दलित बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद सजाय

शनिबार, १० माघ, २०७७
डिजिटल संस्करण

दलित बालिका बलात्कार गर्ने चारजना अभियुक्तलाई जिल्ला अदालत धनकुटाले जनही एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसहित १८ वर्ष कैद सजाय सुनाएको छ । धनकुटा नगरपालिका– ६ चानुवाका ५० वर्षीय मदन अधिकारी, ५२ वर्षीय गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका ५५ वर्षीय भक्तबहादुर मगरलाई अदालतले क्षतिपूर्तिसहित १८ वर्ष कैद सजाय सुनाएको हो । 

उनीहरू सुस्तमनस्थिति भएकी १४ वर्षीया दलित बालिकाको सामूहिक बलात्कार गरेको अभियोगमा थुनमा छन् । जिल्ला न्यायाधीश फणिन्द्र नेपालको इजलासले मुलुकी अपराध संहिताको दफा २१९ अनुसार यस्तो फैसला गरेको हो । 

अदालतले शिक्षक पेसामा रहेका अधिकारीलाई थप ६ महिना कैद र थप ५० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ । अधिकारी धनकुटा गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । पीडित बालिका उनकै विद्यालयमा कक्षा ८ मा अध्ययन गर्थिन् । सजाय पाएका श्रेष्ठ धनकुटाको सिरानबजारमा खाजा पसल सञ्चालक हुन् । अत्री स्थानीय व्यवसायी र मगर नगरपालिकाका पूर्वकर्मचारी हुन् । अधिकारी अखिल नेपाल शिक्षक संघ प्रदेश १ का पूर्वमहासचिवसमेत हुन् । घटनालगत्तै फरार भएका अधिकारीले चौतर्फी दबाबपछि प्रहरीमा आत्मसमर्पण गरेका थिए । 

आमा नभएकी, बाबुले पनि कान्छी श्रीमती ल्याएकी र आर्थिक अवस्था दयनीय भएकी ती बालिका विद्यालय जानबाट वञ्चित हुँदै आएकी थिइन् । उनलाई चारैजनाले ललाइफकाइ तथा डर–धम्की दिएर यौनशोषण गर्दै आएका थिए । बालिका पाँच महिनाको गर्भवती भएपछि घटना बाहिर आएको थियो । घटना सार्वजनिक भएपछि बालिकालाई तीन लाख रुपैयाँ दिएर मिलापत्र गराई बलात्कारीलाई जोगाउन खोजिएको थियो ।

तर, नैन विश्वकर्मा, कोपिला शंकर, अमर बराइलीलगायत दलित र महिला अधिकारकर्मीले दोषीलाई सजाय दिलाउन संघर्ष गरेका थिए । उनीहरूकै पहलपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । गत २१ जेठमा सरकारी वकिलको कार्यालय धनकुटाले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । 

पीडित बालिका छोरीसँगै संरक्षणगृहमा 
दलित बालिका बलात्कार गर्ने चारजनालाई धनकुटा जिल्ला अदालतले दिएको सजाय न्यायपूर्ण भएको अधिकारकर्मीले बताएका छन । अधिकारकर्मी कोपिला शंकरले प्रहरी, न्यायाधिवक्ता र न्यायाधीश सबैले गरिब दलित बालिकाको पक्षमा न्याय गरेको अनुभूति भएको बताइन् ।

आफूलाई पढाउने शिक्षक र बाबुसमानका अगुवाबाट यौनशोषणमा परेकी बालिकाको गर्भबाट जन्मिएकी छोरी स्याहार गरेर संरक्षणगृहमा बसिरहेकी छिन् । उनले गत भदौमा जटिल शल्यक्रियापछि सात महिनाको गर्भबाट कोशी अस्पताल विराटनगरमा छोरी जन्माएकी थिइन् ।

अदालतमा प्रतिवादी कानुन व्यवसायीले छोरी र आरोपितको डिएनए परीक्षण गर्नुपर्ने र जोसँग डिएनए मेल खान्छ उसलाई मुख्य बलात्कारी मानेर सजाय गर्नुपर्ने माग दाबी गरेका थिए ।

सुझावित समाचार