प्रेरक प्रसंग : साथीहरूको पछुतो

आइतबार, १८ असोज, २०८३
प्रिन्ट संस्करण


चारजना साथी कलेज जीवनको अन्तिमतिरको नयाँ वर्षमा उनीहरू होटेलमा खाजा खान पुगे । खाँदै गर्दा उनीहरूमध्ये एकले भन्यो– साथीहरू, अब हामी सबै आआफ्ना काममा लाग्छौँ । को कहाँ पुग्ने हो, टुंगो छैन । बिचमा भेट होला वा नहोला । कुरा गर्ने समय मिल्ला या नमिल्ला । त्यसैले, अबको ४० वर्षपछि जहाँ पुगे पनि हामी चारैजना आजैको मितिमा यही होटेलमा भेट्नुपर्छ र जो सबैभन्दा पछाडि आउँछ, सो दिनको बिल उसैले तिर्नुपर्छ । साथीको प्रस्तावमा सबैले सहमति जनाए ।

अन्ततः ४० वर्षपछिको नयाँ वर्षमा चारमध्ये एक साथी सोही होटेलमा पुग्यो । होटेल त पाँचतारेमा परिणत भइसकेको रहेछ । ऊ छक्क पर्दै होटेलभित्र प्रवेश गर्यो । एकैछिनमा दोस्रो साथी पनि होटेलमा आइपुग्यो । केहीबेरपछि तेस्रो साथी पनि आइपुग्यो । तर, चौथो साथीको अझै कुनै अत्तोपत्तो थिएन । एकैछिनमा वेटरले भने– हजुरहरू खानाको अर्डर गर्दै गर्नुहोस् । त्यतिन्जेलमा हजुरहरूका साथी पनि आइपुग्नुहोला नि !

एकैछिनमा खाना पनि आइपुग्यो । उनीहरूले चौथो साथीलाई अझै कुरे । ऊ अझै आइपुगेन । उनीहरूले आफ्नो साथीले ठुलो मान्छे बनेर आफूहरूलाई भुलेको गुनासो गर्दै केही समय बिताए । अन्त्यमा साथी नआइपुगेपछि उनीहरूले खाना खाए र बिल तिर्न काउन्टरतिर गए । तर, काउन्टरका म्यानेजरले उनीहरूको बिल पहिल्यै तिरिसकिएको बताए ।

तीनैजना छक्क पर्दै बाहिर निस्किए । त्यति नै वेला एउटा सरकारी गाडी उनीहरूको अगाडि आएर रोकियो । त्यहाँबाट एक युवक ओर्लिए र उनले ती तीनैजनाको पाउ छुँदै भने– म हजुरहरूका चौथा साथीको छोरा हुँ । बाबाले मलाई सरकारी नोकरीमा लाग्न प्रेरित गर्नुभयो । म अहिले यस जिल्लाको सिडिओ भएको छु । उहाँ आजको दिन कुरेर बस्नुभएको थियो । तर, एक महिनाअघि मात्र उहाँको देहान्त भयो । उहाँले नै आज यहाँ आएर हजुरहरूलाई भेट्न भन्नुभएको थियो । साथै, उहाँले होटेलको बिल पनि तिर्नू भन्नुभएको थियो ।

यो सुनेपछि तीनैजना साथीहरूलाई समयमै आफूहरूले भेटघाट र कुराकानी नगरेकोमा सारै पछुतो भयो ।

सुझावित समाचार