पाठ्यक्रम प्रारूपविरुद्धको रिट टुंगो नलाग्दा लाखौँ विद्यार्थी अन्योलमा

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ बनेर कार्यान्वयनमा गएको आठ महिनापछि अधिकार क्षेत्रमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिटमा निर्णय नहुँदा लाखौँ विद्यार्थी मारमा परेका छन् । क्षेत्राधिकारको विषयमा रिटपछि सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी गरे पनि महिना दिनसम्म फैसला नहुँदा विद्यार्थी, विद्यालय र अभिभावक अन्योलमा छन् ।

२१ मंसिरका लागि तोकिएको पेसीसमेत सरेको छ । विद्यालय तहको पाठ्यक्रममा स्थानीय तहको अधिकार रहेको दाबी गर्दै भगवता अर्यालले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले १९ कात्तिकमा प्रारूप कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । पाठ्यक्रम विकास केन्द्रले अधिकार क्षेत्र मिचेर पाठ्यक्रम प्रारूप बनाएको र स्थानीय तहको अधिकार खोसिएको दाबी रिटमा गरिएको छ । 

एकपटक हेर्न नभ्याएर, अर्कोपटक रिट पक्षका कानुन व्यवसायीको आग्रहमा र २१ मंसिरमा पेसी स्थगित भएको सूचना आएको थियो । कक्षा १ र ११ मा देशभर राष्ट्रिय प्रारूपअनुसार नयाँ पाठ्यक्रम कार्यान्वयन भइरहेको छ । कर्णाली प्रदेशका चार जिल्ला र हिमाली भेगका केही विद्यालयमा गत फागुनमै शैक्षिकसत्र सुरु भई नयाँ पाठ्यक्रम लागु भइसकेको छ । अन्य जिल्लामा वैशाखयता कक्षा १ को नयाँ पाठ्यक्रम कार्यान्वयन भएको छ ।

प्रारूपअनुसार नयाँ पाठ्यक्रम र त्यसअनुसार पाठ्यपुस्तक बनाएर सरकारले विद्यार्थीसम्म पुर्याइसकेको छ । लामो समयसम्म कक्षा सञ्चालनसमेत भइसकेको छ । केही जिल्लामा नयाँ पाठ्यक्रमको पाइलटिङसमेत भइसकेको छ । नयाँ पाठ्यक्रम निर्माण र कार्यान्वयनमा मात्रै सरकारले १२ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । कक्षा ११ मा २७ वर्षपछि पहिलोपटक पूर्णरूपमा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिएको हो ।

पठनपाठनदेखि मूल्यांकनसम्म असर
उक्त प्रारूप कार्यान्वयन नहुँदा शिक्षाको राष्ट्रिय उद्देश्य कार्यान्वयन, हालसम्मको पठनपाठन र सिकाइ प्रक्रियाका साथै आर्थिक क्षति हुने विज्ञहरूको भनाइ छ । हालसम्म पढाइ भएको विषयलाई निरन्तरता दिने वा स्थगन गर्ने भन्ने अन्योल देखिएको छ । शैक्षिक सत्र सुरु भई पठनपाठन भएको र बाँकी रहेको समयमा कुन विषय पढाउने भन्ने अन्योल पनि छ । यस्तै, मूल्यांकन र प्रमाणीकरण कसरी र कसले गर्ने भन्ने अन्योल पनि देखिएको छ । भविष्यमा कसले पाठ्यक्रम बनाउने भन्ने पनि अन्योल भएको विज्ञहरू बताउँछन् ।

‘फास्ट ट्रयाकबाट निर्णय गर्नुपर्छ’
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले लाखौँ विद्यार्थीको भविष्यसँग जोडिएको पाठ्यक्रमका विषयमा सर्वोच्च अदालले फास्ट ट्र्याकबाट निर्णय गर्नुपर्ने बताउँछन् । ‘पाठ्यक्रमको विषयमा निर्णय नहुँदा शिक्षण सिकाइ र मूल्यांकनमा असर पर्छ,’ भण्डारीले भने, ‘लाखौँ विद्यार्थीसँग जोडिएको विषयमा अदालले पनि फास्ट ट्र्याकबाट निर्णय हुनुपर्छ ।’ सर्वोच्चले छिट्टै अन्योल अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

संविधान र ऐनको व्यवस्थाअनुसार प्रारूप तयार गरी कार्यान्वयनमा लगेको शिक्षा मन्त्रालयका अधिकारीहरूको दाबी छ । पाठ्यक्रम विकास केन्द्रले संविधानको अनुसूची ९ अनुसार शिक्षा साझा अधिकार क्षेत्रभित्र रहेको र त्यसमा शिक्षासम्बन्धी कानुन, निर्देशिका, मार्गदर्शन, प्रारूप आदि संघले बनाउने प्रावधानअन्तर्गत राष्ट्रिय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन गरेको दाबी गर्दै आएको छ ।

सरकारले ल्यायो ई–लर्निङ एप
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इ–लर्निङ मोबाइल एप सञ्चालनमा ल्याएको छ । कक्षा–१० सम्मका विद्यार्थीका लागि पाठ्यसामग्री राखेर मन्त्रालयले ‘ई–क्लास नेपाल’ नामक मोबाइल एप विकास गरी सञ्चालनमा ल्याएको हो । विद्यार्थीहरूलाई सरल ढंगबाट पाठ्यसामग्रीको खोज र अध्ययन गर्न सक्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विकास गरी टेलिभिजनबाट प्रसारण गरिएका सबै पाठ तथा लर्निङ पोर्टलमा रहेका पाठ्यपुस्तक मोबाइल एपमार्फत अझ सरल ढंगबाट अध्ययन गर्न मिल्ने मन्त्रालयको भनाइ छ । शिक्षकहरूका लागि पनि उपयोगी हुनेगरी विषयगत कक्षागत शिक्षक निर्देशिका र पाठ्यक्रम एपमा समावेश गरिएको छ ।

सुझावित समाचार