प्रेरक प्रसंग : फजुल खर्ची बन्ने कि कन्जुस ?

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

एक परिवारमा राम र श्याम नामका दुई सहोदर दाजुभाइ थिए । दुवैको स्वभावमा भने ठुलो अन्तर थियो । राम अति कन्जुस थियो भने श्याममा चाहिँ फजुल खर्चको बानी थियो ।

घरपरिवारले दुवैलाई निकै सम्झाउने प्रयास गरे पनि रामको कन्जुसीमा सुधार आएन भने श्यामको फजुल खर्चमा पनि कमी आएन । एकपटक उनीहरूको गाउँनजिकै एक सिद्ध महात्मा आएका थिए । महात्मालाई भेटेर छोराहरूको बानीमा सुधार ल्याउने उपाय सोध्ने निश्चय गरेर उनीहरूका पिता महात्माको प्रवचन स्थल पुगे ।

उनको समस्या ध्यानपूर्वक सुनिसकेपछि महात्माले अर्को दिन दुवै छोरालाई साथमा लिएर आउन अह्राए । अर्को दिन तोकिएको समयमै उनी दुवै छोरालाई लिएर महात्मासमक्ष पुगे । दुवैसित केहीबेरको भलाकुसारीपछि महात्माले आफ्ना दुवै मुठी बन्द गरेर देखाउँदै प्रश्न गरे– यदि मेरो हात सधैँ यस्तै रहने हो भने कस्तो देखिएला ? रामले भने– यस्तोमा त हजुरको हातमा कोर सल्केजस्तो देखिन्छ ।

महात्माले दुवै मुठी खोलेर औँला सीधा बनाउँदै पुनः प्रश्न गरे– यदि अहिलेजसरी मेरो हात सधैँ यस्तै रह्यो भनेचाहिँ कस्तो देखिएला नि ? यसपटक रामलाई उछिनेर श्यामले भने– यस्तो अवस्थामा पनि हजुरको हातमा कोर सल्केजस्तो नै देखिन्छ ।

दुवैको उत्तर सुनिसकेपछि गम्भीर हुँदै महात्माले भने– बाबु हो, तिमीहरू दुवैलाई म यही त सम्झाउने कोसिस गरिरहेको छु नि अघिदेखि । जहिल्यै मुठी बन्द गरेर राख्नु अर्थात् कन्जुसी देखाउनु या जहिल्यै हत्केला खुला राख्नु या फजुल खर्च गर्नु एकप्रकारले हाम्रो जीवनमा सल्केको कोर नै हो । जहिल्यै मुठी बन्द गर्ने मान्छे धनी हुँदाहुँदै पनि निर्धन नै रहन्छ र जहिल्यै मुठी खुला राख्ने अर्थात् फजुल खर्च गर्ने मान्छे जतिसुकै धनी किन नहोस्, उसलाई निर्धन बन्न समय लाग्दैन । त्यसैले, जीवनमा आवश्यकताअनुसार मुठी बन्द र खुला गर्न जान्नुपर्छ ।

दुवै दाजुभाइले महात्माको भनाइको रहस्य बुझे र सोचविचार गरेर मात्र धन खर्च गर्ने अठोट गरे ।

सुझावित समाचार