आगो ताप्ने क्रममा कपडाबाट जिउमा आगो सल्किएर घाइते भएकी महिलाको उपचारको क्रममा ज्यान गएको छ । सर्लाहीको बागमतीमा गत माघ १७ गते आगो ताप्ने क्रममा लुगामा सल्किएको आगोले पोलेर बागमती नगरपालिका– ४ जिरायत बस्ने ७५ वर्षकी आइतमाया विक गम्भीर घाइते भएकी थिइन् ।
घाइते विकको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको हो । आगोले पोलेर घाइते उनलाई तत्काल उपचारका लागि हरिवनस्थित नमुना अस्पताल पुर्याइएको थियो ।
नमुना अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज लगिएको र त्यहाँ पनि स्वास्थ्य सुधार हुनुको सट्टा थप जटिल बनेपछि थप उपचारका लागि काठमाडाैं लैजाँदै गर्दा बाटोमै ज्यान गएको परिवारले जनाएका छन् ।
शव परीक्षणका लागि चपुरमा राखिएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक चोरवारले जानकारी दिए ।
तराईको जिल्लामा लगातार बढेको चिसो छल्न विपन्न परिवारले आगो बालेर ताप्ने गरेका छन् । यसरी आगो ताप्ने क्रममा जलेर बर्सेनि दर्जनौँको ज्यान जाने तथा अंगभंग हुने गरेका छन् ।