विराटनगरविरुद्ध कर्णालीको धमकेदार जित

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । कप्तान सोमपाल कामी, गुल्शन झा र पवन सरार्फको सम्हालिएको ब्याटिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित निकालेको छ । कर्णालीले लगातार दोस्रो जित निकाल्ने क्रममा विराटनगरलाई ४ विकेटको जित निकाल्यो । 

बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ८७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा  कर्णालीले  एक बल बाँकी रहँदै जित निकाल्यो । 

कर्णालीको यो लगातार दोस्रो जित हो ।  कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको थियो । यता, विराटनगर भने लगातार दोस्रो हार बेहोर्न पुग्यो । पहिलो खेलमा चितवन राइनोजविरुद्ध ८ विकेटले पराजित भएको थियो । 

आज नै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौंलाई ८ विकेटले हराउँदै विजयी सुुरुवात गरेको छ । 

कर्णालीको लागि मध्यक्रमका पवन सरार्फ र सोमपाल कामीले ६१ रनको साझेदारी गर्दै जिततर्फ बढाएका थिए । कप्तान सोमपालले  ३२ बलमा ६४ रनको योगदान गरे । उनी चार चौका र ३ छक्का हान्दै अविजित रहे । यसअघि सोमपालले २७ बलमा सम्हालिएको प्रदर्शन गर्दै चार चौका र २ छक्कासहित ५० रन बनाएका थिए ।  यस्तै, गुल्शन झाले २१ बलमा २८ रन हाने । उनले समान २ चौका र छक्का हिर्काएका छन् । गुल्शन र सोमपालले छैटौं विकेटको लागि ६४ रनको साझेदारी गरेका हुन् । 

यसअघि पवन सरार्फले २८ बलमा ३६ रन जोडे । उनी एक चौका र तीन छक्का हिर्काएर प्रतिश जिसीबाट आउट भएका एि । यसअघि ओपनर अरिफुल इस्लामले आक्रमक ब्याटिङ गर्दै १२ बलमा ३२ रन हिर्काएका थिए । समान तीन चौका र छक्का हिर्काएका इस्लामलाई एन्जोलो म्याथ्युजले इमरान शेखबाट क्याच गराएका हुन् । दीपक डुम्रेले ११ बलमा २० रन हाने । 

यसअघि स्कटल्यान्डका ओपनर मार्क वाट भने १ रन बनाएर आउट भए । यस्तै, पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलात पनि डक आउट हुँदा कर्णाली दबाबमा आएको थियो । बंगलादेशकै अकवर अली पनि १ रन बनाएर आउट भएका थिए । 

विराटनगरका लागि श्रीलंकाका एन्जेलो म्याथ्युजले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा तीन रन खर्चिएका थिए । यसबाहेक चारिथ असलंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिएका थिए । 

यसअघि विराटनगरको इनिङ्समा ओपनर लोकेश बलले ५२ बलमा सर्वाधिक ८७ रन बनाए । तेस्रो एनपिएलमा पहिलो अर्धसतक हिर्काउने क्रममा उनले ३ चौका र ९ छक्का प्रहार गरे । उनलाई सोमपाल कामीले १५.५ ओभरमा आफ्नै बलमा क्याच आउट गरेका थिए । त्यसअघि पहिलो ओभरमै लोकशले जीवनदान पाएका थिए । कप्तान सोमपाल कामीको बलमा लोकेश बमको क्याच नन्दन यादवले छाडेका थिए । 

लोकेश र एन्जेलो म्याथ्युजबीच ७१ रनको साझेदारी भयो । श्रीलंकाका पूर्व कप्तान म्याथ्युजले ३२ बलमा ३१ रन बनाए । चार चौका प्रहार गरेका उनलाई सोमपालले बोल्ड गरेका थिए । विराटनगरले ८.६ ओभरमा ७३ रन बनाउँदा तीन विकेट गुमाएपछि लोकेश र म्याथ्युजबीच बलियो साझेदारी भएको हो । लोकेश आउट हुँदा विराटनगरले १४४ रन बनाउँदा ४ विकेट गुमाएको थियो । 

वेष्ट इन्डिजका पूर्व अलराउन्डर आन्द्रे रसेलले १५ बलमा आक्रमक  २७ रन हिर्काए । तीन चौका र दुई छक्का हान्दै त्रिवि मैदानमा दर्शकलाई रोमाञ्चकता दिएका रसेललाई कप्तान सोमपालले युनिसविक्रम ठकुरीबाट क्याच गराएका थिए । बसिर अहमदले १३ रन जोडे । 

यसअघि ओपनर इमरान खान ५, चरिथ असलंका ३ तथा शेहान जयासुरियाले ११ रन बनाएका थिए । 

कर्णालीका बलर सोमपाल कामीले एक्ले चार विकेट लिए । उनले ३३ रन खर्चिए । यसबाहेक मार्क वाटले एक मेडनसहित २३ रन खर्चिएर एक विकेट लिए । अन्य बलर हुने महँगो सावित हुन पुगे । नन्दन यादवले चार ओभर बलिङ गर्दा एक विकेट लिएर सर्वाधिक ४३ रन खर्चिए । पाकिस्तानका हुसैन तलातले तीन ओभरमा ३९ र युनिसले तीन ओभरमा २६ रन खर्चिएपनि विकेट झार्न सकेनन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार कुनै पनि खेल हुने छैनन् ।

सुझावित समाचार