नेपालमा जलस्रोत विकासको सम्भावना

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

सन् १९११ मा १५ सय किलोवाटको फर्पिङ जलविद्युत्गृह निर्माण भएर सुरु भएको नेपालको जलस्रोत विकासको पहिलो पाइलाअन्तर्गत १९२७ मा निर्माण भएका चन्द्रनहर र जुद्धनहर सिँचाइ आयोजनाहरू हुन् । त्यसपछि सन् १९३५ मा सुन्दरीजल विद्युत्गृह र पछि १३ सय किलोवाटको लेटाङ सिखगस जलविद्युत्गृह उपत्यकाबाहिर मोरङमा निर्माण भएका थिए । पहिलो पञ्चवर्षीय योजना २०१३–२०१८ सुरु हुनुभन्दा अघि नेपालमा जम्मा ६३८० किवा विद्युत् उत्पादन हुन्थ्यो । 

अहिले नेपालमा विभिन्न आयोजनाहरूबाट १ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुन्छ । एक प्रक्षेपणअनुसार सन् २०१७÷१८ मा पिकलोड १६४४ किवा हुने, २०२०÷२१ मा पिकलोड २२२२ हुने, २०२४÷२५ मा पिक लोड ४०७८ हुने, २०२६÷२७ मा पिकलोड ४७०८ किवा हुने देखिन्छ । यहीअनुसार आपूर्तिको निर्माण कार्य भइरहेको छ । नेपाललाई चाहिने विद्युत् उत्पादनका लागि निर्माण गर्नुपर्ने योजनाहरू सुप्रगण्डकी आयोजना २ सय २५ मेगावाट, अरुण जलविद्युत् योजना प्रथम चरण २ सय मेगावाट, दोस्रो चरण २ सय मेगावाट, बुढीगण्डकी ६ सय मेगावाट, कालीगण्डकी दोस्रो चरण ५ सय मेगावाट । बागमती बहुउद्देश्यीय आयोजनालगायत छन् । 

नेपालमा विद्युत् विकासका दुईवटा पाटा छन् । पहिलो, नेपाललाई चाहिने विद्युत् उत्पादन र अर्को, ठूला जलविद्युत् आयोजना निर्माण गरेर सस्तो बिजुली भारत र बंगलादेशलाई बेच्ने । भारतले चाख लिएका योजनाहरूमध्ये पञ्चेश्वर ७ हजार मेगावाट, कर्णाली १० हजार मेगावाट, कोसी हाइड्याम ७ हजार मेगावाटजस्ता छन् । 

नेपालमा १२ वटा बाँध बनाएर जलभण्डारण गरी हिउँदमा ५ सय क्युसेक पानीबाट १५ सय मेगावाट विद्युत् उत्पादन गरी भारत र बंगलादेशलाई बेच्न सकिन्छ । यो पानी भारत र बंगलादेशलाई सिँचाइ र अरू कामका लागि उपलब्ध गराउन सकिन्छ । नेपालमा सिँचाइयोग्य जमिन ३० लाख हेक्टर छ, जसमध्ये १० लाख हेक्टरमा सिँचाइ भइसकेको छ । हाम्रो देशमा पानी धेरै भएकाले भारतलाई दिन सकिन्छ । भारतले नेपालको जलस्रोत विकासमा आर्थिक व्यवस्थापकीय आदि साझेदारी चाहन्छ र आफ्नो बलियो पकड चाहन्छ । 

नेपालजस्तो कृषिप्रधान देशमा सिँचाइको समुचित विकास गरेर कृषि उत्पादकत्व बढाउन आवश्यक छ । ९० प्रतिशत जनशक्ति निर्भर रहेको कृषिबाट कुल राष्ट्रिय उत्पादनमा करिब ६६ प्रतिशत योगदान छ । उत्पादन बढाउन सिँचाइको समुचित विकास जरुरी हुन्छ । नेपालका अधिकांश खोलानालाहरूबाट सरदर २ सय अर्ब क्युबिक पानी बगेको पाइन्छ । जमिनमुनि तराईमा करिब ६३ अर्ब क्युबिक पानी हुन सक्ने अनुमान छ । अहिले कञ्चनपुर योजनाबाट ६५ सय हेक्टर सिँचाइ भएको छ भने शारदा योजनाबाट धनुषा–सिराहामा २८ सय हेक्टर सिँचाइ भएको छ । त्यस्तै, राप्तीबाट बाँकेमा ३८ सय हेक्टरमा, लोथरबाट १२ सय हेक्टरमा, राजापुरबाट १३ सय हेक्टर, बारागंगाबाट ८ हजार हेक्टरमा सिँचाइ हुनेछ भने सुनसरी–मोरङबाट ६६ हजार हेक्टर, कोसीबाट नेपालमा २ लाख हेक्टर, बबई सिँचाइबाट ४३ हजार हेक्टर, गण्डक योजनाबाट ४० हजार हेक्टर, बबई योजनाबाट ४ हजार हेक्टर सिँचाइको व्यवस्था भएको देखिन्छ । अब पश्चिमदेखि पूर्वसम्म पावरजोनको एरियामा सबै नदीनाला त्यो क्यानलसँग जोडिएर तराईको सबै भागमा क्यानल नेटवर्कमार्फत सिँचाइ गर्ने वेला आएको छ ।

नेपालमा अहिले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतालाई समृद्धशाली बनाउने दृढ संकल्प अगाडि राखेर काम गरिरहनुभएको छ । यतिवेला नै बलियो सरकार र संसद् छ । भारतमा पनि नेपालसँग मिलेर नेपालको जलस्रोत विकास गर्न तथा नेपालको विद्युत् खरिद गर्न इच्छुक प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार छ । यो समयमा नेपालको जलस्रोत विकासमा राम्रो सुरुवात हुन सके काइदाको जग बस्ने थियो । जलस्रोतलाई आर्थिक साझेदारीका रूपमा ग्रहण गरेर सबै देशहरूले सहभागिता जनाउनुपर्छ ।

सुझावित समाचार