बागमतीमा चौथो तहका कर्मचारीकाे भर्ना खुलाउने तयारी

बिहिबार, १० मंसिर, २०८३
डिजिटल संस्करण

मकवानपुर । बागमती प्रदेश सरकारले स्थानीय तहमा जनशक्ति अभाव सम्बोधन गर्न चौथो तहका कर्मचारी भर्ना खुलाउने तयारी गरेको छ। यसका लागि स्थानीय सेवा गठन तथा सञ्चालन ऐन संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले अहेव, अनमी तथा सहायक सबइन्जिनियर अर्थात् सबओभरसियरजस्ता पदमा चौथो तहबाटै कर्मचारी भर्ना गर्न सकिने व्यवस्था गर्ने गरी ऐन संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले जानकारी दिए। हाल प्रदेश सरकारले पाँचौँ तहदेखि मात्रै कर्मचारी भर्नाका लागि विज्ञापन खुलाउँदै आएको छ।

बैठकले प्रदेश स्थापना भएदेखि हालसम्मका विकास निर्माण तथा कार्यक्रमको समीक्षा गरी आगामी १० वर्षको रणनीतिक योजना र गुरुयोजना तयार गर्ने निर्णय पनि गरेको छ। यसका लागि मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गरिने प्रवक्ता केसीले जानकारी दिए। उनका अनुसार  समितिले प्रदेशका १३ जिल्ला, ११९ स्थानीय तह र सबै वडामा प्रदेश सरकारको उपस्थिति तथा कार्यक्रमको प्रभाव मूल्यांकन गर्नेछ।

यस्तै, मन्त्रिपरिषद् बैठकले विभिन्न तहमा कार्यरत इन्जिनियरलाई रिक्त सुपरिटेन्डेन्ट इन्जिनियर पदमा कायममुकायम जिम्मेवारी दिने तथा प्रदेश निजामती किताबखानाको निर्देशक पदमा पनि कायममुकायम मुकरर गर्ने निर्णय पनि गरेको छ। यसैगरी उद्योगतर्फका सचिव संघीय मन्त्रालयमा सरुवा भएपछि उक्त जिम्मेवारी साबिककै सचिव दीपेन्द्र सुवेदीलाई दिने निर्णय बैठकले गरेको छ।

रामेछापको मन्थली नगरपालिकामा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्रलाई जग्गा प्राप्तिका लागि प्राथमिकता प्राप्त आयोजना घोषणा गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता केसीले जानकारी दिए। साथै, बस्ती विकास तथा जग्गा एकीकरण ऐन, २०८३ निर्माणका लागि सैद्धान्तिक सहमति दिइएको उनको भनाइ छ।

यस्तै, बैठकबाट पशुपन्छी वधशाला तथा मासु जाँच ऐन, २०५५ अनुसार सबै जिल्लामा मासु सुपरीवेक्षक तोक्ने र पहाडी क्षेत्रमा काष्ठ तथा फलफूल विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ।

यसैगरी, भोटेकोशी बाढीबाट प्रभावित बालबालिकामध्ये यसअघि बाबुआमा दुवै गुमाएकालाई मात्र अभिभावकत्व, उच्च शिक्षा र व्यवस्थापनमा सहयोग गर्ने व्यवस्था रहेकामा अब बाबु वा आमामध्ये एकजना गुमाएकालाई समेत समेट्ने गरी सहयोगको दायरा विस्तार गरिएको प्रवक्ता केसीले जानकारी दिए।

सुझावित समाचार