सर्लाहीकाे चक्रघट्टा गाउँपालिका– ५ गोइयाही गाउँकी ५५ वर्षकी सुनिता महतो हँसिलो मुहार लगाउँदै भर्खरै बनेको नयाँ घरको सफाइमा जुटेकी थिइन् ।
चाडबाडका वेला नयाँ घर बनेकाेमा उनकाे खुसी स्वाभाविक थियो । गएकाे वर्षामा घर भत्किएपछि उनीहरू बिचल्लीमा परेका थिए । चार वर्षअघि श्रीमान् राजेन्द्रको निधन भएपछि सातजना छोराछोरीको लालनपालन गर्दै उनी झुपडी घरमा बस्ने गर्थिन् । कमाउने श्रीमान्कै निधन भएपछि उनीहरूलाई हातमुख जोर्नै समस्या भयो । दैनिक मजदुरी र छोराछोरीले मागेर ल्याएको दालचामलले छाक टार्नु उनीहरूको बाध्यता बन्यो ।
उनको दयनीय अवस्थाबारे जानकारी पाएपछि पूर्वसांसद नरेन्द्र साहले आफ्नै खर्चमा उनको घर बनाइदिएका हुन् । ‘घर भत्केपछि म निराश भएको थिएँ,’ शनिबार घर हस्तान्तरण भएपछि सुनिताले भनिन्, ‘आफूले घर बनाउन सक्ने अवस्था नै थिएन, के खाने भन्ने समस्या भएको वेला घर बनाउने कुरा काबुबाहिरको थियो ।’
पूर्वसांसद साहले उनको बिचल्लीबारे थाहा पाएर घर बनाउन सहयोग गरेकोमा उनले खुसी जनाइन् । ‘हामीजस्तो गरिबको समस्या सुनेर नेताले मद्दत गर्छन् भन्ने थाहा थिएन,’ उनले भनिन्, ‘नेता त धेरै देखियो, तर सहयोग गर्ने भेटिएको थिएन । अहिले आफ्नै घर हुँदा निकै खुसी लागेको छ ।’
शनिबार सुनिताको घर पुगेका पूर्वसांसद साहले परिवारका सबै सदस्यलाई नयाँ कपडा पनि दिए ।
साहले केहीअघि सञ्चारमाध्यमबाट सुनिताको परिवारको समस्याबारे जानकारी पाएपछि सहयोग गरेको बताए । ‘मानिसले मानवीय भावना छाेड्नुहुँदैन,’ साहले भने, ‘सक्नेले समस्यामा परेकालाई सहयोग गर्दै गए देशकै विकास हुन्छ ।’