प्रस्तावित राजदूतहरूविरुद्ध संसदीय समितिमा चार उजुरी

सोमबार, ३ कार्तिक, २०७७
डिजिटल संस्करण

अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध संसद्को सुनुवाइ समितिमा चारवटा उजुरी परेका छन् ।

समितिको सोमबार बसेको बैठकले प्रस्तावित राजदूतहरूविरुद्ध परेको उजुरी खोलेको थियो । तर, समितिले उजुरीबारे छलफल भने गरेको छैन ।

सुनुवाइ समितिको गत असोज २१ गते बसेको बैठकले सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्ताव गरेका राजदूतहरूविरुद्ध उजुरी आह्वान गरेको थियो ।

समितिमा खतिवडाविरुद्ध मात्रैै तीनवटा उजुरी रहेको समितिको भनाइ छ ।

उजुरीमा खतिवडालाई बैंकिङ काण्डमा संलग्न भएकोदेखि अवसरवादी रहेकोसम्मको आरोप लगाइएको बताइएको छ । त्यस्तै, कमजोर कार्यसम्पादन रहेको, अधिकारको दुरुपयोग गरेको, नातावादमा संलग्न, नीतिगत भ्रष्टाचारमा संलग्नजस्ता आरोप उनीविरुद्धको उजुरीमा उल्लेख रहेको बताइन्छ ।

खतिवडालाई चकलेट र विद्युतीय गाडीमा नीतिगत भ्रष्टाचार गरेकोसमेत आरोप लागेको छ ।

त्यस्तै, लोकदर्शन रेग्मीले मुख्यसचिव हुँदा सरुवा–बढुवा गराएर धन आर्जन गरेको उजुरी रहेको छ ।

सुझावित समाचार