सरायँ नाच : दानवमाथि देवताले विजय हासिल गरेपछिको खुसीयाली

शनिबार, १५ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपालको पश्चिमी जिल्लाहरू खासगरी अर्घाखाँची, प्युठान, गुल्मी, पाल्पा, कपिलवस्तु, रूपन्देही, दाङलगायतका भगवती मन्दिर तथा शक्तिपीठहरूमा दसैँको महाअष्टमीदेखि कोजाग्रत पूर्णिमासम्म विशेष मेला लाग्ने गर्छ । महाअष्टमीदेखि पूर्णिमासम्म यहाँ हरेक दिन विजयउत्सव जस्तै गरी तरबार, खड्गलगायतका हतियारसहित नौमती बाजाको तालमा विशेष खालको नाच प्रदर्शन गरिन्छ । स्थानीयले हर्षोल्लासपूर्ण रूपमा, उत्सवको रूपमा रमाउने यो नाचलाई सरायँ नाच भनिन्छ ।

पश्चिम नेपालका केही जिल्लामा मनाइने चलनको सुरुआत अर्घाखाँचीबाटै भएको भन्ने भनाइ छ । सप्तमीको दिन विधिवत् रूपमा मन्दिरमा फूलपाती भित्र्याएपछि विशेष पूजापाठसहित अष्टमीदेखि नै ठाउँअनुसार फरक–फरक दिनमा फरक–फरक कोट र भगवती मन्दिरमा यो मेला लाग्ने गर्छ । मन्दिरमा चढाएको तरबार निकालेर फन्काउँदै र नचाउँदै एक–आपसमा जोडिएर सरायँ नाच्ने गरिन्छ । 

यस वर्ष कोरोना महामारीका करण विधिवत् रूपमा पूजा–अर्चना मात्र गरिएको छ । सामान्य अवस्थामा पश्चिम नेपालका पहाडी बस्तीमा यो नाच अहिले पनि चर्चित छ । यसलाई कतिपयले युद्धकला र खेल पनि हो भनेर विश्लेषण गर्छन् । पञ्चेबाजासहित मन्दिरमा चढाइएका खुकुरी, तरबार र खुँडा नचाई आपसमा जोडिएर सरायँ नाच खेलिने गरिन्छ । यसरी नाच्दा देवी भगवती प्रसन्न हुने धार्मिक जनविश्वास छ ।

दैत्य र दानवहरूमाथि देवी–देवताले विजय हासिल गरेपछि यही खुसीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान सुरु भएको किंवदन्ती छ । सप्तमीको दिन फूलपाती भित्र्याएपछि मन्दिर वा कोटमा आलम (भगवानको प्रतिमा) निकाल्ने गरिन्छ । विभिन्न रंगीचंगीसहितका ध्वजापतकाले सिँगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा मन्दिरबाहिर सजाएर राखेपछि दैनिक पूजापाठ गर्ने गरिन्छ । मन्दिरबाट भगवान् बाहिर निस्कन सक्ने किंवदन्तीका आधारमा हरेक रात स्थानीयवासी आलोपालो मन्दिरको ढोकानजिकै जाग्राम बसेर भगवान्को रक्षा गर्ने संस्कार अझै पनि कतिपय स्थानमा कायम छ । खासगरी बहुुमूल्य मूर्तिहरू, हातहतियारको सुरक्षाका लागि पनि यो संस्कार सुरु भएको हुन सक्छ ।

यसरी नित्य पूजा भएपछि सरायँ हुने दिन विधिअनुसार पूजापाठपछि ठाउँ र परिस्थितिअनुसार बलि (अधिकांश स्थानमा राँगो) दिई सरायँ नाच सुरु हुन्छ । पहिला कोट वा मन्दिरवरिपरि परिक्रमा गरी पछि खुला ठाउँमा पुगी दिनभर खुँडा वा लाठी नचाउँदै र जुधाउँदै बाजाका तालमा ‘वाख्खै’ ‘ह’ भन्दै सरायँ नाच्ने चलन छ । कहीँ केही लामो दूरीमा नाच्दै जाने, निश्चित ठाउँ (पोखरी वा तलाउ)मा पुगेर फूलपाती सेलाउने र नाचगानसहित पुनः मन्दिर फर्कने चलन छ भने कतै मन्दिरनजिकै ‘फिल्ड’ तयार गरी त्यही ‘फिल्ड’मा दिनभर नाच्ने पनि गरिन्छ । 

किंवदन्तीअनुसार अर्घा रजस्थलको अर्घा भगवती मन्दिर र कोटमुनि पाथ्रावाङको शिलामा रक्तार्ध दिने गुरुङ राजालाई हराएर ठकुरी राज्य स्थापना गरेका जिल्ला राईले विजय उत्सवको रूपमा सराय खेलाउन र खेलाडीलाई दही केरा खुवाउन थालेका थिए । अहिलेको सरायँ नाच त्यसैको निरन्तरता हो भन्नेहरू धेरै छन् ।

भुरे–टाकुरे राजाहरूको पालामा पाल्पा, गुल्मी, अर्घाखाँची र प्युठानलाई ऐतिहासिक र सांस्कृतिक राज्यको रूपमा लिएको र त्यसवेलाका राजाहरूले स्थापना गराएको शक्तिपीठ अथवा कोट मन्दिरबाट विजयादशमीको अवसरमा सरायँ नाच नाच्च लगाउने गरेको इतिहास सुनाउनेहरू पनि भेटिन्छन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका– ९ मा अवस्थित अर्घा भगवती मन्दिर सरायँ नाचको निम्ति सबैभन्दा प्रसिद्ध रहेको छ । अर्घा भगवती मन्दिरमा आलम भित्र्याएपछि सरायँ र दसैँ सकिएको मान्यता छ । अर्घा भगवती मन्दिरबाटै सरायँ नाचको सुरुवात भएको भनाइ छ । 

अर्घाका राजाले सरायँको सुभारम्भ गराए पनि पछि छिमेकी राज्यहरूमा नाच्न थालियो भन्ने भनाइ छ भने देवीदेवताको दानवमाथिको विजयको सम्झनालाई उत्सवको रूपमा मनाएको हो भन्ने पनि कतिपयको भनाइ छ ।

अर्घाखाँचीबाट गुल्मी, प्युठान, पाल्पा हुँदै पछिल्लो समय तराईका विभिन्न जिल्ला खासगरी कपिलवस्तु, नवलपरासी, रूपन्देही र दाङमा स्थापना भएका देवीका मन्दिरमा सरायँ नाच नाच्ने गरिएको छ । अर्घाखाँची जिल्लाबाट बसाइँसराइ गरी गएकाहरूले आफू रहेको स्थानमा भगवती मन्दिर निर्माण गरी नाच्ने गरेका छन् । जसका कारण अर्घाखाँचीबाट सुरु भएको सरायँ नाच देशका विभिन्न ठाउँमा लोकप्रिय बनिरहेको छ । यद्यपि पुरानो पुस्ताले सही ढंगले नयाँ पुस्तालाई नसिकाएका कारण र नयाँ पुस्ताले पनि ऐतिहासिकताको विषयमा त्यति चाख दिन नसकेको अवस्था छ । 
 

सुझावित समाचार