पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले शुक्रबारदेखि १५ शय्याको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सुरु भएसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् ।
सेवा सञ्चालन गर्न नगरकै तर्फबाट अस्थायी रूपमा संरचना निर्माण गरी कामको सुरुआत गरिएको नगरप्रमुख लालबहादुर महताराले जानकारी दिए । संघीय सरकारको एक करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै सुरु हुने प्रमुख महताराले जानकारी दिए ।
महताराले केही दिनमै चिकित्कसको विज्ञापन गरी अस्पतालमा सेवा दिइने जानकारी दिए । अहिले सदरमुकामस्थित जिल्ला अस्पतालबाट चिकित्सकलाई ल्याएर सेवा दिन लागिएको छ । एकजना मेडिकल अधिकृत, दुईजना स्टाफ नर्ससहित १५ जना कार्यरत रहनेछन् । ल्याब, एक्सरे सेवासमेत सञ्चालनमा आउने बताइएको छ ।
यसैबीच, स्वास्थ्य राज्यमन्त्री नवराज रावतले तीन सय ९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माण गर्न सरकारले काम सुरु गरिसकेको बताए । १५ मंसिरमा सबै स्वास्थ्य संस्थाको उद्घाटन एकैपटक गरिने मन्त्री रावतले जानकारी दिए ।
देशैभरिमा छेडागाड नगरपालिकाले पहिलोपटक नगर अस्पताल उद्घाटन गरेर सबैलाई उछिनेको छ । १५ शय्याको अस्पतालमा १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले जानकारी दिए ।