लमजुङमा रहेको ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाले ऊर्जा तथा जलस्रोत नियमावलीको उल्लंघन गरेको छ । पर्यावरणीय सन्तुलनका लागि बाँधक्षेत्र तल केही मात्रामा पानी छोड्नुपर्ने भए पनि मध्यमर्स्याङ्दीले विद्युत् उत्पादन गर्न नदी नै सुकाएर पानी सुरुङमा पठाउने गरेको छ ।
जलविद्युत् परियोजना निर्माणअघि नै पर्यावरणीय सन्तुलन कायम गराउन वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार नदीमा १० प्रतिशत पानी छोड्नुपर्ने प्रावधान भए पनि परियोजनाले पूरै पानी सुरुङभित्र पठाएको हो । अधिकांश परियोजनाको बाँधमा पानी छोड्ने ‘आउटलेट’ र माछा ओहोरदोहोर गर्ने ‘फिसल्याडर’ निर्माण गरिने भए पनि मध्यमस्र्याङ्दीमा त्यस्तो संरचना बनाइएको छैन ।
मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख शिवकुमार शाहले हिउँदको समयमा उत्पादन कमी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या आउन नदिन १० प्रतिशत पानी नछोडेको बताए । उनले भने, ‘पहाडी भूभागमा स–साना खोलाबाट पानी आउने हुँदा जलचर र पर्यावरणीय सन्तुलनमा कुनै असर पर्दैन ।’ परियोजनाले नदीको पानी सबै सुरुङमा पठाएपछि बाँधदेखि तल रामचोकबेँसी, बान्द्रे, उदिपुर क्षेत्र हुँदै दोर्दी खोलाको दोभानसम्मको करिब २ किलोमिटर क्षेत्र सुक्खा भएको छ ।
बाँधदेखि तल चिती र उदिपुरवासीको मरणघाट भएकाले नदीमा पानी नहुँदा अन्तिम संस्कारमा समेत निकै समस्या भोग्नुपरेको चितीका स्थानीय स्थिरबाबु घिमिरे बताउँछन् । ‘अन्तिम संस्कार गर्दा चाहिने पानी पनि खोलामा छैन,’ घिमिरेले भने, ‘जल चढाउनेदेखि शव जलाएपछि खरानी पखाल्नसम्म पानी चाहिन्छ, तर पानी नहुँदा हामी साह्रै मर्कामा परेका छौँ ।’
नदीमा पानी नभएपछि सो क्षेत्रमा खेती गर्न, पशुपक्षीलाई पानी खान निकै समस्या भएको स्थानीय अर्जुन सेढाईंले बताए । परियोजनाले वर्षायाममा पानी बढी भएको दिनमा कहिलेकाहीँ बाँध खोल्ने समयभन्दा अरू वेलामा नदी सुक्खा नै रहन्छ । नदीमा पानी नभएपछि पानीमा आश्रित जीवजन्तु लोप नै भएका र रामचोकबेँसी, बान्दे्र, उदिपुर क्षेत्रबाट जलचर, थलचर र चराचुरुंगीहरू हराउँदै गएपछि पहिलेको तुलनामा त्यहाँको प्राकृतिक रौनक हराएको बेँसीसहर–११, चिती रामचोकका स्थानीय प्रकाश सेढाईं बताउँछन् ।