एकपटक एकजना युवकले सुकरातलाई सफलताको रहस्य बताइदिन आग्रह गरे । सुकरातले यसका लागि युवकलाई अर्को दिन नदीकिनारमा आएर आफूलाई भेट्न भने । सुकरातले भनेअनुरूप अर्को दिन युवक नदी पुग्यो ।
सुकरात नदीको किनारमा बसिरहेका थिए । दुईजनाको भेट भएपछि सुकरातले केही नभनी युवकको हात समातेर नदीतर्फ अघि बढे । नदीको गहिराइतर्फ अघि बढ्ने क्रममा पानी दुईजनाको घाँटी घाँटीसम्म पुगेको थियो । तब अचानक सुकरातले युवकको टाउको समाएर पानीमा डुबाइदिए ।
युवक बाहिर निस्किनका लागि संघर्ष गर्न लाग्यो । तर, सुकरात बलिया थिए र उनले जोडसँग समाएर युवकलाई फुत्कन दिएनन् । युवक सास फेर्न नसकेर निलो हुन लागेपछि मात्र उनले टाउको छाडिदिए ।
सुकरातबाट मुक्त भएपछि युवकले गहिरो गहिरो सास लिन लाग्यो । ऊ सुकरातको व्यवहारबाट चकित त थियो नै साथमा केही क्रुद्ध पनि भएको थियो । तर, सुकरातको व्यक्तित्वका कारण उसले केही भनेन ।
युवक शान्त भएपछि सुकरात आफैँले प्रश्न गरे, ‘जब तिमी पानीमुनि थियौ, तब तिम्रो दिमागमा के थियो ? तिमीमा के चाहना थियो ?’ युवकले जवाफ दियो, ‘सास लिने चाहनाबाहेक अरू केही थिएन ।’ त्यसपछि सुकरातले भने, ‘हो, मैले दिन चाहेको शिक्षा पनि यही हो । यही नै सफलताको रहस्य हो । जब तिमी सफलतालाई अघि सास रोकिन लाग्दा मुक्त हुन चाहेजस्तै गरी चाह्यौ भने तिमीलाई लक्ष्य प्राप्त हुन्छ ।’ सुकरातको जवाफ सुनेर युवक सन्तुष्ट भयो ।