प्रेरक प्रसंग : स्थलगत अध्ययन र त्यसको परिणाम

आइतबार, ११ असोज, २०८३
डिजिटल संस्करण

विश्वविद्यालयका एक प्राध्यापकले आफ्ना विद्यार्थीलाई मुम्बईको झुपडपट्टीमा बस्ने १० देखि १४ वर्षका बालकको स्थलगत अध्ययन गरी उनीहरू भविष्यमा के बन्लान् भन्ने तथ्यांक निकाल्न खटाए । विद्यार्थीले झुपडपट्टीका दुई सय बालकको घरको पृष्ठभूमि, बाबुआमाको परिस्थिति, त्यहाँका मानिसको जीवनशैली र शैक्षिक स्तर, रक्सी तथा लागुपदार्थको सेवनलगायत अनेक बुँदामा आधारित भई गहिरो अध्ययन गरे । हरेक बालकसित कुराकानी गरे र सबैका विचार टिपोट गरे ।

झन्डै एक वर्षको मिहिनेतपछि उनीहरूको अध्ययन पूरा भयो र प्रतिवेदन तयार भयो । प्रतिवेदनको निष्कर्ष यस्तो थियो– ती बालकमध्ये ९५ प्रतिशत अपराधको बाटोमा लाग्छन् । तीमध्ये ९० प्रतिशत कुनै न कुनै अपराधमा जेल जान्छन् र केवल पाँच प्रतिशत बालक मात्र राम्रो जीवन जिउन सफल हुनेछन् ।

अध्ययन पूरा भयो, प्रतिवेदन पनि तयार भयो । तर, बिस्तारै यसलाई सबैले बिर्सिंदै गए । २५ वर्षपछि अर्का एक प्राध्यापकले सो प्रतिवेदन देखे । उनले प्रतिवेदनको अनुमान कति सही ठहरियो, त्यसको जाँच गर्न विद्यार्थीको पाँच टिम बनाएर पुनः सोही झुपडपट्टीमा पठाइदिए । दुई सयमध्ये केहीको मृत्यु भइसकेको थियो । कतिपय अन्यत्रै गइसकेका थिए । विद्यार्थीले तीमध्ये एक सय ८० सित भेटघाट गरेर सबैसित विभिन्न विषयको जानकारी लिए । परिणाम पहिलो अध्ययनको ठिक विपरीत निस्कियो ।

तीमध्ये चार–पाँचजना मात्र सामान्य झैझगडामा छोटो समयका लागि जेल गएका थिए । बाँकी सबैले इज्जतसाथ सामान्य जीवन बाँचिरहेका थिए । कसैको त आर्थिक अवस्था निकै राम्रो भइसकेको थियो । पुनः तिनै विद्यार्थीले सबै (एक सय ८०) लाई नै भेटेर यसको रहस्य बुझ्ने कोसिस गरे । सबैले आफ्नी एक शिक्षिकाका कारण यो सब सम्भव भएको बताए ।

विद्यार्थीहरू ती शिक्षिकालाई भेट्न गए । उनीहरूले तिनलाई भेट्न आउनुको कारण प्रस्ट पार्दै प्रश्न गरे– हजुरले त्यस्तो के चमत्कार गर्नुभयो र ती विद्यार्थीको जीवन यस्तो हुन सम्भव भयो ? शिक्षिकाले हाँस्दै भनिन्– मैले कुनै चमत्कार गरेकी होइन, केवल तिनलाई आफ्ना सन्तानलाई जस्तै निःस्वार्थ प्रेम गरेकी मात्र हुँ ।

सुझावित समाचार