अध्यक्षले अनियमितता गरेको भन्दै हज समितिका सदस्यहरूद्वारा उजुरी दर्ता

बुधबार, १० मंसिर, २०७७
डिजिटल संस्करण

हज समितिका अध्यक्ष शमशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरूले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् ।

गृह मन्त्रालयमा उजुरी दर्ता गराएका समितिका सदस्यहरूले मंगलबार मुस्लिम आयोगमा समेत ध्यानाकर्षण गराएका छन् । 

मुस्लिम आयोगमा पुगेका सदस्यहरूले अध्यक्ष मियाँलाई कारबाहीका लागि सहयोग गर्न भन्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् । 

हज समितिका सदस्य नजिबुल्लाह अन्सारीले गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र संवैधानिक मुस्लिम आयोगमा अध्यक्ष मियाँले आर्थिक अनियमितता गरेको सम्बन्धमा प्रमाणसहित उजुरी दिएको बताए । 

अध्यक्ष मियाँले हजयात्रामा जाने हाजीहरूको व्यवस्थापनमा करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोप सदस्यहरूले लगाएका छन । 

हाजीहरू बस्नका लागि भवन व्यवस्थापन, खाना व्यवस्थापन, हवाई यात्रालगायतमा अनियमितता भएको उनीहररूको भनाइ छ । 

हजयात्रामा जानेहरूबाट अध्यक्ष मियाँले प्रतिदिन १२ रियालभन्दा बढी रकम लिएको आरोप समितिका सदस्य नजिबुल्लाह अन्सारीले लगाए । 

उनले अध्यक्षले विभिन्न विषयदेखि हजयात्राको सन्दर्भमा रकम अनियमितता गरेकाले छानबिन गरी कारबाहीको माग गर्दै उजुरी दिएको बताए । 

हजयात्राका लागि राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको १५ करोड रुपैयाँ ब्याज र कमिसनको लोभमा सनराइज बैंकमा सारेको आरोपसमेत समितिका सदस्यहरूले लगाएका छन् । 

उनीहरूले अध्यक्ष मियाँलाई तत्काल हज समितिको अध्यक्षबाट हटाई कारबाही गर्न माग गरेका छन् ।

सुझावित समाचार