मुख्यमन्त्री पौडेलको वडामा २६ करोडको पुल निर्माण गरिने

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिका– ११ स्थित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निजी निवास रहेको क्षेत्रमा २६ करोडको पुल निर्माण गरिने भएको छ । हेटौँडा–११ नवलपुर र १२ पदमपोखरी जोड्ने पक्की पुलको बिहीबार मुख्यमन्त्री पौडेलले शिलान्यास गरेका छन् । 

मुख्यमन्त्रीको आफ्नै वडामा बन्ने पुलको लागत २६ करोड ४१ लख ८७ हजार अनुमान गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको योजनामा निर्माण सुरु गरिएको पुल दुई सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइको रहनेछ । 

दुई वर्षभित्र निर्माण सक्ने गरी मुख्यमन्त्री पौडेलकै पहलमा योजना अघि सारिएको मन्त्रालयले जनाएको छ । पुल निर्माणको ठेक्का एलिट कन्स्ट्रक्सन काठमाडौंले पाएको छ । 

नवलपुल–पदमपोखरी जोड्ने पुल नहुँदा त्यस क्षेत्रका सर्वसाधारणले मुख्यबजार आउन करिब १ घन्टाको यात्रा गर्नुपर्ने बाध्यता थियो । त्यस क्षेत्रका सर्वसाधारणले १५ वर्ष अघिदेखि पुल निर्माणको माग गर्दै आएका थिए । 

विकासका आयोजना प्राथमिकताका आधारमा निर्माण हुनेछन्– मुख्यमन्त्री
मुख्यमन्त्री पौडेलले पुलको शिलान्यास गर्दै बागमती प्रदेश सरकारले अघि सारेका विकासका आयोजनाहरू प्राथमिकताको आधारमा निर्माण गरिने दाबी गरे । उनले प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका विकासलाई क्रमशः अघि बढाउने हुँदा सबै क्षेत्रबाट सहयोग गर्ने आग्रह गरे । ‘सहरीकरण र समानुपातिक रूपमा प्रदेशभर विकासका आयोजनाहरू प्राथमिकताका आधारमा निर्माण भइरहेका छन्,’ उनले भने, ‘प्रदेश गौरवको आयोजनाको कामहरूसमेत सुरु भइसकेका छन् ।’ 

भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले मागका आधारमा खानेपानी, पक्की पुल, सडक र विद्युतीकरणतर्फ विशेष ध्यान दिइरहेको दाबी गरे ।

सुझावित समाचार