कोभिड उपचार औषधिको सूचीबाट हटे पनि नेपालमा रेमडेसिभिरको माग अत्यधिक

आइतबार, ३० जेठ, २०७८
डिजिटल संस्करण

चिकित्सकहरूले नै प्रभावकारी नभएको बताए पनि ५१ सय पर्ने  प्रतिभाइल २० देखि ३० हजारसम्ममा बिक्री

कोभिडका बिरामीको उपचारमा प्रयोग भइरहेको रेमडेसिभिर प्रभावकारी नदेखिए पनि नेपालमा निरन्तर आयात भइरहेको छ । आयात मात्रै होइन, प्रतिभाइल पाँच हजार एक सय

रुपैयाँ पर्ने रेमडेसिभिर २० देखि ३० हजारसम्ममा समेत बिक्री भइरहेको पाइएको छ । 
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड उपचारको औषधि सूचीबाट रेमडेसिभिरलाई हटाइसकेको छ । डब्लुएचओले यसलाई महामारीको सुरुवाती दिनमा आपत्कालीन अवस्थामा प्रयोगका लागि सुझाएको थियो । अहिले भने डब्लुएचओले जस्तोसुकै जटिल परिस्थितिमा पनि कोरोना संक्रमितलाई रेमडेसिभिर प्रयोग नगर्न चेतावनी दिइसकेको छ । तर, नेपालमा भने कोरोनाको दोस्रो लहरपछि मात्रै ४५ हजार भाइल रेमडेसिभिर आयात भइसकेको छ । औषधि व्यवस्था विभागको तथ्यांकअनुसार कोभिड संक्रमण फैलिएयता मात्रै विभिन्न देशबाट ८० हजार भाइल रेमेडेसिभिर नेपाल आयात भइसकेको छ । डब्लुएचओले कोभिड उपचारको सूचीबाट हटाए पनि नेसनल मेडिकल काउन्सिलले भने कोभिड उपचारको प्रोटोकलमा रेमडेसिभिर अझै समावेश गरेको छ ।

कोभिडको दोस्रो लहर फैलँदै गर्दा रेमडेसिभिरको कालोबजारी हुन थालेको भन्दै नेपाल सरकारले प्रतिभाइल पाँच हजार एक सय मूल्य तोकेको थियो । विभिन्न औषधि कम्पनीका आधारमा अहिले ४८ सय र ४९ सय रुपैयाँमा पनि रेमडेसिभिर बिक्री भइरहेको औषधि व्यापारीहरू बताउँछन् । 

उपचारमा प्रयोग गरिने औषधिहरू सम्बन्धित रोगको उपचारबारे नेसनल निर्देशिका, अनुसन्धानमा आधारित अन्तर्राष्ट्रिय निर्देशिका र उपचारमा संलग्न फिजिसियनको अनुभवका आधारमा निर्धारण गरिन्छ । तर, रेमडेसिभिरको प्रभावकारिताबारे अध्ययन गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नै औषधिको प्रयोगबारे अलमलमा छ । परिषद्ले कोभिडको पहिलो लहर अर्थात् ३० जुलाईदेखि ३१ अक्टोबर २०२० सम्म अस्पताल भर्ना भएका एक हजार तीन सय १५ जनामा अध्ययन गरेको थियो । अब्जर्भेसनमा आधारित अनुसन्धानले नेपालमा रेमडेसिभिरको प्रयोगबारे निश्चित अवधारणा दिएको छैन । उपचारमा संलग्न चिकित्सकहरूले पनि रेमडेसिभिर भाइरल फेजमा मात्र उपयोगी भएको बताएका छन् । 

प्रयोगबारे अलमल 
परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत मेघनाथ धिमालले अध्ययनमा सबै उमेरसमूह र स्वास्थ्य अवस्थाका बिरामी समावेश गरिएको बताए । उनीहरूमाथि गरिएको अनुसन्धानबाट औषधिको प्रभावकारिताबारे टुंगो नलागेको उनको भनाइ छ । उनी भन्छन्, ‘तत्कालीन समयमा अन्तर्राष्ट्रिय स्तरमा रेमडेसिभिर उपयुक्त भनिएकाले नेपालमा पनि प्रयोगमा ल्याइएको हो । सबै बिरामीमा प्रयोगमा ल्याएकोले हामीसँग प्रभावकारिता परीक्षण गर्न अर्को समूह थिएन । प्रयोग गरिएका व्यक्तिमा अब्जर्भेसन मात्रै गरेकाले रेमडेसिभिर प्रभावकारी छ÷छैन भन्न सकिँदैन ।’ 

माग धेरै रहेकाले आयात भइरहेको छ : विभाग
रेमडेसिभिर औषधि प्रयोगबारे अलमल रहे पनि नेपालमा यसको माग भइरहेकाले आयात गरिरहेको औषधि व्यवस्था विभागले जनाएको छ । भारतले रेमडेसिभिर निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले यहीँ उत्पादन गर्ने तयारीसमेत गरेको छ । यसका लागि नेसनल हेल्थ केयरलाई विभागले अनुमति दिएको छ । विभागका प्रवक्ता सन्तोष केसीले नेपालमा यसको परीक्षण पास भएर उत्पादनको अन्तिम प्रक्रियामा रहेको बताए । उनी भन्छन्, ‘डब्लुएचओले रेमडेसिभिरलाई कोरोनाको औषधिको सूचीबाट हटाए पनि सिडिसीले अझै मान्यता दिइरहेकाले नेपालमा प्रयोग भइरहेको छ । दोस्रो लहरमा रेमडेसिभिरको अत्यधिक माग भएपछि चर्को मूल्यमा किनबेच भएकाले मूल्य निर्धारण पनि गरेका छौँ ।’ अहिले बंगलादेश र पाकिस्तानका पाँचवटा औषधि कम्पनीबाट नेपालमा रेमडेसिभिर आयात भइरहेको छ । 

यसकारण डब्लुएचओले हटायो सूचीबाट
कोभिडका गम्भीर बिरामीको स्वास्थ्य अवस्था र क्लिनिकल सुधार आउने देखिएकाले महामारीको सुरुवाती दिनमा रेमडेसिभिर प्रयोगमा ल्याउन अनुमति दिइएको थियो । यो औषधि यसअघि इबोला संक्रमणविरुद्ध प्रयोग भएको थियो ।

तर, चारवटा अन्तर्राष्ट्रिय परीक्षणमा सहभागी सात हजार मानिसमा गरिएको परीक्षणमा रेमडेसिभिरको प्रयोगले संक्रमितको उपचारमा सहयोग नपुगेको पाइएपछि डब्लुएचओले कोभिड उपचारको औषधिबाट रेमडेसिभिरलाई हटाएको थियो । योसँगै विभिन्न देशले रेमडेसिभिर प्रयोगमा रोक लगाइसकेका छन् । तर, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले भने यो औषधि समयमै प्रयोग गरे केही प्रतिशत सहयोग पुग्ने जनाउँदै आएको छ । 

नेपालका अस्पतालहरूमा अत्यधिक प्रयोगमा रहेको रेमडेसिभिर खासै प्रभावकारी नदेखिएको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास भन्छन्, ‘रेमडेसिभिर एन्टिभाइरल औषधि हो, जुन भाइरल फेज अर्थात् संक्रमण भएको एक सातासम्म प्रयोग गर्न सकिन्छ । यदि संक्रमण भएको पहिलो साताभित्र बिरामी अस्पतालसम्म पुगेमा रेमडेसिभिर प्रयोग गरिन्छ, तर अधिकांशमा गम्भीर लक्षण साता–दश दिनपछि देखिने गर्छ । अस्पताल भर्ना ढिलो हुने हुँदा रेमडेसिभिरको प्रभावकारिता देखिँदैन । अस्पतालहरूमा रेमडेसिभिरको प्रयोग कम हुन थालेको पनि छ ।’ रेमडेसिभिरको प्रयोग कुन समयमा गर्ने भन्नेमा अलमल भएकाले औषधिको प्रभावमा प्रश्न उठिरहेको बताउँछन्, डा. दास । भन्छन्, ‘प्रायजसो गम्भीर बिरामीमा यसको प्रभाव देखिएको छैन । मेरो अनुभवमा सही व्यक्तिलाई सही समयमा प्रयोग गरेमा प्रभावकारी हुन सक्छ । अब यसको प्रयोगबारे ख्याल गर्नुपर्ने देखिन्छ ।’ 

सुझावित समाचार