अनियमित महिनावारी बाँझोपनको संकेत हुन सक्छ

बिहिबार, १९ चैत, २०७७
डिजिटल संस्करण
अनियमित महिनावारी बाँझोपनको संकेत हुन सक्छ

डा. आकृति भारती, प्रजनन विशेषज्ञ वात्सल्य नेचुरल आइभिएफ

महिनावारी महिलामा हुने एक प्राकृतिक प्रक्रिया हो । सामान्यतया हरेक २८ दिनको अन्तरालमा महिनावारी हुने गर्छ । नियमित महिनावारी स्वस्थ प्रजननको आधार हो ।  यसमा डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ र निषेचित डिम्बलाई पाठेघरमा टाँसिन र पोषणका लागि मद्दत पुर्याउन इन्डोमेट्रियमको विकास भएको हुन्छ । निषेचन हुन नसकेको अवस्थामा महिनावारीको रूपमा शरीरबाट बाहिर निस्किन्छ ।

महिनावारीको सुरुको पाँच दिनमा रक्तस्राव हुन्छ । ६ देखि १४ दिनको समयमा डिम्ब र इन्ड्रोमेट्रियमको पुनः विकास हुन थाल्छ र डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ । त्यसपछि गर्भनली हुँदै डिम्ब पाठेघरसम्म पुग्छ । गर्भनलीमा शुक्रकीटसँग मेल भए गर्भधारण प्रक्रिया सुरु हुन्छ अन्यथा इन्डोमेट्रियमसँगै डिम्ब पनि महिनावारीको रक्तस्रावका रूपमा निस्किन्छ । अव्यवस्थित जीवनशैलीका कारण अनियमित महिनावारीले गम्भीर समस्याको रूप लिन थालेको छ । अनियमित महिनावारीका कारणले प्रजनन स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।

एनोभुलेसन
विभिन्न कारणले डिम्ब निष्कासन नहुनु एनोभुलेसन हो । यस्तो अवस्थामा चिकित्सकको सल्लाहविना गर्भधारण सम्भव हुँदैन ।

प्रिम्याच्युएर ओभरयिन फेलर (पिओएफ)
डिम्ब पूर्ण रूपमा विकसित नहुँदै महिनावारी हदा अनियमित हुन थाल्छ । कतिपयमा महिनावारी बन्दसमेत हुन सक्छ । शरीरमा एस्ट्रोजोन हार्मोनको कमीका कारण हुने यो समस्याबाट योनी सुख्खा हुने, यौनसम्पर्क पीडादायक हुने, निद्रा नलाग्ने, शरीरको तापमान बढ्ने, डिप्रेसनजस्ता समस्या आउन सक्छ ।

मोटोपन
मोटोपन प्रजननमा असर पुर्याउने एक प्रमुख कारण हो । यसले महिनावारी पनि अनियमित बनाउँछ । अधिक मोटो हुनुमा पिसिओएस र थाइराइड पनि मुख्य कारण हुन सक्छ । 

पोलिसिस्टक ओभरियन सिन्ड्रोम 
पिसिओएस इन्ड्रोकाइनसम्बन्धी समस्या हो । यसले सबैमा बाँझोपन ल्याउँछ भन्ने हुँदैन, तर गर्भधारणमा अफ्ठ्यारो हुने गर्छ । आठजनामध्ये एकजनामा बाँझोपन पनि ल्याउन सक्छ । पिसिओएस देखिएकाहरूले गर्भधारण गर्न लामो समय लिन सक्छन् वा उनीहरूमा गर्भपातको समस्या देखिन सक्छ ।

थाइराइडसम्बन्धी समस्या 
अधिक सक्रिय वा न्यून सक्रिय थायरोइड भए महिनावारी र गर्भधारण दुवैमा समस्या देखिन सक्छ । तौल बढ्ने, निद्रा नलाग्ने, थकान, डिप्रेसन हुनेजस्ता समस्या देखिन्छ । महिनावारीसँग सम्बन्धित यस्ता समस्या देखिए गर्भधारणका चुनौती थपिन्छन् तर सन्तान नै नहुने भन्ने हुँदैन । औषधिको प्रयोग र अन्य उपचारको माध्यमबाट प्रजननमा सुधार ल्याउन सकिन्छ । 

उपचार
जीवनशैली, खानपानमा सुधार ल्याउन सके अनियमित महिनावारीको समस्यामा सुधार ल्याउन सकिन्छ । यस्तै तौल व्यवस्थापन र नियमित यौनसम्पर्कको माध्यमबाट ओब्युलेसन चक्रको वेला निषेचन हुने सम्भावना बढाउन सकिन्छ । 

नियमित महिनावारीमा पनि बाँझोपन 
कहिलेकाहीँ महिनावारी नियमित देखिए पनि सन्तान प्राप्तिमा चुनौती देखिन सक्छ । जस्तै, विभिन्न कारणले गर्भनली बन्द हुँदा वा कुनै घाउहरूका कारण समेत प्रजननमा समस्या हुन्छ । कतिपयमा नियमित महिनावारी हुँदाहुँदै पनि डिम्ब निष्कासन नभइरहेको हुन सक्छ । डिम्बको गुणस्तर राम्रो नहुन सक्छ जसले गर्भपात गराउन सक्छ ।

महिनावारीको गडबडीले गर्भधारणमा समस्या थपेको हुन्छ, तर प्राकृतिक रूपमा गर्भ बस्नै नसक्ने हुँदैन । गर्भधारणको प्रयास दुई वर्षसम्म पनि सफल नभएमा वा ३५ वर्षभन्दा माथिको उमेरमा ६ महिनापछि चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।

सुझावित समाचार