सूचना प्रविधि क्षेत्रको आइसिटी अवार्डअन्तर्गत २०२० संस्करणको ४ विधाका उत्कृष्ट ५ प्रतिस्पर्धीको छनोट भएको छ । आइसिटी अवार्ड २०२० आयोजक समितिले भर्चुअल कार्यक्रममार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितिमा विभिन्न ४ विधाका उत्कृष्ट ५ को घोषणा गरेको हो ।
यस वर्ष ११ विधामा आइसिटी अवार्डका लागि अनलाइन नोमिनेसन खुला गरिएको थियो । जसमा ३ सय ५० भन्दा बढी आवेदन परेको जनाइएको छ । अन्य विधाहरूमा विभिन्न चरणको छनोट प्रक्रिया जारी रहेको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताएका छन् ।
१४ जनाको जुरी समितिले तेस्रो चरणको छनोट प्रक्रियाबाट स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट ५ को छनोट गरिएको जनाइएको छ । यी चार विधामा यस वर्ष २ सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले बताए ।
स्टार्टअप आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप कम्पनीहरूमा बिजहब आइटी सर्भिसेस प्रालि, क्रिप्टोजेन नेपाल प्रालि, जेनियस सिस्टम प्रालि, जिबी हेल्थ प्रालि र नेपमेड्स प्रालि रहेका छन् । यसैगरी, प्रडक्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ पर्न सफल प्रडक्टहरूमा सिपिएसडिएस, फ्युज क्लास रुम, जेनियस आइपिटिभी, जिबी र न्यानो नानी रहेको जनाइएको छ ।
यसैगरी, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरूमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एन्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर रोबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिबर रहेका छन् ।
राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टू हेल्थ, सन्चै छौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेको रहेको छ ।
अन्य ७ विधामा उत्कृष्ट ७ हुँदै उत्कृष्ट ३ को छनोट गरेर सर्वोत्कृष्टको छनोट गरिने जुरी समितिले बताएको छ । यसको ग्रान्ड फिनाले यस वर्ष डिसेम्बर महिनामा आयोजना गरिने जनाइएको छ ।