भारत विश्वकै धेरै कोरोना संक्रमित हुने दोस्रो राष्ट्र

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

भारत सर्वाधिक कोरोना भाइरस संक्रमित हुने दोस्रो राष्ट्र बनेको छ । पछिल्लो २४ घन्टामा ९० हजार व्यक्ति संक्रमित भएसँगै भारत विश्वकै धेरै संक्रमित हुने दोस्रो राष्ट्र बनेको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म ४२ लाख चार हजार ६१४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ४० हजार व्यक्ति संक्रमित छन् । विश्वमा सबैभन्दा धेरै अमेरिकामा ६४ लाख व्यक्ति संक्रमित छन् । भारतमा कोरोनाका कारण मृत्यु हने दर पनि बढिरहेको छ । 

अहिलेसम्म भारतमा कोरोनाका कारण ७१ हजार ६४२ जनाले ज्यान गुमाएका छन् । आइतबार मात्र एकैपटक एक हजार १६ जनाको निधन भएको थियो । कोरोना संक्रमित मात्र नभएर मृतक संख्यामा पनि भारत अगाडि छ । अहिले यो समूहमा भारत तेस्रो स्थानमा छ । भारतमा ७० हजारभन्दा बढीको ज्यान गएको छ । ब्राजिलमा कोरोना संक्रमितबाट एक लाख २६ हजारभन्दा बढी व्यक्तिको निधन भएको छ । भारतमा प्रत्येक दिन औसतमा ८५ हजार र ब्राजिलमा ४० हजारको संख्यामा संक्रमित थपिँदै गएका छन् । अमेरिकामा कोरोनाबाट एक लाख ९३ हजारले ज्यान गुमाइसकेका छन् । भारतमा ३२ लाख ५० हजार व्यक्ति निको भएर घर फर्केका छन् । 

संक्रमित संख्या बढे पनि मेट्रो सेवा सुचारु

एकातिर संक्रमित संख्या बढिरहे पनि भारतले सोमबारदेखि मेट्रो सेवा सुचारु गरेको छ । सरकारले मार्च महिनामा मेट्रो सेवा बन्द गरेको थियो । त्यस बेला भारतमा लकडाउन थियो । सोमबार भारतको विभिन्न राज्यमा मेट्रो रेल सेवा सुचारु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारले मेट्रो रेलमा बस्न नियम सार्वजनिक गरेको छ । जसमा भौतिक दूरी अनिवार्य हुनुपर्नेछ । यात्रुहरूले मास्क लगाउनुपर्ने र स्यानिटाइजर गर्नुपर्ने उल्लेख छ ।

सरकारले सेप्टेम्बरको अन्तिम सातासम्म सबै राज्यमा मेट्रो सेवा सुरु भइसक्ने जनाएको छ । भारतमा सेप्टेम्बरसम्म लकडाउन नै छ । राजधानी नयाँदिल्लीमा सोमबारदेखि सुरु भएको मेट्रो सेवाबाट दुई लाख ७० हजार यात्रु ओहोरदोहोर गर्ने अनुमान गरिएको छ । 

सुझावित समाचार