गजमहाराजले किन उद्दण्ड मच्चाइसिन्छ ?

मंगलबार, ९ मंसिर, २०७७
डिजिटल संस्करण

ऐतिहासिक पृष्ठभूमि

विश्वमा दुई प्रकारका हात्ती पाइन्छन्– एसियाली र अफ्रिकी । नेपालमा पाइने हात्तीलाई एसियाली हात्ती भनेर चिनिन्छ । एसियाली हात्ती विश्वमा १३ देशमा करिब ५० हजारको संख्यामा जंगलमा रहेका छन् । भारतमा मात्र एसियाली हात्ती ३० हजारको हाराहारीमा रहेका छन् भने विश्वमा करिब १५ हजार हात्ती घरपालुवा अवस्थामा रहेका छन् । नेपालमा करिब दुई सयको संख्यामा जंगली हात्ती र त्यही हाराहारीमा घरपालुवा हात्ती रहेका छन् भने करिब एक सयदेखि १५० को संख्यामा बर्सेनि भारतबाट नेपालमा बसाइँ सरी आउने र फर्किने गरेको अभिलेखहरू रहेका छन् ।

राणाशासनकालमा बच्चा तथा अर्धजवान जंगली हात्तीलाई पक्राउ गरी तालिम दिई कज्याई घरपालुवा बनाउँथे । घरपालुवा हात्तीलाई भालेलाई गज वा प्रसाद र पोथीलाई कली भन्ने प्रचलन छ । हाल निकुञ्ज आरक्षअन्तर्गत हात्तीसारमा पालन प्रजनन गरिएका यी हात्तीबाट जन्मेका बच्चाको नामकरण राजसंस्था रहुन्जेल राजपरिवारका सदस्यहरूको नामबाट नामकरण हुने प्रचलन थियो । जस्तै, त्रिभुवनकली, महेन्द्र गज, वीरेन्द्रप्रसाद, ऐश्वर्यमाला, दीपेन्द्रगज, श्रुतिकली, ज्ञानेन्द्रप्रसाद, पारस गज, हिमानीकली आदि । तर, सबै जंगली हात्तीलाई त्यस्ता नामले चिन्न र नामकरण गर्न सम्भव छैन भने पछिल्लो समयमा चितवन तथा पर्साका गाउँबस्तीमा र चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा नियमित देखा परिरहने कारणले केही जंगली भाले हात्तीलाई रोमियो, रोनाल्डो, गणेश, नाना पाटेकर, ध्रुवे र गोविन्देजस्ता नामले चिनिने गरेको छ । यिनले चितवन निकुञ्जका पाल्तु पोथी हात्तीका लागि ब्याडे हात्तीको रूपमा प्रयोग भएका छन्, जसले बच्चा प्रजनन गर्नमा ठूलै सहयोग गरेका छन् । समग्रमा जंगली हात्ती भालेलाई मत्ता÷गज, कतैकतै गजराज, गजमहाराज, पोथीलाई ढोई र बच्चालाई छावा भन्ने गरिन्छ । 

ध्रुवे गजमहाराज

नेपालमा राणाशासनकालमा देशमा गरिबीको जर्जर अवस्था रहेको थियो । देशको आर्थिक अवस्था टार्न चितवनको जंगलका ठूलो मात्रामा सालका काठ, वन्यजन्तुको आखेटोपहार (वन्यजन्तुहरूको जीवित वा मृत शरीर वा चिन्न सकिने अवस्थामा रहेको अंगप्रत्यंग र त्यसबाट बनेका समानसमेत) भारततर्फ निकासी गरिन्थ्यो । देशको मुख्य आयस्रोतको ठूलै हिस्सा हात्ती समाई भारत निकासीबाट हुने गर्दथ्यो । जसले गर्दा नेपालबाट करिब–करिब जंगली हात्ती हराइसकेको अवस्था थियो । सन् १९८० तिर केही जंगली हात्ती कोसीटप्पु वन्यजन्तु आरक्षमा फाट्टफुट्ट रूपमा देखा परेका र सो हात्तीहरू आसामबाट आएको विश्वास गरिन्छ । त्यसपछि क्रमिक रूपमा बढ्दै गएर चितवनमा पनि हात्ती देखा पर्न थाले । सम्भवतः यी हात्तीको संख्या आसामको हात्तीसँग जोडिएको छ । चितवनका हात्तीहरू दाउन्ने त्रिवेणी कटेर पश्चिम गएका छैनन्, तर पनि बर्दियामा जंगली हात्तीको राम्रो उपस्थिति रहेको छ । बर्दियाभन्दा पश्चिमको हात्तीको संख्या भारतको करवेट राष्ट्रिय निकुञ्जको हात्तीसँग जोडिएको छ र यी हात्ती करवेटको हात्तीसँग मिश्रित भएको विश्वास गरिन्छ ।

राणाशासनकालमा राणा प्रधानमन्त्रीहरूले नेपालको चारकोसे झाडीमा हिउँदभरि आफू पनि सिकार खेल्थे, अन्य विदेशी विशिष्ट पाहुनालाई समेत बोलाई सिकार खेलाउँथे । तत्कालीन समयमा अर्धतन्नेरी हात्तीलाई जंगलबाट खेरा अर्थात् सबैतिरबाट बीचमा पारी ठूलो भाले हात्तीको मद्दतबाट पक्राउ गरी मुख्यतया सिकारका लागि तालिम दिई कज्याउने गरिन्थ्यो । सिकार यति भव्य हुन्थ्यो कि सन् १९२१ मा बेलायतका राजकुमार प्रिन्स अफ वेल्स सिकारका लागि सवार गर्दा ४२८ हात्तीको व्यवस्था गरिएको थियो । सिकारका लागि प्रमुख जनावरमा बाघ, गैँडा, चितुवा, भालु र गोही नै थिए । सिकारलाई चारैतिरबाट हात्तीले घेरिदिने र हात्तीको हौदामा रहेका राजा, प्रधानमन्त्री वा विशिष्ट पाहुनाले सिकार गर्ने प्रचलन हात्तीबाटै गर्ने गरेको उदाहरण राणाकालदेखि नै सुरुवात भएको पाइन्छ ।

वि.सं. १९०८ मा राणा प्रधानमन्त्री जंगबहादुरले राप्ती उपत्यकाबाट जंगली हात्ती समाती काठमाडौं लगेका थिए । राजसंस्थाको कालमा पनि निकुञ्जमा सिकार गर्ने परम्परा कायम नै थियो, जसका लागि जंगली हात्ती पक्राउ गरी तालिम दिने परम्परा कायम नै थियो, तर अहिले आएर यो परम्परा हराएर गयो । राजा महेन्द्रका पालामा समेत रामभोरीभाटा, सिकारीवास, माडी र राप्तीदुन क्षेत्रबाट समेत हात्ती पक्राउ गरिन्थ्यो । परापूर्वकालदेखि नै हात्तीलाई मुख्य यातायातको साधनको रूपमा प्रयोग गर्दथे । तराईका अधिकांश जिल्लामा हुनेखाने साहु महाजनहरूले ०३० सालसम्म हात्ती पाल्ने गरेको पाइन्थ्यो भने हाल आएर साहु महाजनसँग विरलै हात्ती रहेको देखिन्छ ।

नेपालको पूर्वदेखि पश्चिमसम्म तराईको समथर भू–भाग र यसको आसपासमा रहेको चुरे क्षेत्रमा पाइने हात्ती देख्दैमा डरलाग्दो भीमकाय शरीर र झन्डै सरदर १०–११ फिट अग्लाइ भएको हुन्छ, तर चुरे पहाड हिँड्न खप्पिस हुन्छन् । देख्दैमा ठूलो अजंगको अग्लो देखिने हात्तीको शरीरको उचाइ÷अग्लाइ आफ्नो पैतालाको गोलाइको दुई गुणा बराबरको हुन्छ । भाले हात्तीका बाहिर देखिने दुईवटा लामा–लामा दाह्रा हुन्छन् भने पोथीमा दाह्रा हुँदैन, तर केही पोथीमा स–साना दाह्रा हुन्छन् । कुनै–कुनै भालेमा दाह्रा हुँदैन, जसलाई मकुना भन्ने चलन छ । हात्तीको देख्नेभन्दा पनि सुँध्ने र सुन्ने क्षमता तेज हुन्छ । हात्ती समूहमा बस्ने प्राणी हो । समूहमा के कति रहन्छन् भन्ने कुराको निर्धारण वासस्थान र चरिचरन क्षेत्रको आकार, आहारा (घाँसपात, जंगली फलफूल), पानीका स्रोतमा भर पर्दछ । चरिचरन क्षेत्र सानो भयो, आहारको कमी भयो र पानीका स्रोतको कमी भयो भने स–साना झुन्डमा पनि हात्ती विभाजित हुन्छन् । सामान्यतया सानो समूहमा न्यूनतम आठवटासम्मको झुन्ड र ठूलो झुन्डमा ८० वटासम्मको पनि भेटिएको छ, जसको नेतृत्व समूहकै हजुरआमाले गरेको हुन्छ । कतिपय अवस्थामा मत्ता (गज) हात्ती समूहलाई छोडेर एक्लै हिँड्ने गरेको देखिन्छ ।

मानव र हात्तीबीच अन्तद्र्वन्द्व

यस पृथ्वीमा मानिस आउनुभन्दा लाखौँ वर्षअगाडिदेखि नै हात्तीहरू आफ्नो अस्तित्वमा आइसकेका थिए । पछि यिनीहरूले बाली खाइदिने हुनाले खासगरी किसानले हात्तीलाई शत्रुको रूपमा लिन थालेका हुन् । कहिलेकाहीँ सञ्चारमाध्यमबाट सुनिन्छ, फलानो ठाउँमा हात्ती आयो, त्यसले उद्दण्ड मच्चायो, कतै चितुवाले र कतै भालुले दुःख दियो । हुन सक्छ, ती ठाउँमा पहिला जंगल थियो होला, उनीहरूका पुर्खा आहारका लागि त्यही ठाउँबाट ओहोर–दोहोर गर्थे होलान् र अहिले त्यहाँ बस्ती बसिसकेको अवस्था होला । बाबुबाजेले हिँड्ने गरेको बाटोमा सन्ततिले पहिल्याउँदै आउनु उनीहरूको प्राकृतिक स्वभाव हो । हात्तीले बर्सेनि बसाइँ सर्ने गरेको कारण तथा धान र मकैको सिजनमा जंगलबाट बाहिरको क्षेत्रमा नियमित रूपमा विचरण गर्ने गरेको कारणले धेरै ठूलो संख्यामा जनधनको क्षति हुने गरेको छ । अभिलेखअनुसार बर्सेनि १० जनाभन्दा बढी मानवीय क्षति हात्तीको कारणले हुने गरेको छ भने तीनदेखि पाँचवटा हात्ती बर्सेनि मानवीय क्रियाकलाप तथा प्रतिशोधका कारण मारिने गरेका छन् । वासस्थानको विनाश, चुरे क्षेत्रको नियमित दोहन, वासस्थानको क्षयीकरणका कारण बर्सेनि मानव वन्यजन्तु द्वन्द्व बढ्दै गइरहेको छ, जसले गर्दा मानवीय क्षतिसँगसँगै ठूलै परिमाणमा बालीनाली क्षति, घरगोठ क्षति र सम्पत्तिको समेत क्षति हुने गरेको र मानव हात्ती द्वन्द्व न्यूनीकरणका लागि सरकारले ठूलो धनराशि खर्च गर्ने गरेको भए पनि समस्या घट्नुको सट्टा झन् बढ्दै गएको छ ।

रोनाल्डो गजमहाराज

समस्या र समाधानका उपाय

हामीलाई लाग्छ, यो मेरो घर, यो मानवीय बस्तीमा किन हात्ती आएर दुःख दियो ? यसलाई नियन्त्रण गर्नुप¥यो । यसकै निहँुमा सडक आन्दोलन, धर्ना आदि हुने गरेको तपाईं हामीले देखेको भोगेको वा विभिन्न पत्रपत्रिकाबाट सुनेकै हो । पानीमुनि बस्ने माछासँग सिँगौरी खेल्ने हाम्रो नियति नै बनिसकेको छ । हामी मानवअधिकारको मात्र कुरा गर्ने गर्छौं र वन्यजन्तुको अधिकारको कुरा बिर्र्सन्छौँ, के यिनीहरूको यस पृथ्वीमा बाँच्न पाउने अधिकार हुँदैन र ? के यो संसार मान्छेको मात्र हो ?

जनावरलाई पनि माया दियौँ भने उसले पनि माया दिन्छ । तपाईंको न्यानो माया पाएकोे बिरालोलाई ढोका थुनेर कुट्नोस् त, के हबिगत देखाइदिन्छ, उसले ! हो, त्यस्तै हात्तीलाई भएको हुन्छ । हात्ती बुद्धिमान् र शान्तिप्रिय प्राणी हो । हात्ती शाकाहारी प्राणी हो, उसको आहार वनजंगलमा हुने घाँसपात र फलफूल नै हो, अर्थात् फलफूलको हकमा पाकेको बेलसमेत खान मन पराउँछन् । त्यही आहारको अभावमा खोजी गर्दै जाँदा ऊ गाउँघरनजिकको खेतीबालीमा चर्न पुग्छ, त्यहाँ उहिले उसको घर थियो, अहिले मानवको घर भएको छ । ऊ गाउँमा घर भत्काउन, मान्छे मार्न गएको हुँदैन र उसलाई यो रहर पनि हुँदैन । हात्ती मानिसको संसर्गमा बस्न रुचाउँदैन । त्यसैले गाउँबस्तीमा हात्ती प्रायः राति निस्कन्छ । त्यस समयमा गाउँलेहरू वल्लो घर पल्लो घरबाट हो.. हो.. हो... गरी कोकोहोलो गर्ने, तर्साउने, हात्तीलाई ढुंगा हान्ने, आगोको मुस्लो उसको डढेल्नोमा झोस्ने, फालिदिने, चारैतिर टर्चलाइटको मल्याकमुलुक उज्यालो पारी हात्तीलाई तर्साइदिने कारणले हात्तीले आफू चारैतिर घेराबन्दी भएको महसुस गर्दछ । जो अगाडि पर्छ, त्यसैलाई आक्रमण गर्दछ र मान्छे मार्छ वा अंगभंग बनाईदिन्छ तथा रिस पोख्नलाई पनि घरगोठ भत्काइदिन्छ । यस्ता पीडादायी घटना हुनुमा मानव आफैँ जिम्मेवार रहेको छ ।

हामीले उसको वासस्थान मासेर मानवीय वासस्थान बनाएका छौँ । जग्गा अतिक्रमित गरेका छौँ र त्यहाँ अव्यवस्थित बस्ती बसालेका छौँ । स्कुल–कलेजको नाममा वन क्षेत्र अतिक्रमण गरेका छौँ, वन क्षेत्र मासेर खेलकुदका मैदान बनाउने, मन्दिर बनाउने र फोहर थुपार्ने, अनि वनमा मानवका कंक्रिट चिहान बनाउने तथा हात्ती ओहोरदोहोर गर्ने बाटोमा जंगल मासेर विकास निर्माणका संरचना बनाउँदै छौँ । हात्ती हिँड्ने बाटोमा कमजोर खालका विद्युत्का पोल निर्माण गरिँदा त्यसमा हात्तीले जिउ कन्याउने वा रगड्ने क्रममा पोल ढल्न पुग्दा हात्तीको ज्यानै गएका उदाहरण पनि छन् । विगत १५ वर्षको अवधिमा यस्तै घटना कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र कञ्चनरूप न.पा.स्थित पिपरा, परैमारा, सप्तरीमा मिति २०७७÷८÷६ गते हात्तीले विद्युत्को पोलमा जिउ कन्याउने क्रममा एउटा भाले गजराजको मृत्यु भएको छ । योसमेत नेपालभरिमा तीनवटा हात्तीको ज्यान विद्युत्को पोलमा परी गएको छ ।

चुरेलाई अझ बढी दोहन गर्न क्रसर उद्योग चलाएका छौँ । वैज्ञानिक वनका नाममा भएका वनजंगल फँडानीले वन्यजन्तुको घर उजाडिदिएका आदि क्रियाकलापले गर्दा हात्तीलगायत अन्य वन्यजन्तुको वासस्थानलाई खुम्च्याइदिएका छौँ । अनि हामी चिच्याउँछौँ– हात्तीले मान्छे मा¥यो, घर भत्काइदियो, उद्दण्ड मच्चायो, चितुवाले मान्छे मा¥यो आदि । हामीले गरेका गल्ती किन देख्दैनौँ ? हामी हाम्रो मात्र स्वार्थ हेर्छौं, वन्यजन्तुको स्वार्थ के छ भनेर हेर्दैनौँ, सोच्दैनौँ ! मानवको आवाज सडक, संसद् जताततै बुलन्द हुन्छन्, तर यिनीहरूको बाँच्ने आवाज कसले सुनिदिने होला ? यिनको आवाज सुनिदिने, सुरक्षा दिने, बचाउनका लागि वकालत गर्ने जिम्मेवारी निकुञ्ज, आरक्ष, सुरक्षाकर्मी÷सेना, वनका कर्मचारीको मात्र हो ? यो काममा राजनीतिक दल, राज्यका अन्य निकाय, स्थानीय तह कसैको दायित्व छैन ? तर, माथि उल्लेखित क्रियाकलापले गर्दा मानवले आफ्नो वर्तमान जीवनलाई धरापमा पारेको मात्र नभई यसमा आश्रित जीवजन्तु र आउँदो पुस्तालाई समेत जीवन धान्न नसक्ने अस्वस्थ रुखो चुरे सुम्पँदै छौँ । के यो न्यायोचित हो ? 

हात्तीले प्रायः घना बस्ती र सहरी क्षेत्रमा गएर घर भत्काउने, मानिस मार्ने गरेको कुरा त्यति सुन्नमा आएको पाइँदैन । केवल जंगलको छेउमा छरिएर रहेका गरिब मानवीय बस्तीहरूमा स–साना कमजोर अवस्थाका घरहरू हात्तीले भत्काएको र खेतीपाती खाइदिएको पाइन्छ । प्रायः गरेर सो क्षेत्रमा जनजातिहरूको बसोवास भएको र उनीहरूको परम्परा, संस्कारअनुसार घरमा घ्याम्पोमा जाँड बनाउने, रक्सी पार्ने प्रचलनले गर्दा यसको गन्धले हात्ती आकर्षित भई यसलाई हात्तीले खाने गरेको पाइएको छ । त्यस्ता क्षेत्रमा बढी मानवीयलगायत खेतको अन्नबाली, घरमा राखेको अन्न, घरगोठको हात्तीले क्षति पु¥याएको छ । छरिएर रहेका बस्तीलाई एकीकृत बस्तीमा विकास गर्न सके मानव हात्ती द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ । हाल हात्तीमा विद्यावारिधि गरिरहेका अशोक रामका अनुसार विगत २० वर्षदेखि नेपालभरिमा चोरी सिकारीबाट पाँच र प्रतिशोध भावनाले १७ हात्ती मारिएका छन् । ६० भन्दा बढीको प्राकृतिक कारणले मृत्यु भएको छ भने लगभग दुई सयजना मान्छेलाई हात्तीले मारिसकेको अवस्था रहेको छ । यो संख्या सडक दुर्घटनाको तुलनामा एकदमै न्यून हुन आउँछ । योभन्दा बढी बर्सेनि सडक दुर्घटनाबाट मानिसले ज्यान गुमाइरहेका हुन्छन् । 

पछिल्लो घटनाक्रम हेर्दा वन्यजन्तु तस्करहरूको जमात मौलाएको जस्तो देखिन्छ । चितवन राष्ट्रिय निकुञ्जको कुरा गर्ने हो भने चालू आ.व.को कात्तिकसम्म चारवटा गैँडा चोरी सिकारीले मारेको अवस्था छ । यही ०७७÷६÷२२ गते चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु चिकित्सक टोलीले झापास्थित बाउनडाँगीमा डार्ट गरी भाले हात्तीलाई बेहोस पारी उपचार गरेर सकुशल छोडिएकोमा त्यसको एक हप्तापछि दसैँको मौका छोपी तस्करले हात्ती मारी दाह्रा काटी लगेको छ । पशु स्वास्थ्य प्राविधिक टेकनाथ दाहालका अनुसार सो हात्तीको दाह्रा ८० से.मि. लम्बाइका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार हात्ती संरक्षित वन्यजन्तुमा पर्छ, तर हात्तीलाई मारेमा वा घाइते बनाएमा वा यसको अंगप्रत्यंग ओसारपसार गरेमा १० लाखसम्म जरिवाना वा १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहे पनि सोउपर कारबाहीमा कमै तस्कर परेका छन् । 

हात्तीलाई हामीले जस्तो व्यवहार देखायो, उसले पनि त्यस्तै व्यवहार देखाउने गरेको पाइन्छ । हामीले हात्तीलाई ढुंगा हाने उसले पनि सुँढले ढुंगा टिपी मान्छेलाई हिर्काउँछ । हात्तीलाई माया देखाए केही गर्दैन, तर चोट पुग्ने गरी हिर्र्कायौँ वा पीडा पुग्ने खालको क्रियाकलाप देखायौँ भने मान्छेप्रति झनै आक्रामक हुन्छ । हात्ती समूहमा बस्ने प्राणी भए पनि कतिपय अवस्थामा मत्ता (भाले) एक्लो हिँड्ने गरेको भेटिन्छ । तुलनात्मक हिसाबले हेर्दा समूहका हात्तीभन्दा एक्लो भाले हात्ती बढी आक्रामक हुने गर्दछन् । यस्ता हात्तीमा आँखाभन्दा तल कञ्चटबाट तरल पदार्थ (माद) निस्कन्छ, जसलाई टेस्टोस्टेरोन हर्मोन भनिन्छ भने यस्तो अवस्थामा रहेको हात्तीलाई मात लागेको वा मस्थमा रहेको बुझिन्छ । यसले हात्तीलाई अरू हात्तीको सामान्य अवस्थाभन्दा ६० गुणा बढी उत्तेजित बनाउँछ र यस समयमा बढी मात्रामा पोथीसँगको सहवासको प्रक्रियामा सक्रिय रहन्छन् । यस्तो वेलामा भाले हात्ती सामान्यभन्दा बढी आक्रामक हुने गर्दछन् । सामान्यतया हात्ती निम्न अवस्थामा आक्रामक हुन्छन् :

- हात्तीसँग जम्काभेट भएमा वा जिस्क्याएमा वा हल्ला गरेमा,

- हात्ती आफ्नो सुरमा चरिरहेको वेलामा अचानक नजिक पुगेमा,

- बच्चा÷छावा साथमा भएको अवस्थामा,

- एक–आपसमा जुधेर घाइते भएको अवस्थामा,

- खेतीबाली खान आउँदा अगुल्टो वा आगोको मुस्लोले लाग्ने गरी हानेर धपाउँदा रिसाएर आक्रमण गर्न सक्छ ।

हात्तीकोे स्मरणशक्ति तेजिलो हुने भएकाले कुनै वेला हात्तीलाई भौतिक रूपमा पीडा हुने गरी कसैले दुःख दिएको छ भने त्यसलाई इख साँधेर बसेको हुन्छ र पछि आफ्नो अनुकूल हुनासाथ आक्रमण गर्न सक्छ र मार्ने र अंगभंग गरेको पनि उदाहरण छन् ।

आक्रमणबाट बच्ने उपाय

- हात्ती भएको क्षेत्रमा हिँड्दा चनाखो भएर हिँड्ने,

- हात्तीको संकेत पाएमा, नयाँ पाइला वा गन्ध थाहा पाएमा वा देखेमा त्यतातिर नजाने,

- हात्तीले आक्रमण गर्न खोजेमा वा गर्न आँटेमा जमिनको उकास भएको स्थानतिर वा अग्लो ढिस्कोतिर भाग्ने, किनभने हात्तीको शरीर वजनदार भएकाले ढिस्को उक्लन समय लाग्ने हुँदा मान्छेलाई भाग्न समय मिल्छ ।

- वनजंगलमा हात्तीको ताजा पाइला वा दिसा देखेमा वा रूख ढलाएको देखेमा वा हात्तीको हर्कत थाहा पाएमा सतर्क हुने र हात्ती भएको दिशातर्पm नजाने,

- जंगल जाँदा जाँड–रक्सी खाएर, पफ्र्युम दलेर, राता कपडा लगाएर जानु हुँदैन । यस्तो वेलामा हात्तीले आक्रमण गर्ने सम्भावना धेरै रहन्छ ।

- अचानक हात्तीसँग जम्काभेट भएमा आफूसित भएको टोपी, लुगा, झोला, चप्पल जो जे छ, त्यो फ्याँक्ने र नआत्तिईकन पछि हट्ने । हात्तीले लखेट्न खोजेमा बांगोटिंगो गरेर दौडने,

- हात्तीले लखेट्दा जमिनको भूगोलअनुसार भाग्ने, जस्तै– ढुंग्यान बगरतिर भाग्ने जसले गर्दा हात्तीको पैताला नरम भएकाले लखेट्न सक्दैन वा अलि छड्के परेर ओरालोतिर भाग्ने, किनभने शरीर ठूलो भएकाले शरीर ब्यालेन्स गर्न सक्दैन र लखेट्दैन वा दलदल हिलोतिर भाग्ने किनभने हात्तीको वजनदार शरीर हुने भएकाले आफू हिलोमा भासिने÷फस्ने डरले हात्ती त्यतातिर जाँदैन ।

- गाउँघरमा हात्ती देखियो भने अन्नपात, घरगोठभन्दा पहिला आफ्नो ज्यान जोगाउनेतिर लाग्नुपर्छ । अन्नको क्षतिपूर्ति राज्यले दिने व्यवस्था गरेको छ भने ज्यानको क्षतिपूर्ति कसले दिन सक्छ ? हात्तीले मान्छे मारेबापत राहतस्वरूप १० लाख र घाइते पारेमा उपचार खर्च राज्यले बेहोर्ने प्रावधान रहेको छ । त्यसैले आफू सुरक्षित हुने स्थानमा बसी हात्तीलाई गाली नगरीकन नबिच्काईकन धपाउने र सोको विकल्प नभएमा शान्त भएर धूप अगरबत्ती सल्काई हे गणेश भगवान् ! दुःख नदेऊ, तिमी आफ्नो बाटो लाग भनी प्रार्थना गर्ने । यो एउटा विश्वास हो, विश्वास लिनु पनि पर्छ । कतिपय स्थानमा यसले काम गरेको पनि छ, यस्तो प्रकृतिको घटना पंक्तिकार÷लेखक स्वयंले भोगेको हो । 

हात्ती गणेश भगवान्को रूप हो । हात्ती प्राकृतिक सुन्दरताको रूप हो । हात्ती हुनु देशका लागि सान हो, गहना हो । गौरवको विषय पनि हो । हात्ती बुद्धिमान् र शान्तिप्रिय जीव हो । हात्तीले पर्यावरण सन्तुलन कायम राख्न मद्दत गर्दछ । वनजंगलमा हात्तीको उपस्थिति हुनु नै स्वस्थ वातावरणको संकेत हो । त्यसैले हात्तीलाई वातावरणको सूचक मानिन्छ । यदि हात्ती पर्यावरणको सूचक थिएन भने यसलाई बचाइरहनुको कुनै अर्थ मान्दैनथे होलान् । त्यसैले यसको संरक्षण गर्नुपर्छ । हाम्रो जीवन पनि यसैको सेरोफेरोमा अल्झिएको हुन्छ । उखानै छ, दूध दिने गाईको लात्ती सहनुपर्छ, तर के गर्नु, सामान्य सावधानीसमेत अपनाउन नसक्दा अकल्पनीय क्षति बेहोर्नुपर्छ । 

हात्ती संरक्षणका प्रयास

परापूर्वकालमा नेपालको मेचीदेखि महाकालीसम्मको चुरे र यसको समथर भूभागको वनजंगल नै हात्तीको विचरण क्षेत्र थियो । हाल आएर हात्ती घुम्ने क्षेत्र संकुचन भई शुक्लाफाँटा, बर्दिया, चितवन, पर्सा निकुञ्ज र कोसी टप्पु वन्यजन्तु आरक्षमा सीमित हुन पुगेको छ । तर, हात्ती यी क्षेत्रमा मात्र केन्द्रीकृत नभई भारतको आसाम र पश्चिम करवेट राष्ट्रिय निकुञ्जसम्म हात्ती विचरण गर्ने गरेको पाइएकोले नेपाल भारत दुवै देशले हात्तीका वासस्थानहरू सिर्जना गर्नेतर्फभन्दा पनि मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण रणनीति ल्याएर काम भइरहेको छ ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि झापाको बाहुनडाँगीमा सोलार तारबार १८ किमि र अन्य क्षेत्र तथा निकुञ्ज आरक्षको सिमानामा गरी ५५० किलोमिटरभन्दा बढी सौर्य तारबार गरिएको छ भने स्थानीयस्तरमा युवा परिचालनसमेत गरी मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि नेपाल सरकारले प्रयास गरिरहेको छ । हात्ती संरक्षण गर्न भनेर नेपाल सरकारले बाघ, गैँडाजस्तो संरक्षणको रणनीति ल्याएर संरक्षण र व्यवस्थापनका योजनाअनुसार काम गरेको पाइँदैन । यद्यपि, नेपालमा पनि सन् २००९ मा हात्तीको व्यवस्थापन योजना बने पनि सोअनुसार काम भएको पाइँदैन । तर, भारतमा सन् १९९२ देखि नै हात्ती संरक्षण व्यवस्थापनका लागि पहिलो प्राथमिकतामा राखी प्रोजेक्ट इलिफेन्टमार्फत सरकारले ठूलो रकम विनियोजन गरी हात्ती संरक्षणका लागि काम हुँदै आएको छ । 

हालसम्म मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्नका लागि नेपालमा ३० वटा हात्तीलाई डार्ट गरी नियन्त्रणमा लिएको छ, जसले द्वन्द्व न्यूनीकरणमा सहयोग पुगेको र ११ वटालाई रेडियो कलर गरी अनुगमन गरिएको जसबाट हात्ती गाउँतिर नजिक पुग्न लाग्यो भने गाउँलेलाई पूर्वसूचना दिन सहयोग गरेको र वेलैमा सतर्कता अपनाउन सजिलो भएको छ ।

श्रीलंकामा ६ हजार हात्ती रहेका छन् र त्यहाँ मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा उदाहरणीय काम भएका छन् । स्थानीय आफैँ सक्रिय भई त्यसको नेतृत्व स्थानीय सरकारले लिएको छ । किसानको खेतबारीमा आउनबाट हात्तीलाई रोक्न सोलार तारबार गरेका छन् र सोको मर्मतसम्भार दैनिक रूपमा तारबार हेरालुले गर्ने व्यवस्था गरेका छन् । तर, नेपालमा सोलार तारबार भएको स्थानमा पनि यो स्तरको मर्मतका काम सक्रिय रूपमा नभएबाट मानव–हात्ती द्वन्द्व बढेको पाइन्छ । 

तस्बिर सौजन्य : बर्दिया राष्ट्रिय निकुञ्ज 

हात्ती संरक्षणको महŒव

हात्ती चुरे संरक्षणको सूचक हो । चुरे हात्तीको घर र मानवको भाग्यरेखा पनि हो । हात्ती संरक्षण गर्नु भनेको हात्तीका लागि होइन, मान्छेका लागि हो । चुरे संरक्षण भयो भने तल्लो तटिय क्षेत्रमा बस्ने मानवको संरक्षण हुन्छ । जसका लागि मानवलाई नभईनहुने स्वच्छ पानीको मूल संरक्षण हुन्छ, स्वच्छ हावापानीको विकास हुन्छ र उर्वरा भूमिको विकास हुन्छ । चुरे संकट हुनु भनेको त्यस वरपर र तराई समथर भूभागमा बसोवास गर्ने मानव, वन, वनस्पति र जीवजन्तुकै भविष्य संकट पर्नु हो । चुरेमा बसोवास गर्ने समुदायले राइँदाइँ गर्ने अनि तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने समुदायले बाढी–पहिरोजस्ता समस्या झेल्नुपर्ने ? हात्तीलगायत अन्य वन्यजन्तु संरक्षणलाई लक्षित गरी चुरेलाई संरक्षण गर्दा स्वच्छ पर्यावरणको दिगो संरक्षण हुने देखिन्छ ।

त्यसैले हात्ती बचाउने हिसाबले हाल संकटमा रहेको चुरे क्षेत्रलाई व्यापक रूपमा हरिलो, भरिलो, रसिलो बनाउन चुरे घाँचमा हात्तीले मुख्य आहाराको रूपमा मन पराउने जंगली वनस्पतिहरू जस्तै– कठबाँस, पीपल, शमी, जंगली केरालगायतका प्रजातिहरू लगाउनुपर्छ । जसले स्वच्छ पर्यावरणको विकास भई हात्तीलगायत अन्य विभिन्न प्रकारका वन्यजन्तुहरूका लागि पनि पानीका स्रोत सिर्जना हुने र हात्ती यस्तै वासस्थानमा अल्मलिने वातावरण हुने हुँदा हात्तीबाट हुने जनधनको क्षतिको न्यूनीकरणमा सहयोग पुग्ने देखिन्छ भने अर्को पाटोबाट यसलाई हेर्दा यसले पर्यावरण संरक्षणमा चौतर्फी फाइदा पु¥याउँछ, जस्तै– भू–क्षय नियन्त्रणमा सहयोग पु¥याउने, भूमि सिँचन भई पानीको भू–सतह माथि आउनाले सुक्खायाममा चापाकल, कुवा, इनार नसुक्ने, जमिनमा चिसोपना वृद्धि भई भूमि उर्वरातर्फ उन्मुख हुने हुँदा यसले पर्यावरण संरक्षणमा फाइदा पु¥याउने देखिन्छ ।

खासगरी, यो उदाहरण चितवनभन्दा पनि पूर्वी तराईका जिल्लाहरूमा बढी प्रभावकारी रूपमा लागू गर्नुपर्ने देखिन्छ । किनभने, हामी चितवनवासी भाग्यमानी छौँ । चितवनको चुरे निकुञ्जले गर्दा प्रभावकारी संरक्षण भएकोले यस्ता खालका समस्या न्यून नै रहेका छन् । त्यसैले भावी सन्ततिलाई के सिराहा–सप्तरीको जस्तो खुइलिएको चुरे जिम्मा लगाउने हो ? के चितवनको जस्तो हरिलो, भरिलो, रसिलो चुरे जिम्मा लगाउन सकिन्न ? एउटै भूगोलको चितवनको चुरे विश्वसामु चिरपरिचित छ । यो त्यसै भएको होइन, चुरे संरक्षणका लागि यहाँ राज्यको ठूलै लगानी रहेको छ भने जनताको ठूलै मिहिनेत पसिना परेको छ र बर्सेनि हात्ती, गैँडा, बाघका कारणबाट कैयौँले ज्यानको आहुति दिएका छन् । त्यसैले खुइलिएको रुखो चुरेलाई निकुञ्ज÷आरक्ष वा संरक्षण क्षेत्रको मोडालिटीमा तत्काल संरक्षण गर्न सकियो भने भविष्यमा भावी पिँढीले साराप्ने थिएनन् कि ?

अबको विकास भनेको पर्यावरण क्षयीकरण नगरी विकास गर्ने वेला आएको छ, जसका लागि जहाँ जे जस्तो अवस्थामा रहेका जैविक विविधता छन्, त्यसको संरक्षण गरी वातावरणमैत्री जीवन जिउनु नै सबभन्दा श्रेयष्कर हुन्छ । विकास नभए पनि मानिस बाँच्दछ, तर पर्यावरण स्वस्थ भएन भने मानिस पनि स्वस्थ भएर बाँच्न कठिन हुन्छ । प्रकृतिलाई विनाश गरेर गरिने विकासको लहर चलेको छ, जसको कारणले बाढी–पहिरोबाट सालिन्दा सयौँको ज्यान गइरहेको छ । यसको समीक्षा गर्ने वेला आएको छ ।

काठमाडौंमा विकासको के कमी छ, तर त्यहाँ जलप्रदूषण, फोहोर–दुर्गन्ध प्रदूषण, ध्वनि प्रदूषण र वायु÷हावा प्रदूषणको तह मापदण्डभन्दा माथि रहेको छ भन्ने कुरा विज्ञहरूबाटै आएको छ । विकास त गरौँ, तर त्यसबाट जनमानसकोे स्वास्थ्यमा उव्जने समस्याको ख्याल गरिदैन वा नियन्त्रण गरिँदैन भने यस्ता खालको विकासको के अर्थ ? त्यसैले वेलैमा वन र वन्यजन्तु संरक्षण गरी हात्तीजस्ता भीमकाय शरीर भएका जनावरलाई संरक्षण गर्न सकियोस्, जसबाट मानवले स्वस्थ वातावरणमैत्री जीवन जिउन सकून् । यस पृथ्वीमा बाँच्ने अधिकार उनीहरूलाई पनि छ । बचाउने कर्तव्य तपाईं–हाम्रो हो । होइन भने कोरोना कहर २०१९ भन्दा पनि कठिन दिन मानवका लागि नआउला भन्न सकिँदैन । 

लेखक वेदबहादुर खड्का चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा सहायक संरक्षण अधिकृत पदमा कार्यरत छन् । 
 

सुझावित समाचार