नागदह संरक्षण गर्ने १० करोडको गुरुयोजना अलपत्र

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

अतिक्रमण र ढलले पुरिँदै ऐतिहासिक नागदह, संरक्षण नहुँदा १५ हजारभन्दा बढी माछाका भुरा मरे

पानी सुकेर संकटमा परेका काठमाडौं तथा भक्तपुरका पोखरी जोगाउन स्थानीय सरकार जुटिरहेका छन् । रानीपोखरीजस्तै पानी सुकिसकेका, सुक्न थालेका र अतिक्रमणको चपेटामा परेका दर्जनौँ पोखरीलाई पुनर्जीवन दिने काम भइरहेको छ । तर, ललितपुरको धापाखेलमा रहेको नागदह (पोखरी)मा भने पर्याप्त पानी भए पनि संरक्षण हुन सकेको छैन । 

प्राकृतिक सुन्दरताले भरिएको यो पोखरीमाथि मानिसहरूको आक्रमण बर्सेनि बढेको–बढ्यै छ । पोखरीको सुन्दरतामा रमाउन आउनेहरूबाट लाखौँ रुपैयाँ कमाउने रिसोर्ट र होटेलहरू पोखरीभित्रै पस्न थालेका छन् । स्थानीयले पोखरीमै लुगा धुने, नुहाउने गरिरहेका छन् । त्यस्तै, वरिपरिको बस्तीबाट निस्केको ढल पोखरीमै मिसिन्छ, हिलो, फोहोर र जथाभावी उम्रिएका वनस्पतिले पोखरी कुरूप बनेको छ । पोखरीमा भएका हजारौँ माछा मरेपछि यहाँ वरपरको वातावरण दुर्गन्धित बनेको छ । सहरको भिडबाट छुट्कारा पाउन यहाँ पुग्नेहरू नाक थुनेर फर्किन बाध्य छन् । 

१५ हजारभन्दा बढी माछा मरे
पोखरीमा माछापालन पनि गरिएको छ । पोखरीको अवलोकनमा आउनेले माछा ल्याउने र छाड्ने गर्छन् । धार्मिक महत्वको यो पोखरीका माछा खान भने पाइँदैन । तर, यस वर्ष भने यो सिजनमा १५ हजारभन्दा बढी माछा मरेका छन् । स्थानीय श्याम राना भन्छन्, ‘केही महिनाअघि एकजना व्यक्तिले झन्डै डेढ लाख भुरा छाड्नुभएको थियो, अहिले ती सबै मरे । मरेका माछा व्यवस्थित नगर्दा टोल नै दुर्गन्धित भयो ।’ 

माछा मर्न थालेपछि दिनदिनै स्थानीयले सफा पनि गरे । तर, सबै मरेका माछा निकाल्न समस्या भएको उनले बताए । ‘नियमित सरसफाइ छैन, माटो र हिलोले भरिएको छ, त्यसैले पनि माछा मरेका होलान्,’ उनी भन्छन्, ‘माथि एउटा औषधी उद्योग पनि छ, त्यहाँको ढलसमेत यही आएर मिसिएको देखिन्छ, सायदै त्यसको कारण पनि माछा मरेको हुन सक्छ ।’ पोखरीमा त्यतिका ठूलो संख्यामा माछा मर्नु अशुभ भन्दै स्थानीयले त्यसको कारण खोजी गरिनुपर्ने माग गरेका छन् । 

१० करोडको गुरुयोजना अलपत्र
०२१ मा नापी हुँदा पोखरीले ५२ रोपनी क्षेत्रफल ओगटेको थियो । वडाध्यक्ष दिनेश कार्की भन्छन्, ‘पोखरी अतिक्रमण भएको गुनासोपछि हामीले नापी गरायौँ, नापजाँच गर्दा पूरै जग्गामा पोखरी फैलिएको छ । त्यसपछि यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गुरुयोजना निर्माण भएको छ ।’ 

तर, पोखरीलाई पर्यटकीय गन्तव्य बनाउन आर्थिक वर्ष ०७५/७६ मै बनेको १० करोडको गुरुयोजना अलपत्र परेको छ । गुरुयोजनाअनुसार काम गरिएको भए पोखरीको वरिपरि घेराबारा, फुटपाथ, विश्राम स्थल, आकर्षक पार्क, सफा र चिटिक्क पोखरी तयार हुनुपर्ने हो । 

घेराबाराको कामसमेत पूरा नहुँदा यहाँ घुम्न पुग्नेहरू पोखरीमा डुब्ने र दुर्घटना हुन सक्ने जोखिम रहेको छ । ‘सहरी विकासले पहिलो चरणमा पाँच करोडको ठेक्का लगाएको थियो, साढे तीन करोडमै लियो,’ वडाध्यक्ष कार्की भन्छन्, ‘त्यसपछि ठेकेदारको अत्तोपत्तो छैन, गरेको काम पनि गुणस्तरीय छैन । बनाइनसकिँदै भत्किन थालेको छ ।’ पोखरीलाई व्यवस्थित गर्न महानगरपालिकाले भने कुनै बजेट नदिएको उनको गुनासो छ । पोखरीसम्म पुग्ने सडकको व्यवस्थासमेत राम्रो छैन । अहिले पोखरीको आसपासमा पोखरीकै जग्गा मिचेरसमेत घेराबारा, फुटपाथ र सडक निर्माण गरिएको छ । 

महानगरभित्रैको पोखरी घेराबारा समेत छैन
सहर र सुविधाबाट कत्ति पनि टाढा छैन, नागदह । ललितपुर महानगरपालिका–२४ मा पर्ने यो पोखरी पुग्न चक्रपथको सातदोबाटोबाट करिब पाँच किमि मात्रै जानुपर्छ । चर्चित पर्यटकीय गन्तव्य गोदावरी जाने सडकको नजिकै पर्ने नागदह आफैँ ५२ रोपनी क्षेत्रफलमा फैलिएको छ । पोखरीको चौडाइ मात्रै नौ सय ३७ मिटरसम्म छ । पोखरीका ठुल्ठूला तीनवटा कुना छन् । अचम्म त के छ भने वरिपरि एकै ठाउँबाट पुरै पोखरी देख्न नै सकिँदैन । स्थानीय पूर्णमाया वनका अनुसार पोखरीमा कहिल्यै पानी सुकेको छैन । तर, वरिपरिको भेल र ढल मिसिँदा पोखरीको आयु भने घट्दो छ । उनी भन्छिन्, ‘पहिले–पहिले वर्षमा एकपटक सरसफाइ त हुन्थ्यो, अहिले त त्यो पनि भएको छैन ।’ 

पोखरीले यहाँका जलचर, थलचर र मानिसलाई मात्रै होइन, सिंगो पर्यावरण प्रणालीलाई फाइदा पुर्याएको छ । पर्याप्त पर्यटकीय सम्भावना पनि छ, तर महानगरभित्रकै यो पोखरीलाई यतिसम्म बेवास्ता गरिएको छ कि अहिलेसम्म पोखरीको घेराबारासमेत गरिएको छैन । २५ देखि ४१ मिटरसम्म गहिरो पोखरी हिलोले भरिएको छ । वर्षामा वरिपरि बस्तीबाट बगेको भेल र ढल पोखरीमै जम्मा भएको छ । ०६४ मा स्थानीय बासिन्दाले नागदह पोखरी संरक्षण समिति गठन गरेका थिए ।

तर, समितिले पनि प्रभावकारी काम गर्न नसक्दा पोखरीको यो हालत भएको स्थानीय बासिन्दा बताउँछन् । मञ्जुश्रीले तलाउको रूपमा रहेको काठमाडौं उपत्यकाको पानी चोभारमा गल्छी काटी बाहिर पठाएपछि उपत्यकामा नागदह र टौदह बाँकी रहेको किंवदन्ती स्थानीयमाझ छ । उपत्यकाका सबै पानी सुकेपछि पनि नागहरू यो दहमा आई बसेकाले यसको नाम नागदह रहेको धार्मिक विश्वास छ । यहाँ नागपञ्चमी र ऋषिपञ्चमीका दिन विशेष पूजाआजा र मेला लाग्ने गर्छ । 

See More On

सुझावित समाचार