प्रेरक प्रसंग : महात्माको चमत्कारी बुटी र युवक

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

एक मिहिनेती युवक जहिल्यै आफ्नो मिहिनेत सफल हुने या नहुने द्विविधामा रहन्थे । कहिलेकाहीँ यसैका कारण उनी अरूमाथि क्रोधित पनि हुन्थे । एक दिन गाउँमा एक महात्मा पुगे । युवक पनि महात्मालाई भेट्न गए । भेटघाटमा युवकले भने– महात्माज्यू, कडा मिहिनेतसाथ सफलताका लागि हरसम्भव प्रयत्न पनि गरे पनि मलाई सफलता प्राप्त हुँदैन । म के गरौँ ।

महात्माले भने– तिम्रो समस्याको समाधान यस चमत्कारी बुटीबाट हुनेछ । मैले यसमा केही विशेष मन्त्र लेखेर राखेको छु । त्यसले तिम्रो हरेक बाधालाई भगाउनेछ । तर, यस बुटीलाई जगाउन तिमीले एक रात एक्लै मसानमा बिताउनुपर्छ । मसानको नाम सुन्दैमा युवक झस्किए । उनले काँप्दै भने– म एक्लै मसानमा रातभर कसरी बस्न सक्छु ?

महात्माले भने– डराउनुपर्दैन, यो साधारण बुटी होइन । यसले तिमीलाई हरेक संकटबाट बचाउनेछ । युवक रातभर एक्लै मसानमा बसे र बिहानै महात्मा भए ठाउँमा पुगे । खुसी हुँदै उनले भने– महात्माज्यू, यो साँच्चै एक चमत्कारी बुटी रहेछ । यसले मजस्तो डरछेरुवा मान्छेलाई पनि मसानमा रात बिताउने शक्ति दियो । अब यसको सहायताबाट म अवश्य सफल हुनेछु ।

यस घटनापछि युवक बिल्कुलै बदलिए । उनमा जे गर्दा पनि बुटीका कारण आफू सफल हुने विश्वास बढ्दै गयो, उनी सफल हुँदै गए । उनी गाउँका सबैभन्दा सफल व्यक्तिमा गनिन थाले । यसको एक वर्षपछि महात्मा फेरि गाउँमा आइपुगे । युवक तुरुन्तै उनको दर्शनमा पुगे । उनले त्यहाँ चमत्कारी बुटीको गणगान गरे । 

महात्माले उनीसित त्यो बुटी मागेर त्यसलाई खोलेर युवकलाई देखाए । यथार्थमा त्यहाँ कुनै मन्त्र थिएन । त्यहाँ त एउटा सामान्य धातुको टुक्रा मात्र थियो । युवकले अचम्म मान्दै भने– महात्माज्यू, यो त एक साधाराण बुटी देखिन्छ । तर, यसले कसरी यति महत्वपूर्ण काम गर्यो ? महात्माले भने– तिमीले यस बुटीका कारण होइन, आफ्नो मिहिनेतका कारण सफलता पाएका हौ । आफ्नो परिश्रम र आफूमाथि विश्वास गर्ने हो भने सफलता पाउन कठिन छैन । बुटी नपाउन्जेल तिम्रो आत्मविश्वास कमजोर थियो । बुटी पाएपछि तिमीमा आत्मविश्वास भरियो । त्यसैले, तिमी सफल भयौ ।

सुझावित समाचार