महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेकाे छ ।
६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याकाे विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका एकजनाकाे मृत्यु भएपछि सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे हाे ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार पूर्वमा वडा नं. १ को रातो खोला, पश्चिममा वडा नं. ५ को माईस्थान, उत्तरमा वडा नं. ३ को पाटु र दक्षिणमा वडा नं. ८ को क्वार्टर चोकमा निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाको अवधिभर यस क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाइने छैन। निषेधाज्ञाकाे अवधिमा राजमार्ग भने सुचारु रहने प्रमुख जिल्ला अधिकारी कटुवालले बताएका छन् ।
यो पनि पढ्नुहोस् :
बर्दिबास घटना : प्रहरीको गोली लागि घाइते बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु
महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या : प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले चलायो गोली