नेपालको सबैभन्दा पुरानो पार्टी हो कांग्रेस । राणा र राजाहरूलाई समाप्त पारेको, पञ्चायती व्यस्थालाई धुलो चटाएको, बन्दुकमा विश्वास गर्ने शक्तिलाई ब्यालेटको राजनीतिमा ल्याउन सफल भएको पार्टी हो कांग्रेस । लोकतन्त्र, स्वतन्त्रता र अधिकारको आन्दोलनमा कांग्रेसको योगदान महत्वपूर्ण छ ।
तर, कुनै वेलाको नेपाली राजनीतिको मियो पार्टी कांग्रेसको हविगत यतिवेला खराब छ । कांग्रेस अहिले सडकमा पछारिएको छ । उसको अवस्था रक्षात्मक र प्रतिक्रियात्मक मात्रै छ । कुनै वेला दुईतिहाइ बहुमत ल्याएको पार्टी अहिले संसद्मा झिनो संख्यासहित सडकमा छ । अहिले कम्युनिस्टहरू दुईतिहाइको नजिक छन् । कांग्रेस भने राजनीतिको कुनामा बसेर कम्युनिस्टहरूले सरकार चलाएको हेर्न बाध्य छ । संवैधानिक निकायहरूमा दुई–चारवटा पदहरूका लागि दयाको भिख माग्ने अवस्थामा पुगेको छ, कांग्रेस ।
वास्तवमा अहिले कांग्रेस कहाँ छ ?
कांग्रेस अहिले बुढानिलकण्ठमा छ, बोहोराटारमा छ, सानेपामा छ, शशांकनिवासमा छ, शेखरनिवासमा छ, सिटौलानिवासमा छ । आजका दिनमा कांग्रेस संघीय राजधानी काठमाडौंमा छ, त्योभन्दा बाहिर भए प्रदेश राजधानी र जिल्ला सदरमुकाममा होला । कांग्रेस अहिले नेताहरूको निवासवरपरबाहेक अन्त कतै देखिँदैन । कांग्रेस अहिले सहरी क्षेत्र र बजारका केन्द्रमा कैद भएको छ ।
कांग्रेसीहरूलाई आजकाल कर्मप्रति विश्वास लाग्न छाडेको छ । उनीहरूको जिन्दगी श्रम गरेर, जनता जगाएर, संगठन बनाएर होइन, कम्युनिस्ट पार्टी दुई टुक्रा होला र मौकामा चौका हानौँला भन्ने आशा र विश्वासमा बितिरहेको छ ।
कांग्रेस आज जनताको सुखमा छैन, नागरिकको दुःखमा छैन, भुइँमान्छेहरूको पीडामा छैन, पिरमर्कामा पनि छैन । कोराना महामारीमा, प्राकृतिक विपत्तिले उठीवास लागेका बेसहाराहरूसँग पनि कांग्रेस छैन । विदेशी भूमिमा छट्पटाउँदै स्वदेश आउने पर्खाइमा रहेका परदेशीहरूका बीचमा पनि कांग्रेस छैन ।
हुँदा खाने गरिबहरूको झुपडीमा हिमाल र पहाडका भिरपाखा र कुना–कन्दरामा, तराईका फाँटमा नभएको कांग्रेस सहरमा भने छ । सुखसयलमा र मोजमस्तीमा भने कांग्रेस अहिले पनि रमाइरहेको छ । गाउँघरका चोक चौतारीमा नभएको कांग्रेस सहरहरूका चिया पसल, भट्टी पसल र दोहोरी साँझमा भने भेटिन्छ । कांग्रेस अहिले एउटा सम्प्रदायको जोगीजस्तो भएको छ । कुनै वेलाको जनताको प्रिय पार्टी कांग्रेस अहिले जनताकै दिल, दिमाग, मन–मस्तिष्कबाट हराउँदै छ ।
कांग्रेस अहिले के गर्दै छ ?
कांग्रेस अहिले ‘आकाशको फल झर्ला र खाउँला’ भनेर व्यग्र प्रतीक्षा गरी बसेको छ । कांग्रेसीहरूलाई आजकाल कर्मप्रति विश्वास लाग्न छाडेको छ । उनीहरूको जिन्दगी श्रम गरेर, जनता जगाएर होइन, संगठन बनाएर होइन, कम्युनिस्ट पार्टी दुई टुक्रा होला र मौकामा चौका हानौँला भन्ने आशा र विश्वासमा बितिरहेको छ । ‘सास रहुन्जेल आस’ भनेझैँ कम्युनिस्ट सरकारको अलोकप्रियता, भ्रष्ट आचरण, जनविरोधी निर्णय र सत्तारुढ पार्टीभित्रको चर्को अन्तर्विरोधका कारण आगामी चुनावमा कांग्रेसलाई नै जनताले रोज्नेछन् भन्ने सपनामा मख्ख परेर यतिवेला कांग्रेस शान्तसँग बसेको छ । आसैआसमा स्वर्गवास पनि हुन सकिन्छ भन्नेतर्फ नेताहरूले सोच्न भ्याएका छैनन् ।
यतिवेला कांग्रेस सरकारको जनविरोधी निर्णय र क्रियाकलापको विरोध गरिरहेको छैन, बरु मतियार बनेको छ, सहयोगी बनेको छ । जनताको पक्षमा निर्णय गर्न सरकारलाई खबरदारी गर्न कांग्रेस चुकिरहेको छ । इतिहासप्रति गौरव गरेको भरमा, इतिहास भजाएर मात्र जनताको मन पगाल्न सकिँदैन भनेर कांग्रेसलाई कसले सम्झाइदिने ?
कांग्रेस अहिले पार्टीभित्रकै सहयात्रीविरुद्ध षड्यन्त्रका तानाबाना बुन्दै बसेको छ । नेतृत्व कसरी हत्याउने, सहयोद्धाको अस्तित्व कसरी समाप्त पार्ने भन्ने खेलमा न्वारनदेखिको बल लगाइँदै छ । एकअर्काका कमजोरीहरूको सूची बनाएर महाधिवेशनमा छताछुल्ल पार्ने दाउमा छन्, यतिवेला कांग्रेसीजन । कांग्रेस अहिले गुटको सदस्यता वितरण गर्दैैै बसेको छ, योबाहेक कांग्रेसीजनको कुनै इलम देखिँदैन ।
कांग्रेससँग के छ, के छैन ?
कांग्रेससँग गौरवशाली इतिहास छ । लोकतान्त्रिक विचार, भुत्ते भए पनि संगठन, पूर्वजहरूले छाडेर गएको बिरासत, कार्यकर्ता र समर्थकको ठूलो हिस्सा अझै पनि कांग्रेससँग छ । सुधारको बाटो हिँड्न चाहने हो भने सुनौलो भविष्य पनि छ । कम्युनिस्ट सरकारको कार्यशैली र भ्रष्ट आचरणका कारण जनता विकल्पको खोजीमा छन्, कांग्रेसलाई जनमत निर्माणको उपयुक्त वातावरण पनि बनेको छ ।
तर, दुर्भाग्य, कांग्रेससँग ऊर्जा छैन, अठोट छैन, जाँगर छैन, इच्छाशक्ति छैन । ठोस कार्यक्रम छैनन्, परिवर्तनकारी एजेन्डा छैनन्, जनतालाई संगठित बनाउने क्रियाशीलता छैन । कांग्रेसका नेता–कार्यकर्ता कुुकुरको पुच्छरजस्तै छन् । बाह्र वर्ष ढुंग्रोमा राखे पनि सीधा हुने छाँटकाँट देखिएको छैन ।
कांग्रेस पतनको मुख्य कारक भनेकै ‘मै खाऊँ, मै लाऊँ’ भन्ने प्रवृत्ति नै हो । कांग्रेसमा व्यक्तिवाद हाबी छ । लोभीपापी, स्वार्थी तथा बिचौलियाहरूको रजगज छ । बिलासिता र तडकभडकपूर्ण जीवन, अवसर बाँड्न नचाहने र कार्यकर्तालाई काखा र पाखा गर्ने प्रवृत्ति पनि कांग्रेस नेतृत्वमा विद्यमान छ । कांग्रेसीजनमा हार्दिकता छैन, पूर्वको कांग्रेसलाई चोट लाग्दा पश्चिमको कांग्रेसलाई नदुख्नु, उत्तरको कांग्रेस भोको रहँदा दक्षिणको कांग्रेसले सहयोग नगर्ने प्रवृत्ति पनि कांग्रेसमा बढ्दै छ । परिश्रमी कार्यकर्ता किनारा लगाइनु र परिक्रमी कार्यकर्ताको हालीमुहाली हुनु नै कांग्रेसको पतनको मुख्य कारण हो ।
समयसापेक्ष परिवर्तन हुन नसक्नु, जनताका चाहना, भावना, आवश्यकतासँग साक्षात्कार गर्र्न नसक्नु पनि कांग्रेसको अर्को कमजोरी हो । सहकर्मीलाई हिलो छ्याप्ने प्रवृत्तिले पनि कांग्रेसमा डेरा जमाएको छ । जसले कांग्रेसलाई दिनप्रतिदिन कमजोर बनाइरहेको छ ।
दशकौँ सत्तामा बसेको कांग्रेसले भ्रष्टाचार र कुशासनको खेती मात्र गरेन, नेपाली राजनीतिमा सकारात्मक योगदान पनि दिएको छ, राम्रो काम पनि गरेको छ, नेतृत्वदायी भूमिका निर्वाह गरेको छ भन्ने तथ्यलाई जनतामा लैजानुपर्छ ।
बाँदरको पुच्छर लौरो न हतियार
कांग्रेसमा युवा छन्, तर युवा मन छैन । उनीहरूमा परिवर्तनकारी चेत छैन, यथास्थितिमा रमाउने प्रवृत्ति छ । कार्यकर्ताहरू उमेरले युुवा छन्, विचारले युवा छैनन् । उनीहरूमा न क्षमता छ, न दक्षता छ, न सपना छ, न योजना छ, न नवीनतम कार्यक्रमको खाका र दृष्टिकोण छ । वृद्ध नेताहरूको पुच्छर नभईकन पनि नेता बन्न सकिन्छ भन्ने विश्वास पनि उनीहरूमा छैन । विचार, कार्यक्रम, दृष्टिकोण, नीति, संघर्षको माध्यमबाट पुरानो पुस्ताका नेताहरूलाई चुनौती दिएर नेतृत्वमा पुग्ने ल्याकत अहिलेसम्म युवा कांग्रेसमा देखिएको छैन ।
कोही निहित स्वार्थ प्राप्तिका लागि कांग्रेसी भएका छन्, कोही वंशाणुगत कारणले कांग्रेस भएका छन्, कोही नातागोताका कारणले पार्टीमा लागेका छन् । तर, उनीहरूसँग दुःख पाएको, एक छाक भोको रहेको, एक रात अनिँदो भएको अनुभव छैन । न उनीहरूलाई कांग्रेस हुनुप्रति गर्व छ । कांग्रेसका युवाहरू कुहिरोको कागझैँ हराएका छन् ।
गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङ, गुरुराज घिमिरे, वद्री पाण्डेजस्ता सीमित युवा नेताहरू कांग्रेसमा प्राण भर्न धेरथोर कोसिस गरिरहेका छन् । रञ्जित कर्ण, महेन्द्र यादव, जीतजंग बस्नेत, भुपेन्द्रजंग शाही, मनोजमणी आचार्य, प्रतिमा गौतम, ऋषिकेश जंग शाहजस्ता युवा तथा विद्यार्थी नेताहरू राजनीतिमा जिउँदै छन् कि छैनन् भनेर खोज्नुपर्ने भएको छ । राजनीतिमा लागेका युवानेताहरूको चरित्र, प्रवृत्ति, कार्यशैली हेर्दा कांग्रेसको भविष्यमा ग्रहण लाग्ने खतरा देखिँदै छ ।
कांग्रेसको पुनर्जीवनको बाटो
पार्टी बन्ने, टिक्ने, सफल हुने भनेकै विचारले हो, दर्शनले हो, कार्यक्रमले हो । कार्यदिशा स्पष्ट नभई पार्टी चल्दैन । तर, विडम्बना ! कांग्रेसीहरूलाई वैचारिक बहसमा रुचि छैन, जाँगर छैन । नागरिकहरूलाई कांग्रेसले अंगिकार गरेको विचार, दर्शन र कार्यक्रमले आकर्षित गर्न सक्नुपर्छ । जनतामा कांग्रेसको विचार खुइलिएको, असान्दर्भिक भएको, पुरानो भएको भ्रम छ । कांग्रेस विचारविहीन मान्छेहरूको झुण्ड हो भन्ने भ्रम विकास हुँदै छ । पार्टीलाई पुनर्जीवन दिने हो भने सर्वप्रथम यसलाई चिर्नुपर्छ ।
जनताले कांग्रेसलाई किन रोज्ने ? किन खोज्ने ? किन बोक्ने ? कांग्रेसले यसको चित्तबुझ्दो जवाफ जनतालाई दिन सक्नुपर्छ । अब कांग्रेससामु दुईवटा बाटा छन्, सुध्रिने वा सिद्धिने । अब दुईमध्ये एक बाटो कांग्रेसले रोज्नुपर्छ ।
दशकौँ सत्तामा बसेको कांग्रेसले भ्रष्टाचार र कुशासनको खेती मात्र गरेन, नेपाली राजनीतिमा योगदान पनि दिएको छ, राम्रो काम पनि गरेको छ, उल्लेखनीय भूमिका निर्वाह गरेको छ भन्ने तथ्यलाई जनतामा लैजानुपर्छ । ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने तथ्यलाई कांग्रेसीजनले बिर्सन मिल्दैन । विगतमा कांग्रेसले गरेका ऐतिहासिक कार्यहरू जनतामाझ पस्किँदै त्रुटिपूर्ण कामका लागि विनम्रतापूर्वक माफी माग्दै जनतामाझ जानुको विकल्प कांग्रेसजनमा छैन । जनतामा आशा, भरोसा र विश्वास दिलाउनुपर्छ । त्यसका लागि कांग्रेसको नेतृत्व चयनको विधि बदल्नुपर्छ, थिति बदल्नुपर्छ ।
अब दाइकांग्रेस र भाइकांग्रेसबीचको खाडल पुर्नुपर्छ । क्रियाशील र साधारण सदस्यको प्रावधान हटाउनुपर्छ । व्यावहारिक रूपमा क्रियाशील र साधारण सदस्यबीच कुनै अन्तर छैन । पूर्वाग्रही र भागबन्डाको आधारमा होइन, जनताको रुचिका आधारमा उम्मेदवार छनोट गरिनुपर्छ । संघर्ष, त्याग, लगानी, क्षमतालाई उम्मेदवार चयनको आधार बनाइनुपर्छ । हाम्रो होइन, राम्रो मान्छेलाई अवसर दिनुपर्छ । कुरामा आकाश–पाताल जोड्ने तर कामको नाममा माखो नमार्ने, सिन्को नभाँच्ने नेता–कार्यकर्तालाई अब बिदाइ गर्नुपर्छ ।
अब जनताले कांग्रेसलाई किन रोज्ने ? किन खोज्ने ? किन बोक्ने ? कांग्रेसले यसको चित्तबुझ्दो जवाफ जनतालाई दिन सक्नुपर्छ । अब कांग्रेससामु दुईवटा बाटा छन्, सुध्रिने वा सिद्धिने । अब दुईमध्ये एक बाटो कांग्रेसले रोज्नुपर्छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘अहिले कांग्रेस आर्यघाटमा नभएर अस्पतालमा छ’ भन्नुभएको छ । त्यसो हो भने बिरामी कांग्रेसलाई तन्दुरुस्त बनाउन चाँडै रोगको पहिचान गरेर प्रभावकारी उपचार गरिनुपर्छ । महामानव बिपी कोइरालाले भनेझैँ प्रजातन्त्र आएपछि कांग्रेसमा सुकिला मुकिलाहरूको हालीमुहाली भएको छ, जसको विरुद्ध इमानदार कार्यकर्ताले संघर्ष गर्नुपर्ने वेला आएको छ ।
(लेखक नेविसंघ रुकुमका पूर्व अध्यक्ष एवं कांग्रेस रुकुमका पूूूूर्व सदस्य हुन् ।)