पैसा होइन, न्याय चाहियो भन्दै दुई युवाको शव बुझेनन् परिवारले

मृतककी आमा भन्छिन् - मेरो छोरो ज्युँदो देउ, पैसा म दिन्छु

सोमबार, १३ पुष, २०७७
डिजिटल संस्करण

गुल्मीमा ट्रकको ठक्करबाट दुईजना युवाको ज्यान गएपछि परिवारले अझै शव बुझेका छैनन् । सोही विषयमा  आइतबार दिनभर प्रहरी कार्यालय तनावग्रस्त बन्यो ।

मृतकका आफन्तले दुईजनालाई चालकले किचेर मारेको, प्रहरीले आफूहरूको अनुमतिविना शव उठाएर ल्याएको, ट्रकमालिकलाई आफूहरूसँग संवाद नगराएकोलगायतका माग राखेर प्रदर्शन गरेका थिए । ‘मलाई पैसा होइन, न्याय चाहिएको छ, निर्दयीले कमाई खाने वेलाको छोरा मार्यो,’ मृतक बालकृष्णकी आमा कल्पना थापाले भनिन्, ‘छोरो फर्कने भए पैसा मैले नै दिन्छु ।’ 

उनले छिटोभन्दा छिटो कानुनी प्रक्रिया अघि बढाएर कडा सजायको माग गरिन् । सोमबार चालकलाई सरकारी वकिलसमक्ष लैजाने र ट्रकमालिकसँग बसेर संवाद गर्ने वातावरण प्रहरीले नदिए चक्काजाम गरेर विरोध प्रर्दशन गर्ने मृतकका आफन्तको भनाइ छ ।
 
रेसुंगा नगरपालिका– १३ का वडाध्यक्ष खुमबहादुर खत्रीले छिटोभन्दा छिटो शव बुझ्ने वातावरण सिर्जना गर्न आग्रह गरे । उनले माग सम्बोधन नभए पीडित परिवार र गाउँले सडक छेक्ने योजनामा भएकाले अर्को स्थिति आउन नदिन प्रहरी थप गम्भीर बन्नुपर्नेमा जोड दिए । 

ट्रकको ठक्करबाट  २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारराज पन्तले दिए । 

उनीहरुलाई बुटवलबाट तम्घास आउँदै गरेको ना.५ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका– १३ भगारीस्थित मसिने खोलामा ठक्कर दिएको थियो । दुवैजनाको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक पन्तले बताए । 

चालक र ट्रक प्रहरी नियन्त्रणमा छन् । मृतकको शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ । आफूहरूले कानुनी प्रक्रियासँगै ट्रकमालिकलाई खबर गरेकाले सबैको सहमतिमा निकास निकाल्ने र आफन्तहरूलाई शव बुझाउने पन्तको भनाइ छ ।
 

सुझावित समाचार