आख्यानकार सुविन भट्टराईलाई एकदिन अचानक लाग्यो, ‘अलि फरक ठाउँ र फरक परिवेश अनि फरक विषयमाथि लेख्नुपर्ला !’ अनि ठाउँ रोजे पूर्वी तराई । विषय रोजे, सामाजिक कथा । र, अनुसन्धानमा लागे । मान्छे भेटे, अन्तर्वार्ता लिए । कथाको लोकेसन गए, घुमे । पाएजति रेफरेन्स खोजे, अध्ययन गरे । अहिले पनि गरिरहेका छन् ।
साहित्यकार भट्टराईका कथामा प्रायः काठमाडौंवरिपरिका पृष्ठभूमि हुन्थे । पात्रहरू सहरतिरै डुलिबसेका हुन्थे । उनीहरूको कथा सहरभित्रै हुन्थ्यो । प्रेमको विषय वरिपरि रहेर कथा बुन्थे । यी र यस्तै विषयमाथि लेखे अहिलेसम्म ६ वटा पुस्तक । ‘प्रिय सुफी’जस्ता किताब भने पूर्वलेखनीभन्दा केही पृथक् भएको भट्टराईको दाबी छ । तर, उनलाई चित्त बुझेन ‘प्रिय सुफी’ले मात्र । उनलाई लागेछ, अब अलि फरकै गर्नुपर्छ । यसपछि उपत्यका छाडेर पूर्वी तराईतिर लागे कथा खोज्न । भट्टराईको दाबीलाई मान्ने हो भने उनले लेखिरहेको विषयमाथि यसअघि खासै लेखिएको छैन । यस हिसाबले आफूले लेखिरहेको कथा ‘फ्रेस’ छ भन्ने दाबी छ उनको । अहिले त त्यही कथाको पुनर्लेखन गरिरहेका छन् । गत जेठतिरबाट पुनर्लेखनमा लागेका भट्टराई अहिलेसम्म पनि पुनर्लेखनमै व्यस्त छन् । यो वर्षको अन्तिमसम्मै पुनर्लेखनमै लाग्ने सोचमा छन् । पाठकको हातमा भने ०७८ को छेको पारेर पुर्याउने योजना उनले बनाएका छन् । आख्यानकार भट्टराईले ‘कथाकी पात्र’, ‘समर लभ’, ‘साया’, ‘मनसुन’ र ‘प्रिय सुफी’ पुस्तक लेखेका छन् ।
०००
भट्टराईको एक तरहको लेखनशैली छ । पाठक पनि फरकै छन् । तर, ठूलो संख्यामा छन् । युवापुस्ताले खुबै रुचाएका भट्टराईका आख्यान युवालक्षित नै हुन् । भट्टराईको आख्यानकारिता ‘सस्तो विषयमाथि भयो’ भनेर टिप्पणी गर्ने गरिन्छ । प्रेम र यौनभन्दा परको क्षितिज भट्टराईको लेखनीले देख्न नसकेको आरोप लगाइन्छ । समीक्षकहरूले पनि यसै भन्छन् । भट्टराईले आफ्नो लेखनीबाट अहिलेसम्म राम्रो समीक्षा सायदै पाएका छन् ।
ठूलो संख्यामा पुस्तक बिक्री हुने नेपाली लेखकमा पर्छन् आख्यानकार सुविन भट्टराई, आफूले लेखेका पुस्तकलाई ‘सस्तो प्रेमकथा’ भनेर गरिएको समीक्षाप्रति असन्तुष्ट उनी भन्छन्– मैले भूगोलभन्दा बाहिरको कथा लेखेको छैन
समीक्षालाई त स्वीकार गर्छन् भट्टराई । तर, बढी पूर्वाग्रही भएर गरिएको समीक्षालाई भने उस्तो चासो नदिने बताउँछन् । आफूले ‘तथाकथित आलोचकका आलोचना’ पढ्दा पनि नपढ्ने कुरा हाकाहाकी मिडियामा बोल्छन् । तर, वास्तविकतामा मिडियामा बोलेजस्तो सजिलो त पक्कै छैन उनलाई । आफूलक्षित आएका टिप्पणी, आलोचना त पढ्छन् नै । कसै न कसैमार्फत सुन्छन् पनि सायद । र, त भन्छन्, ‘कसैले मेरो पुस्तक नपढी टिप्पणी गर्छ भने त्यस्ताको पछिचाहिँ लाग्दिनँ । पढेरै गरेका छन् भने स्वीकार छ । तर, एउटा पुस्तक पढेर त्यही धारणाको खाल्डोमा अरू पुस्तकलाई राख्नुहुन्न ।’
भट्टराईको दाबी हो, ‘प्रिय सुफी’ आफूले अन्य पुस्तकभन्दा भिन्न विषयमा लेखेको हो ।’ उत्प्रेरणात्मक यस आख्यान केही फरक पनि छ । तर, लेखनीको हिसाबले, कथा बनोटको हिसाबले एकै खालको भएको भन्ने समीक्षा पुस्तक प्रकाशित भएपछि आएकै थियो । ‘प्रिय सुफी फरक किताबै हो । तर, एक–दुईवटा पुस्तकका कारण सबै पुस्तकलाई एकै धारणाले हेर्नुहुँदैन । प्रिय सुफी नपढीकन यौनकथा भनिदिन्छन् । नपढीकन भनिदिएपछि मान्छेलाई त्यस्ता प्रतिक्रियाले हतोत्साही पनि बनाउँछ,’ भट्टराई भन्छन्, ‘मैले त्यस्तो भयानक प्रतिक्रिया पनि खोजेको होइन । तर, जे छ त्यो पढेर सत्य बोलिदिनु पनि ठूलो कुरा रहेछ ।’
भट्टराईले भनेझैँ उनको लेखनको टिप्पणी ‘यौनकथा’ या त ‘सस्तो साहित्य’ भनेरै गरिएका उदाहरण प्रशस्त छन् । तर, उनको प्रश्न छ, ‘उसो भए गम्भीर साहित्य भनेकोचाहिँ के त ?’ आफूले यौनलाई नै प्राथमिकतामा राखेर कुनै किताब नलेखेको दाबी छ उनको । सम्बन्धका लागि चाहिने अत्यावश्यक पाटोमाथि लेख्दै गर्दा यौन पनि छिरेको उनी बताउँछन् । कुन रेशमी पर्दाले ‘गम्भीर’ र ‘सस्तो’ साहित्य भनेर छेकेको हुन्छ भनेर प्रश्न गर्छन् । ‘मैले लेखेको कुरा मात्र कसरी यौनकथा भयो ? अरू दिग्गज लेखकले पनि लेखेका छन् । मैले मात्र छाडा लेखेको हो भनेर कुन लाइनले छुट्याउँछ ?,’ भट्टराई प्रश्न गर्छन् ।
‘प्रिय सुफी’ फरक किताबै हो । तर, एक–दुइटा पुस्तकका कारण सबैलाई एकै धारणाले हेर्नुहुँदैन । ‘प्रिय सुफी’ नपढीकन यौनकथा भनिदिन्छन् । नपढीकन भनिदिएपछि मान्छेलाई त्यस्ता प्रतिक्रियाले हतोत्साही पनि बनाउँछ । मैले त्यस्तो भयानक प्रतिक्रिया पनि खोजेको होइन । तर, जे छ त्यो पढेर सत्य बोलिदिनु पनि ठूलो कुरा रहेछ ।
यथार्थ नै हो : भट्टराई बढी आलोचित लेखक हुन् । ठूलो संख्यामा किताब बिक्री हुने लेखकमध्ये पनि एक हुन् । तर, भट्टराईको चित्त दुखाइचाहिँ ‘यौन’ र ‘सस्तो प्रेम’ भनेर गरिने टिप्पणीमा बढी रहेछ । प्रेममा यौन स्वाभाविक मान्छन् भट्टराई । ‘प्रेममा यौन आउने कुरा यौनमा लिप्त भएकाले आउने होइन,’ भन्छन्, ‘खासमा हामी कुण्ठित छौँ यौनमा । त्यसको दोष मलाई दिइन्छ । भित्री र बाहिरी दुनियाँ त मानिसको फरक हुन्छ नि !’
आफ्नो पुस्तकमा पात्रहरू सँगै बसेको, मायाप्रीतिका कुरा गरेको, किस गरेका कुराहरू आलोचना गरेझैँ भयानक अपराध गरेजस्तो नलाग्ने भट्टराई बताउँछन् । तर पनि ‘सस्तो प्रेम कथा’ भनेर आलोचना त भइरहेकै छ । भट्टराईको भने कुनै पनि प्रेम ‘सस्तो’ र ‘महँगो’ नहुने जिकिर छ । प्रेम उमेरअनुसार फरक तरिकाबाट मानिसहरूले सम्प्रेषण गर्ने भएकाले पनि ‘सस्तो’ र ‘महँगो’ ट्याग गलत रहेको दाबी गर्छन् ।
आफूलाई गरिने आलोचनाअनुसार आफूले लेखेकाबाहेक अरूथोकचाहिँ गम्भीर हो भनेर व्यंग्य गर्छन् भट्टराई । ‘प्रेम खराब चिज हो भन्ने बुझेकाले आलोचना गरेका हुन् । प्रेमका कारण कति घरगृहस्थी बिग्रन्छ, कति मान्छेको सिर्जनशीलतामा ह्रास आउँछ । आत्महत्या गरेका छन् । सम्बन्धमा फाटो आएका छन् । तर, मैले लेखेको प्रेमचाहिँ कसरी सस्तो भयो, उनीहरूले जानुन्,’ भट्टराई भन्छन्, ‘पाठकहरूले मेरो पुस्तक पढेपछि कथामा आफूलाई पाएँ, मोटिभेट भएँ भनेर प्रतिक्रिया दिन्छन् । सस्तै भएको भए त मेरो किताबै पढिँदैन थियो ! मैले यो भूगोलभन्दा बाहिरको कथा त लेखेको होइन नि !’