डोजरको टायरको ट्युबमा हावा भर्ने क्रममा उक्त ट्युब पड्किँदा जुम्लामा एकजनाको मृत्यु भएको छ ।
कनकासुन्दरी गाउँपालिका– २ उल्खेस्थित एक ग्यारेजमा ट्युबमा हावा गर्ने क्रममा सोही वडाका ५९ वर्षीय धनराम रावतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार टायरमा हावा भर्दै गर्दा अकस्मात् ट्युब पड्किएपछि घटनास्थलमै रावतको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शवको सनाखत भइसकेको छ । शवलाई पोस्टमार्टमका लागि सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।