दीपावली र छठ नजिकिएसँगै सिराहामा माटो र बाँसका सामग्रीको बिक्री बढेको छ । दीपावलीमा माटोको दियो, डिबियासँगै गाग्री (घैला)को प्रयोग बढी हुन्छ भने छठमा गाग्री, दियो, ढकना, हात्तीजस्ता माटोले बनेका सामग्री प्रयोग हुन्छन् ।
बाँसले बनेका ढकिया, सुपा, कोनिया, डगरीजस्ता सामग्री छठ पर्वमा उपयोग हुँदै आएकाले माटो र बाँसले बनाएका यस्ता सामग्री हाटबजारमा बढी बिक्री भइरहेको सिराहा नगरपालिकाका व्यवसायी सुरेश मल्लिकले बताए । माग बढ्न थालेपछि सिराहा नगरपालिका–११, भलुवाहीमा माटोका सामग्री बनाउँदै आएका प्रदीप पण्डित यतिवेला बेफुर्सदिला छन् । ‘कोरोनाले ठप्प भएको माटोको सामग्रीको व्यापार दीपावली र छठले तंग्रिएको छ,’ पण्डितले भने, ‘गत वर्षभन्दा महँगोमा माटोका सामग्री बेच्दै आएको छु ।’
छठमा चाहिने माटोका सामग्री ३ सयदेखि ३ सय ५० रुपैयाँमा बेच्दै आएको पण्डितले बताए । यता बाँसका ढकिया ३ सय ५०, सुपा २ सय, डगरी–कोनिया १ सय ५० रुपैयाँमा बेच्दै आएको सिराहा नगरपालिका–१९ का प्रमोद मल्लिकले बताए । जिल्लाको मुख्य बजार क्षेत्र सदरमुकाम सिराहा, मिर्चैया, लाहान, गोलबजार र ग्रामीण बजारहरू कल्याणपुर, सुखीपुर, कर्जन्हा, बरियारपट्ट, भगवानपुरलगायतका बजार क्षेत्रमा माटो र बाँसका सामग्रीको बिक्री बढेको स्थानीय व्यवसायीहरू बताउँछन् । माटोका सामग्री विशेष गरी कुमाल समुदाय र बाँसका सामग्री डोम समुदायले तयार पारेर दीपावली र छठमा बेच्दै आएका छन् ।