नकआउट चरणदेखिका खेलहरू छुटाउँदिनँ

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण
नकआउट चरणदेखिका खेलहरू छुटाउँदिनँ

संगीना वैद्य, ओलम्पियन

समय नमिलेका कारण जारी युरोकपको सबै खेल हेर्न पाएको छैन । समूहगत चरणमा जर्मनी र पोर्चुगलको खेल हेरेको थिएँ । त्यो खेल एकदमै रोमाञ्चक लाग्यो । बाँकी खेल भने प्रत्यक्ष हेर्न सकेको छैन । बिहान चाँडै उठेर व्यायाम गर्नुपर्ने भएका कारण पनि राति अबेरसम्म बसेर युरोकपका खेलहरू हेर्न सकिनँ । तर, हाइलाइट्स हेर्ने गरेकी छु ।

तेक्वान्दो खेलसँग जोडिए पनि म सुरुवातमा फुटबल खेलाडी थिएँ । फुटबलबाट राष्ट्रिय प्रतियोगिता खेलेकी छु । ती खेलहरूमा धेरैपटक म्यान अफ दी म्याचको अवार्ड पाएकी छु । तेक्वान्दोतर्फ लागेपछि मात्रै फुटबल खेल्न छाडेकी हुँ । तर, अहिले पनि अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको महिला फुटबल समितिमा छु ।

फुटबलसँग सम्बन्धित भएकाले मात्रै होइन, फुटबल मलाई मन पर्ने खेल भएकाले पनि युरोकपका प्रतिस्पर्धा छुटाउन मुस्किल छ । समय नमिल्दा रातिका खेलहरू हेर्न सकेको छैन । तर, नकआउट चरणका खेलहरू भने जसरी भए पनि हेर्ने योजनामा छु । 

युरोपमा मैले मन पराएको टोली त छैन । मलाई लियोनल मेसी मन पर्छ । उनको टोली अर्जेन्टिना मन पर्छ । डिएगो म्याराडोनादेखि नै अर्जेन्टिना मन परेको हो । अहिले कोपा अमेरिका पनि चलिरहेको छ । मेसी र उनको टोली अर्जेन्टिनाले कोपा अमेरिका खेल्दै छ । यद्यपि, त्यसमा पनि समय नमिल्दा हेर्न पाएको छैन । 

मेसी र अर्जेन्टिनाको खेल त हेर्छु नै । मन पर्ने टोली नभए पनि युरोकप हेर्न मन पर्छ । युरोकप यस्तो प्रतियोगिता हो, जसको प्रायः खेल प्रतिस्पर्धात्मक हुने गर्छ । फुटबलको खास प्रतिस्पर्धा हेर्न र फुटबल खेलकै खास मज्जा लिनका लागि युरोकप राम्रो प्रतियोगिता हो ।

यसले खेलाडीहरूलाई हेरेरै सिक्ने अवसर पनि दिएको छ । मैले देखेको छु कि अहिलेका धेरै खेलाडीहरूले यस्ता प्रतियोगिता हेरेरै धेरै कुरा सिकिरहेका छन् । हामीले पनि यो अवसर खेर फाल्नुहुन्न ।
(वैद्य एन्फाअन्तर्गतको महिला फुटबल समितिको सदस्यसमेत हुन् ।)

सुझावित समाचार