प्रेरक प्रसंग : कसैसँग झगडा परे के गर्ने ?

मंगलबार, २० असोज, २०८३
प्रिन्ट संस्करण

एकै घरमा मिलेर बसेका देउरानी र जेठानीबिच एक दिन कुनै विषयमा वादविवाद सुरु भयो । विवाद बढ्दै जाँदा दुवैबिच चर्काचर्की पर्यो । दुवै एक–अर्काको अनुहारसम्म नहेर्ने भन्दै रिसाएर आआफ्नो कोठामा पुगेर ढोका बन्द गरे ।

केहीबेरपछि जेठानीको ढोकामा कसैले बाहिरबाट ढकढक्याएको आवाज आयो । जेठानीले रिसाउँदै प्रश्न गरिन्– बाहिर को हो हँ ? बाहिरबाट भर्खरै रिसाउँदै आफ्नो कोठामा पसेकी देउरानीको आवाज सुनियो–  म हुँ दिदी, ढोका खोल्नुहोस् न । जेठानीले भित्रैबाट रिसाउँदै प्रतिप्रश्न गरिन्– किन खोल्नुपर्यो ? भर्खरै मेरो मुखै हेर्दिनँ भनेकी होइनौ ? देउरानीले भनिन्– हो दिदी, तर अहिलेलाई ढोका खोल्नू न ! जेठानीले रिसाउँदै ढोका खोलिन् । बाहिर देउरानी हातमा दुई कप चिया लिएर उभिएकी थिइन् । उनलाई देखेपछि जेठानीले प्रश्न गरिन्– अघि झगडा गरेर गएकी मान्छे अहिले यहाँ किन आएकी नि ? देउरानीले भनिन्– दिदी, हजुरसँग झगडा गरेर कोठाभित्र पसेपछि मलाई मेरी आमाले भनेको कुरा याद आयो । उहाँले भन्नुभएको थियो– छोरी, जीवनमा तिम्रो कसैसँग झगडा पर्यो भने ऊसँग बिताएका सबैभन्दा रमाइला पल सम्झिनू । उसका राम्रा कुरा सम्झनू । क्रोधलाई क्रोधले होइन, प्रेमले मात्र मेटाउन सकिन्छ । जब मैले हजुरसित बिताएका राम्रा पल सम्झिएँ, तब मलाई हजुरले कसरी आफ्नी सानी बहिनीजस्तै गरी माया दिनुभएको थियो भन्ने याद भयो । त्यसैले, हजुरसित सँगै बसेर पिऊँ भनेर यो चिया लिएर आएँ ।

देउरानीका कुराले जेठानीका आँखा रसाए । उनले देउरानी कसिलो अँगालोमा बेरिन् र दुवै एकै आमाका कोखबाट जन्मेका दुई दिदीबहिनीझैँ सँगै बसेर रमाइला कुरा गर्दै चिया पिउन थाले ।

सुझावित समाचार