मिटर नहेरी होटेलमा बसेर बिजुलीको बिलिङ

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण

अनुमानका भरमा तोकिएको रकम तिर्दै सेवाग्राही

धादिङको बेनीघाट–रोराङ गाउँपालिका–३ ओर्बाङकी चमेली चेपाङले घरमा बिजुलीको मिटर जोडेको तीन वर्ष भयो । तर, अहिलेसम्म एकपटक पनि मिटररिडर घरमा आएका छैनन् । बरु आक्कल–झुक्कल आउने मिटररिडरले सलाङघाटको होटेलमा बसेर हचुवामा बिल काट्छन् । 

६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्गको काखैमा रहेको ओर्बाङ गाउँमा बिजुली बत्ती बल्न थालेको धेरै भयो । तर, अहिलेसम्म मिटररिडर गाउँ पुगेका छैनन् । चमेली चेपाङको मात्र होइन, ओर्बाङका सबै उपभोक्ताले बिजुलीको महसुल हचुवाकै भरमा तिर्दै आएका छन् । मिटरै नहेरी होटेलमा बसेर बिलिङ गर्दा त्यसको मार उपभोक्तालाई पर्ने गरेको छ ।

‘महिना–महिनामा घरमा बिल आए पो पैसा तिर्न सजिलो हुन्छ । मिटर राखेदेखि बिल आएको छैन । एकपटक होटेलमा बिल छाडिदिएको रहेछ भनेर छिमेकीले ल्याइदिए,’ चमेलीले नयाँ पत्रिकासँग भनिन्, ‘बत्तीको बिल हेरेपछि छाँगाबाट खसेजस्तै भएँ ।’ मिटररिडरले सेवाग्राहीको मिटरै नहेरी होटेलमा बसेर बिल काट्छन् । तर, सबैको बिलमा १० वा २० युनिट लेखिदिएका छन् ।

बिल र मिटरको अंकमा फरक

बिलमा लेखिएको खपत युनिट र सेवाग्राहीको घरमा राखिएको मिटरमा उठेको युनिट आकाश–पाताल फरक छ । मिटरै नहेरी बिल काट्दा चर्काे विद्युत् महसुल तिर्नुपरेको सुमन चेपाङको अनुभव छ । 

‘बिजुली जोडेदेखि बिल लिएर विद्युत् प्राधिकरणको कर्मचारी एकपटक आएका छैनन्,’ उनले भने, ‘होटेलमा बसेर गाउँले सबैको बिल काट्नेरहेछ । अनि घरमा वास्तविक बिल कसरी आओस् त !’ हचुवाको भरमा विद्युत् महसुल तिर्दा एकै महिनामा तीन हजारभन्दा बढी रकम तिर्नुपरेको सम्झना ताजै छ । त्यसैले कोरोना भाइरसका कारण भएको बन्दाबन्दीपछि गाउँमा प्रायःजसोले पैसा नतिरेको उनले बताए । 

मिटरै नहेरी होटेलमा बसेर अन्दाजका भरमा बिल काट्दा सेवाग्राही मारमा परेका छन् । एकै ठाउँमा बसेर बिल काट्दा साबिक र हालको अंक एउटै, तर खपत युनिट २० सम्म काट्ने गरेका छन् । तर, खपट युनिट भने सबै सेवाग्राहीको १० वा २० युनिट लेखिदिएका छन् । त्यसैले, कतिपय सेवाग्राहीले मिटरमा उठेको धेरै युनिटको पैसा तिर्न बाँकी छ । कतिपय सेवाग्राहीले मिटरमा उठ्दै–नउठेको धेरै युनिटको रकम तिरिसकेका छन् । 

ओर्बाङकै बेलबहादुर मगरको घरमा जोडिएको मिटरमा १५९७ युनिट उठेको छ । तर, १९५३ युनिटको पैसा तिरिसकेको उनले बताए । ‘मिटर हेर्न विद्युत् प्राधिकरणको कर्मचारी आउँदैनन्,’ उनले भने, ‘पैसा बुझाउन जाँदा हामीलाई उल्टै घरको मिटरमा कति उठेको छ । पहिले र अहिलेको युनिट नल्याई पैसा लिन्नौँ भनेर थर्काउँछन् ।’ सलाङघाटका होटेलमा बसेर बिल काट्नेहरू दुई मिनेट हिँडे आफूहरूको घरमै आइपुुग्ने मगरले बताए । गाउँमा बत्ती बलेर झिलिमिली भए पनि प्राधिकरणका कर्मचारीको चरम लापरबाहीले मन उज्यालो हुन नसकेको उनले बताए । 

हाकिम भन्छन्– कर्मचारी नगएको थाहा छैन
सेवाग्राहीले गुनासो गरिरहँदा विद्युत् प्राधिकरण गजुरी शाखाका इन्चार्च मैताङ लिम्बू भने यस विषयमा आफूलाई जानकारी नभएको बताउँछन् । उनले भने, ‘यस विषयमा बुझ्नुपर्छ । मलाई सबै कुरा थाहा हुँदैन । गुनासो पनि आइपुगेको छैन ।’ तर, उनले अब पुसदेखि हरेक महिना सेवाग्राहीको घरमै पुगेर मिटर रिडिङ गर्ने व्यवस्था मिलाउने जनाए । 

‘सेवाग्राहीले गुनासो गरे थाहा हुने हो । अहिलेसम्म गुनासो आएको छैन । हामीले कर्मचारी खटाएका छौँ । उनीहरूले कहाँ बसेर बिल काट्छन् भन्नेभन्दा पनि मिटररिडरले ल्याएको डाटाअनुसार सेवाग्राहीले पैसा तिर्नुपर्छ ।’ उनले मिटरमा उठ्दै–नउठेको रकम तिरेको पाइए त्यो पछि तिर्नुपर्ने युनिटमा मिलान गर्न सकिने बताए । 

सुझावित समाचार