नेकपाका प्रमुख सचेतक देव गुरुङले कुनै पनि नेताको जिम्मेवारी हेरफेर गर्ने कुरा पार्टीले मात्रै निर्णय गर्न सक्ने बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीसँगको भेटवार्तापछि नयाँ पत्रिकासँग गुरुङले त्यस्तो बताएका हुन् ।
मन्त्रिपरिषद् बैठकपछि गुरुङलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले संसदीय दलको नेतालाई असहयोग पुग्ने गतिविधि जारी राखे जिम्मेवारी हेरफेर गर्न सक्ने चेतावनी दिएका थिए ।
गुरुङले पनि त्यस्तो चेतावनी आएको घुमाउरो तरिकाले स्वीकार गर्दै कुनै पनि पार्टीको जिम्मेवार व्यक्तिको निर्णय हेरफेरबारे पार्टीले मात्रै निर्णय गर्न सक्ने प्रस्ट्याए ।
गुरुङले भने, ‘आज मेरो प्रधानमन्त्रीसँग भेट भएको हो । तर, मैले त्यस (प्रधानमन्त्रीले राजीनामा मागेको)बारेमा खास टिप्पणी गरेको छैन । तर, कुरा के हो भने विचारमा लड्ने हो, प्रवृत्ति र चिन्तनसँग लड्ने हो ।’
‘कसले कुन ठाउँमा के भन्यो भन्ने सवालतिर जाने कुरा हुँदैन । अहिलेको लडाइँ फरक मतलाई निषेध गर्ने, एकाधिकारवादी निरंकुश चिन्तनका विरुद्ध हो । पार्टी निर्णय मान्ने कि नमान्ने भन्ने लडाइँ हो । जबसम्म निषेधकारी चिन्तन हुन्छ, फरक मत राख्नेलाई स्वतः निषेध हुन्छ । त्यो त घटनाक्रममा स्वतः आउने विषय हो । कुनै पनि संगठनात्मक जिम्मेवारीको निर्णय पार्टी कमिटीले नै गर्छ । कुनै कमजोरी भए पार्टी कमिटीमा समीक्षा हुन्छ, आलोचना हुन्छ, निर्णय हुन्छ, जिम्मेवारी बाँडफाँड गर्ने कुरा व्यक्तिगत लेनदेनको मामिला होइन,’ उनले थपे ।