अमेरिकाको पुल भत्काउने जहाजमा सवार सबै भारतीय

बिहिबार, १५ चैत, २०८०
डिजिटल संस्करण

मंगलबार (मार्च २६) अमेरिकी पूर्वी तटीय सहर बाल्टिमोरनजिकै एउटा पुलमा ठक्कर खाएको कार्गो जहाजमा सवार चालक दलसमेत सबै २२ जना सदस्य भारतीय रहेको जहाजको व्यवस्थापक कम्पनीले जनाएको छ । जहाजको व्यवस्थापक कम्पनी सिनर्जी मरिन ग्रुपले जारी गरेको एक विज्ञप्तिअनुसार ‘डाली’ नामको उक्त कन्टेनर जहाज बाल्टिमोरबाट श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो । बन्दरगाहबाट निस्किएको केही समयपछि नै स्थानीय समयअनुसार बिहान १:३० बजे ‘फ्रान्सिस स्कट की पुल’को एक पिलरसँग ठोक्किएर दुर्घटना भएको थियो । 

करिब २.६ किलोमिटर लामो पुल मंगलबार भत्किँदा पुलमा रहेका केही मानिस तल नदीमा खसेका थिए । तिनको खोजीका लागि लगत्तै उद्धार अभियान सुरु गरिएको थियो । त्यस क्रममा उद्धारकर्ताले दुईजनालाई सकुसल नदीबाहिर निकालेको र बाँकी ६ जनाको भने शव फेला परेको अधिकारीले बताएका छन् । दुर्घटनामा परेका व्यक्तिहरू पुलमा खाल्डाखुल्डी मर्मत गर्ने निर्माण टोली भएको समाचार एजेन्सी एपीले मेरिल्यान्डको यातायात सचिवलाई उद्धृत गर्दै लेखेको छ । 

दुर्घटना भएको १२ घन्टाभन्दा बढी भइसकेकाले बेपत्ता निर्माण श्रमिक पानीमा जीवित पाउने सम्भावना क्षीण रहेको भन्दै अमेरिकी सामुद्रिक सुरक्षा गार्डले खोजी र उद्धार कार्य स्थगित गरेको छ । दुर्घटनाको समयवरपर पानीको तापक्रम अधिक चिसो रहेको र खराब सामुद्रिक मौसमबीच बेपत्ता व्यक्ति जीवित भेटिने सम्भावना नरहेको रियर एडमिरल स्यानन गिलरेथले पत्रकार सम्मेलनमा बताए । 

अधिकारीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । मेरिल्यान्ड राज्यका गभर्नर वेस मुरले जहाजका चालक दलले जहाज पुलमा ठक्कर खानुभन्दा केही समयअघि जहाजको बिजुली गएको सन्देश पठाएका थिए । दुर्घटना हुँदाको भिडियोमा पनि जहाज पुलमा ठक्कर खानुअघि त्यसका बत्ती बल्दै निभ्दै गरेको देख्न सकिन्छ । जहाजले सन्देश पठाएलगत्तै स्थानीय अधिकारीले पुलमा जाने वाहन रोकेको र त्यसले धेरै हताहती हुन रोकेको मेरिल्यान्डका अधिवक्ता मुरले भने । सन् १९७७ मा निर्माण भएको उक्त पुलमा बर्सेनि एक करोड १५ लाख सवारीसाधन आवतजावत गर्ने स्रोतले बतायो । 

सन् २०१६ मा पनि दुर्घटनामा परेको थियो जहाज
मंगलबार बाल्टिमोरको फ्रान्सिस स्कट की ब्रिजमा ठोक्किएको कन्टेनर जहाज सन् २०१६ मा बेल्जियमको एन्टवर्प बन्दरगाहबाट निस्कने क्रममा पनि दुर्घटना भएको फेला परेको छ । भेसल फाइन्डर र सामुद्रिक गतिविधि अभिलेख राख्ने संस्था सिपरेकलगका अनुसार १० हजार कन्टेनर बोक्ने क्षमता भएको २९० मिटरको डाली एन्टवर्पको कन्टेनर टर्मिनल छोडेर ब्रेमरहेभन जाँदै गर्दा सन् २०१६ मा दुर्घटनाग्रस्त भएको थियो । 

त्यतिवेला जहाजका क्रु सदस्यलाई अधिकारीहरूले नियन्त्रणमा लिएर अनुसन्धान पनि गरेको गार्जियनले लेखेको छ । तथापि घटनामा कसैलाई चोटपटक लागेको थिएन र सामुद्रिक प्रदूषण पनि फैलिन पाएन । भेसल फाइन्डरका अनुसार सफा मौसममा भएको उक्त दुर्घटनाका लागि जहाजका मालिक र जहाजका चालक दललाई दोष लगाइएको थियो । 
 

सुझावित समाचार