वन्यजन्तु तस्करीका नाइके कुन्जोकलाई सात वर्ष कैद

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

वन्यजन्तुसम्बन्धी अपराधमा हालसम्मकै ठूला अभियुक्त भनिएका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङलाई अदालतले दोषी ठहर गरी सात वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत रसुवाले उनलाई बुधबार सजाय सुनाएको हो । 

न्यायाधीश राजेन्द्र नेपालको इजलासले सात वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जले उनलाई १५ वर्षसम्म कैद सजायको माग गरेको थियो । 

१५ वर्षअघिको एक तस्करीमा संलग्न तामाङलाई गत वर्ष १० असारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । रसुवाका जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इलजासले उनलाई अवैध रूपमा अखेटोपहार ओसारपसार गरेको मुद्दामा गत ८ असारमा नै दोषी ठहर गरेकोमा सजाय भने बुधबार तय भएको अदालतकी स्रेस्तेदार मुना अधिकारी ढकालले बताइन् । 

कुन्जोक वन्यजन्तु मुद्दामा नेपालमा पक्राउ परेका अहिलेसम्मकै ‘हाइप्रोफाइल’ अभियुक्त भएको प्रहरी अधिकारी बताउँछन् । उनीमाथि अधिकतम सजाय हुनुपर्ने भएपछि अपराधको तुलनामा कम मात्र कैद सजाय भएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीको टिप्पणी छ । यस्तो अपराधमा पाँचदेखि १५ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । ऐनले न्यायाधीशलाई तजबिजी अधिकार दिएकाले दोषी ठहर भएर पनि उनले कैद सजाय भने थोरै मात्र भएको छ । 

१५ वर्षपछि कसरी पक्राउ परे कुन्जोक ? 
प्रहरीले १५ वर्षको मिहिनेतपछि उनलाई पक्राउ गरेको हो । ०६२ मा रसुवामा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा उनको संलग्नता देखिएको थियो । तर, त्यसवेला रसुवाको स्याफ्रुबेंसीमा ६ वटा बाघको छाला, ३६ वटा चितुवोका छाला, दुई सय ३८ वटा ओतको छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ परेका थिए । रसुवास्थित नेपाली सेनाको दुर्गाबक्स गणको चेकिङमा उनीहरू पक्राउ परेका थिए । उनीहरूकै बयानका आधारमा त्यसमा कुन्जोकको संलग्नता खुलेको थियो । त्यसवेला विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर उनको मुद्दा मुल्तबीमा राखिएको थियो । सिआइबीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाएकोमा गत वर्ष १३ असारमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको नौ महिनापछि मुद्दाको फैसला भएको थियो । पुर्पक्षमा पठाउने आदेशविरुद्ध उनी उच्चदेखि सर्वोच्चसमेत गएकोमा उनको पक्षमा आदेश नभएपछि अहिले पनि उनी थुनामै छन् । आफू प्रहरीले दाबी गरेको कुन्जोक नभएको भन्दै उनी अदालत गएका थिए । 

कुन्जोक नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै खोजी भएका अभियुक्त हुन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले समेत उनको सूचना संकलन गरी नेपाललाई पठाउँदै आएको थियो । वन्यजन्तु तस्करीको विभिन्न अन्तर्राष्ट्रिय गिरोहमा उनको संलग्नता देखिएको भन्दै इन्टरपोलले सूचना दिने गरेको थियो । मोस्टवान्टेड भए पनि उनी अमेरिकादेखि विभिन्न देश पुग्ने गरेका थिए । प्रहरीले कुन्जोक लामाको नाममा उनलाई खोजी गरिरहेको थियो । तर, उनले कुन्जोक छिरिङ तामाङको नामबाट नागरिकता बनाई कारोबार गरिरहेका थिए । १५ वर्षपछि कुन्जोक लामा र कुन्जोक छिरिङ तामाङ एउटै व्यक्ति भएको पुष्टि गरेर मुद्दा दायर भएको हो । 

त्यतिखेर उनले प्रयोग गरेको सिमकार्ड अहिले पनि उनको साथबाट बरामद भएको थियो । अभियुक्तहरूले बयानमा बताएको मोबाइल नम्बर अहिले पनि उनले प्रयोग गर्दै आएका थिए । सिमकार्ड लिनेवेला प्रयोग गरिएको हस्ताक्षर र बैंकमा प्रयोग भएको हस्ताक्षर एउटै छ । विगतमा उनको वास्तविक नाम र ठेगाना पत्ता नलाग्दा इन्टरपोलबाट रेड नोटिस पनि जारी हुन सकेको थिएन । त्यतिवेला राष्ट्रिय निकुञ्जका कर्मचारीले समेत वास्तविक नाम पत्ता लगाउने प्रयास नगरी उनलाई उन्मुक्ति दिने प्रयास भएको थियो । पक्राउ पर्ने डरले केही महिनायता उनी आफ्नो घरमा समेत बस्न छाडेका थिए 
 
भारतीय अधिकारीहरूबाट नेपाल प्रहरीलाई आएको सूचनाअनुसार उनीआबद्ध समूहले करिब ६ सयवटा बाघको चोरी सिकारी गरेको छ । भारतका कुख्यात वन्यजन्तु तस्कर संसार चन्द तथा सहिबर कुरैसीको समूहसँग मिलेर उनले काम गरेको पुष्टि भइसकेको छ । भारतमा प्रहरीले ठूलो मात्रामा बाघको छाला बरामद भएको घटनामा उनको समेत संलग्नता खुलेको थियो । जसमा उनलाई फरार सूचीमा राखिएको छ । रसुवामा पक्राउ परेका समूहले त्यसअघि पनि आफूहरूले पटकपटक बाघका छाला तथा हड्डी ओसारेको बयान दिएका थिए । 

भारतमा पनि उनी मोस्टवान्टेड छन् । सन् १९९९ मा गाजियावादमा बरामद भएको बाघको छालाको तस्करीमा उनको संलग्नता देखिएको थियो । सन् २००० मा उत्तर प्रदेशको खागामा तथा सन् २००८ मा मध्यप्रदेशको हरियाणामा बाघको छाला बरामद भएकोमा त्यसको नाइके उनी भएको खुलेको थियो । सोही आधारमा भारतले पटकपटक नेपालसँग उनलाई पक्राउबारे छलफल गरे पनि उनी फेला परेका थिएनन् । 

उनी करिब २० वर्षदेखि नेपालमा बस्दै आएको प्रहरीले जनाएको छ । हुम्लाको नाम्खा गाउँपालिका– ६ हुम्लाबाट उनले नेपाली नागरिकता लिएका छन् । जेठी श्रीमती हुम्लामै रहेकोमा कान्छी श्रीमतीसँग जोरपाटीमा बस्दै आएका थिए । प्रहरीदेखि केही नेताहरूसँग समेत उनको निकट सम्बन्ध देखिएको प्रहरी स्रोत बताउँछ । उनी पक्राउ परेपछि सो गिरोहमा रहेका अन्य व्यक्तिहरूमाथि अनुसन्धान अघि बढेको छ । जसमध्ये केही अमेरिकामा बस्दै आएको खुलेको छ । वन्यजन्तुसम्बन्धी अपराधमा नेपालमा अहिलेसम्म यति उच्च तहको व्यक्ति पक्राउ नपरेको प्रहरी अधिकारीहरू बताउँछन् । इन्टरपोलले पनि उनको अन्तर्राष्ट्रिय नेटवर्कमाथि थप अनुसन्धान अघि बढाएको छ । उनको गिरोहका केही व्यक्ति अझै फरार छन् । 

सुझावित समाचार