दैलेखको महाबु गाउँपालिकाले कोरोना महामारीका वेला गाउँ फर्किएका दुई हजार सात सय युवालाई गाउँमै रोक्न रोजगारी सिर्जना गर्ने योजना बनाएको छ ।
यो वर्षबाट सञ्चालन गर्ने सबै विकास गतिविधिमा ठूला मेसिनको प्रयोग बन्द गर्ने, विकास, निर्माणका काममा सम्बन्धित गाउँकै युवाको समिति बनाएर काममा लगाउनेजस्ता योजना बनाइएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए ।
‘कृषि, पशुपालनसँगै गाउँ र वडामा हुने सबै विकासमा अनिवार्य रूपमा युवाहरूलाई परिचालन गर्ने रणनीति बनाएर काम सुरु गरेका छौँ,’ शाहीले भने, ‘पालिकाले नीति बनाएर अध्यक्ष रोजगार कार्यक्रमसँगै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममा युवा परिचालन गरेर गाउँमै रोक्ने तयारी थालेको छ ।’
कोरोना संक्रमण पालिकामा कम भएकोले दसैँ र तिहारकै वेलामा युवाहरूलाई विभिन्न रोजगारीका काम दिएर आम्दानीका स्रोत व्यवस्थापन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिए ।
कोरोना व्यवस्थापनमा दुई करोड ७६ लाख खर्च
महाबु गाउँपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि पालिकामा दुई करोड ७६ लाख रकम खर्च गरेको जानकारी दिएको छ । स्वास्थ्य शाखा प्रमुख रमेश दशौदीले विदेशबाट आएका युवालाई ल्याउनका लागि मात्रै यातायात व्यवस्थापनमा ३६ लाख रकम खर्च गरिएको बताए । क्वारेन्टिन व्यवस्थापन, खाना खर्च, सामग्री खरिद, औषधि खरिदलगायत विभिन्न शीर्षकमा दुई करोड ७६ लाख रकम खर्च भएको हो ।
भारत, तेस्रो मुलुक र नेपालकै अन्य जिल्लामा कामको खोजीमा गएका दुई हजार सात सयभन्दा बढी नागरिक कोरोना महामारीको समयमा पालिकामा आएको उनले बताए ।
विभिन्न शीर्षकमा भएको खर्च रकममध्ये पूरै भुक्तानी दिन नसकिएको र केही रकम उधारो रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मल्लले जानकारी दिए ।
पालिकाले उपचार सेवा प्रभावकारी बनाउन पालिकामै २५ लाखको अत्याधुनिक आइसोलेसन अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण मात्र नभएर अन्य बिरामीका लागि पनि अस्पताल प्रयोगमा आएको अध्यक्ष जंगबहादुर शाहीले बताए ।