काठमाडौंमै चिनियाँ नागरिकको अपहरण

शुक्रबार, २४ पुष, २०७७
डिजिटल संस्करण

होटेलबाट अपहरित दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार, अपहरणमा संलग्न चारजना पक्राउ

काठमाडौंको एक होटेलबाट अपहरणमा परेको पाँच दिनपछि दुई चिनियाँ नागरिकको प्रहरीले सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरिएको छ । 

गौशलास्थित होटेल आनन्दबाट चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका हुन् । १९ पुसमा अपहरणमा परेका दुवैजनालाई विहीबार घाइते अवस्थामा उद्धार गरिएको छ । अपहरणकारीको कुटपिटबाट उनीहरूको हातखुट्टामा गम्भीर चोट लागेको छ । उपचारका लागि उनीहरूलाई ग्वार्कोस्थित बि एन्ड बी अस्पताल भर्ना गरिएको छ । 

प्रहरीका अनुसार उनीहरूलाई ट्याक्सीमा राखी उपत्यकाका विभिन्न ठाउँमा लगेर यातना दिइएको थियो । अनुसन्धानमा संलग्न महानगरीय प्रहरीपरिसर काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले घाइतेहरूको बि एन्ड बि अस्पतालमा उपचार भइरहेको बताए । ‘अपहरणकारीको कब्जाबाट दुईजनाको सकुशल उद्धार भयो । यातनाका कारण उनीहरूको शरीरमा चोट देखियो । उनीहरूले उपत्यकाका विभिन्न ठाउँमा लगेर यातना दिएको देखिन्छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ डिएसपी विष्टले भने । 

अपहरणको कारण भने खुलिसकेको छैन । ‘हामी अनुसन्धानको प्रारम्भिक चरणमै छौँ । अनुसन्धान जारी नै छ । के कारणले उनीहरूको अपहरण भयो, त्यो खुलिसकेको छैन,’ विष्टले भने, ‘अपहरणमा संलग्न चारजना पक्राउ परेका छन् । बयानपछि पक्कै पनि खुल्नेछ ।’ 

चिनियाँ नागरिक नै अपहरणमा संलग्न 
नेपालमा रहेका दुई चिनियाँ नागरिकलाई अपहरण गर्ने चिनियाँ नागरिक नै रहेको खुलेको छ । उनीहरूलाई सघाउने काम भने दुई नेपालीले गरेको पाइएको छ । घटनामा संलग्न चारैजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुई चिनियाँ नागरिक चीन आङ्गखोई उहुका वु चाव र चीन सान्दोङ्का झाङ वे रहेका छन् ।

महानगरीय प्रहरीपरिसर काठमाडौंबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई विहीबार साँझ ठमेलबाट पक्राउ गरेको हो । उनीहरूसँगै दुई नेपाली सिन्धुपाल्चोकको भोटेकोसी–५ का ३२ वर्षीय दाबा पासाङ लामा र माइला भनिने भक्त लामा पक्राउ परेका छन् । प्रहरीका अनुसार दाबा र भक्तले अपहरणमा सघाएका थिए । 

गौशलाबाट सिन्धुपाल्चोक लगेर यातना 
प्रहरीका अनुसार अपहरणमा पर्ने लि विपिङ र लि झियाङजिङ गौशलास्थित होटेल आनन्दमा थिए । उनीहरूलाई दुई चिनियाँ नागरिक वु चाव र झाङ वेले भेट्न होटेलबाहिर बोलाए । होटेलमा रहेका विपिङ र झियाङजिङ बाहिर निस्किए । बाहिर ट्याक्सी तयार थियो । ट्याक्सीमा दुई नेपाली पनि थिए । दुवैलाई ट्याक्सीमा बस्न भनियो । उनीहरू बसे । त्यसपछि ट्याक्सी सिन्धुपाल्चोकतर्फ लाग्यो । 

ट्याक्सी सिन्धुपाल्चोकको मार्मिङ्गामा पुगेर रोकियो । अपहरणकारीले दुवैलाई ट्याक्सीबाट उतारे र अज्ञात ठाउँतर्फ लगी बन्धक बनाए । यसका क्रममा उनीहरूमाथि कुटपिट भयो ।विपिङ र झियाङजिङका आफन्तले तत्काल गौशलास्थित प्रहरी वृत्तमा जाहेरी दिए । प्रहरीले गोप्य तवरले अनुसन्धान थाल्यो । यही क्रममा अपहरणमा संलग्न चारजना पक्राउ परेका हुन् ।

See More On

सुझावित समाचार