गर्न सक्छ । एक असफल राज्य कमजोर र त्रुटिपूर्ण संस्थानहरूले मिलेर बनेको हुन्छ । क्षमता निर्माण कुनै पनि रूपान्तरण कार्यक्रमको महत्वपूर्ण हिस्सा हो । नागरिक–सन्तुष्टि रूपान्तरणको मामलामा, सरकारी कर्मचारीहरूले व्यावसायिकता व्यवस्थापन र शासन प्रणालीहरूको डिजाइन गर्न नागरिककेन्द्रित दृष्टिकोण प्रयोग अनिवार्य रूपले गर्नुपर्ने हुन्छ । अझ उनीहरूले दिगो तथा छिटो सुविधा गर्न र निरन्तरता दिन नयाँ–नयाँ सुधारका कार्यक्रमहरू नयाँ प्रविधिसँगै ल्याउनुपर्ने हुन्छ । यद्यपि नागरिक रूपान्तरण कार्यक्रमहरूका लागि शासन मोडेलहरू तिनीहरूले सञ्चालन गरेका प्रयोगहरूमा निर्भर गर्दछन् । 

परिवर्तन रातारात हुँदैन । कुनै पनि रूपान्तरण प्रयासको साथ, कर्मचारी रोलमोडलको रूपमा उभिनुपर्ने हुन्छ । एकातिर सरकारी कर्मचारीहरू पुरानु प्रणालीबाट चलिरहेका छन् भने अर्कोतिर एउटै व्यक्तिले ३०–४० वर्षसम्म एउटै पद ओगटिराखेको हुनाले नयाँ आधुनिक ज्ञानसहित आएका युवाले ठाउँ पाएका छैनन् । त्यस्ता युवा आइहाले पनि राजनीतिक दलको आडमा पुराना कर्मचारीले त्यस्ता युवालाई प्रोत्साहित गर्न चाहँदैनन् र परिवर्तन प्रदान गर्न र दिगो बनाउन आवश्यक सीप र क्षमताहरू निर्माण गर्न समय र वित्तीय स्रोतहरू लगानी गर्न पनि जालझेल गर्दछन् । रूपान्तरण सेवा या छिटो सुविधा हाम्रोजस्तो देशमा सजिलो छैन, तर सफलताका लागि स्पष्ट खाकाको आवश्यकता छ । एक नागरिककेन्द्रित दृष्टिकोण लिएर कर्मचारी र नेताहरूले आफ्ना नागरिकहरूको आवश्यकतालाई राम्रोसँग बुझ्न सक्नुपर्दछ र ती आवश्यकताहरूलाई लक्षित, प्रभावकारी सेवा–वितरण सुधारहरूमा लागू गर्नुपर्दछ । त्यसो गर्दा, तिनीहरूले नागरिकको सन्तुष्टि बढाउन र लागत कम गर्न सक्छन् ।

सुझावित समाचार