काठमाडाैं- स्टार खेलाडीले भरिएको विराटनगर किंग्सले पहिलो खेलमा धैर्य गुमाउँदा चितवन राइनोससँग हारको सामना गर्यो । लक्ष्य पछ्याएको इनिङ्सको १६औँ ओभरसम्म पनि विराटनगर बलियो स्थितिमा थियो । तर, अन्तिम चार ओभरमा ब्याट्सम्यानहरूले अनावश्यक सट प्रहार गर्दा खेल हातबाट फुत्कायो । दोस्रो खेलमा भने विराटनगर यस्तो गल्ती गर्न चाहँदैन । उसले बिहीबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दै छ ।
कर्णालीले जितका साथ तेस्रो सिजन सुरु गर्यो । पहिलो खेलमा बलरहरूको साथमा उसले जनकपुर बोल्ट्सलाई हरायो । कर्णालीलाई पहिलो खेलमै जित दिलाउँदा फास्ट र स्पिन बलरले गतिलो साथ दिएका थिए । कर्णाली यसपटक राम्रो सेपमा देखिन्छ । गत वर्ष केवल दुई जित मात्र निकालेको टोलीले विराटनगरसँगको खेलमा ब्याटिङ पक्षमा सुधार गर्नुपर्ने देखिन्छ ।
अर्कोतिर विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिलो खेलमा गरेको गल्ती दोस्रोमा नहुने बताइसकेका छन् । ‘प्रत्येक खेल फरक हुन्छ । पहिलो खेलमा ब्याट्सम्यानहरूले अन्तिम चार ओभरमा जुन गल्ती गरेका थिए । अब आगामी खेलमा हुनेछैन,’ चितवनसँगको हारपछि उनले भनेका थिए । कर्णालीका कप्तान सोमपाल कामीले टिम भावनाका साथ सबै खेलाडी प्रतिस्पर्धा गरिरहेका कारण सहज भएको बताएका छन् । ‘टिम भावनाअनुसार खेलिरहेका छौँ । यो क्रम आगामी खेलमा पनि जारी रहनेछ,’ उनले भनेका छन् ।
पहिलो तथा दोस्रो संस्करणको नतिजाअनुसार दुवै टोलीले मिश्रित नतिजा निकालेका छन् । पहिलो संस्करणमा कर्णालीले विराटनगरलाई ७ रनले हराएको थियो । दोस्रोमा विराटनगरले तीन विकेटको जित निकाल्यो ।
काठमाडौंको बलियो ब्याटिङविरुद्ध जनकपुर
पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरी उपाधि जितेको जनकपुर दोस्रोमा पुछारमा रह्यो । यसपटक तेस्रो संस्करणमा जनकपुरले सोचेजस्तो सुरुवात गर्न सकेन । कर्णालीसँगको पहिलो खेलमै जनकपुर १८ रनले पराजित भयो । अब आफ्नो दोस्रो खेलमा जनकपुरले ब्याटिङ लाइनअप बलियो भएको काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्दै छ । काठमाडौंले विश्वचर्चित अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नर भित्र्याउँदै ब्याटिङमा दमदार प्रदर्शन हुने सन्देश दिएको छ ।
यद्यपि, जनकपुर पनि कम छैन । जनकपुरले पनि त्यसको उत्तर दिन इंग्ल्यान्डका पूर्व अलराउन्डर मोइन अलीलाई अनुबन्ध गरी अलराउन्ड पक्ष बलियो बनाएको छ । मोइनले पहिलो खेलमा औसत प्रदर्शन गरेका थिए । अब काठमाडौंसँगको खेलमा उनको वास्तविक परीक्षा हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेटमा मोइन र वार्नरबिच धेरैपटक प्रतिस्पर्धा भइसकेको छ ।
दुवै खेलाडीलाई एक–अर्काको बलियो र कमजोर पक्ष थाहा छ । सम्भवतः वार्नर र मोइनले आ–आफ्नो खुबीअनुसारै प्रदर्शन गर्नेछन् । पहिलो संस्करणमा उत्कृष्ट लयमा रहेको जनकपुरले काठमाडौंलाई पाँच विकेटले हराएको थियो । दोस्रोमा भने जनकपुर कमजोर देखियो । काठमाडौंले जनकपुरमाथि पाँच विकेटको जित निकाल्यो । काठमाडौं यसै प्रदर्शनलाई निरन्तरता दिने प्रयासमा हुनेछ ।
जनकपुरका कप्तान हर्मित सिंहले पहिलो खेलमा अनुभवी खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा हार भएको बताएका थिए । उनले काठमाडौंसँग गल्तीरहित प्रदर्शन हुने जनाएका छन् ।
प्लेयर्स टु वाच
मोइन अली (जनकपुर)
इंग्ल्यान्डका अलराउन्डर अली अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो छाप बनाएका क्रिकेटर हुन् । जनकपुरले स्टार खेलाडी भित्र्याउने क्रममा उनलाई अनुबन्ध गरेको हो । उनले एनपिएलमा कर्णाली याक्सविरुद्ध डेब्युको अवसर पाएका थिए । उनले एनपिएल डेब्यु सुखद बनाएका छन् । कर्णालीसँग पराजित प्रतिस्पर्धामा अलीले ब्याटिङमा १९ रन जोडेका थिए । बलिङमा उनले आफ्नो क्लास देखाए । उनले आफ्नो निर्धारित कोटामा १९ रन खर्चेर दुई विकेट हात पारेका थिए । बिहीबार काठमाडौं गोर्खाजसँगको महत्वपूर्ण खेल हुँदै छ । जनकपुरले इंग्ल्यान्डका अनुभवी खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । फिल्डिङमा समेत उनले योगदान दिन सक्ने भएकाले जनकपुरलाई यस क्षेत्रमा थप बोनस हुनेछ ।
डेभिड वार्नर (काठमाडौं)
काठमाडौं गोर्खाजले तेस्रो सिजनमा स्टार खेलाडीका रूपमा अस्ट्रेलियन वार्नरलाई भित्र्याएको हो । विश्व क्रिकेटमा उनले फरक किसिमको छाप राखेका छन् । उनले क्रिकेटका तीनै फर्म्याटमा आक्रामक रूपमा ब्याटिङ गर्दै चर्चा बटुलेका छन् । ओपनिङ ब्याटिङ अर्डर पाएका वार्नरले पावर प्लेमै विपक्षीविरुद्ध चौका र छक्का प्रहार गर्छन् । वार्नरले जनकपुरविरुद्ध स्वाभाविक ब्याटिङ गर्दा काठमाडौं बलियो देखिनेछ । विश्वचर्चित इन्डियन प्रिमियर लिगमा समेत विदेशी खेलाडीमध्ये अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा उनी पर्छन् । अस्ट्रेलियाबाट उनले टी–२० र एकदिवसीय विश्वकप क्रिकेट जितेका छन् ।
एन्ड्रे रसेल (विराटनगर)
वेस्ट इन्डिजका चर्चित अलराउन्डरमध्ये रसेल पर्छन् । उनले आफ्नो समयमा प्रसिद्ध फास्ट तथा स्पिनर बलरलाई समेत निराश बनाएका थिए । इन्डियन प्रिमियर लिग ट्रफीसमेत उचालिसकेका रसेलले पनि एनपिएलमा डेब्यु गरिसकेका छन् । चितवन राइनोजसँगको प्रतिस्पर्धामा उनले विराटनगरबाट डेब्यु गरेका थिए । पहिलो खेलमै उनी आफ्नो छविअनुसार प्रदर्शन गर्न सफल भए । उनले ब्याटिङका क्रममा ३३ रन जोड्दा छक्का बर्साएका थिए । बलिङमा समेत उनले एक विकेट हात पारे । तर, उनले एक विकेटका लागि ३९ रन खर्चे । कर्णालीको सटीक बलिङ रणनीति तोड्न उनी तयार छन् । विराटनगरले सम्भवतः आफ्नो दोस्रो खेलमा उनलाई अगाडि पठाउन सक्छ ।
सोमपाल कामी (कर्णाली)
कप्तानी र बलिङ विभागको समेत नेतृत्व गरेका सोमपाल कर्णालीका प्रमुख खेलाडीमा पर्छन् । गत सिजनमा दुई जित मात्र निकालेको कर्णालीले यसपटक जितका साथ सुरुवात गरेको छ । पहिलो खेलमा जनकपुरविरुद्धको जितमा उनले १५ रन खर्चेर एक विकेट हात पारेका थिए । अवस्थाअनुसार बलिङ गर्न रुचाउने सोमपालले विराटनगरको बलियो ब्याटिङ लाइनअप बिगार्न सक्छन् । कर्णालीले पनि उनीबाट दोस्रो खेलमा राम्रो प्रदर्शनको आशा गरेको छ । त्रिवि क्रिकेट मैदानको पिचबारे राम्रो जानकार सोमपालले ड्यु फ्याक्टरअनुरूप बलिङ रणनीति बनाउन सक्छन् ।