बिहानीको झुल्केघामसँगै ग्राहकको आँगनमा पुगिसक्ने नयाँ पत्रिकालाई धन्यवाद छ । अरू पत्रिकाले भन्दा भिन्न विषयवस्तुलाई समाचार बनाउने, सत्य र तथ्यलाई गहिराइमा पुगेर जस्ताको तस्तै जनतासामु ल्याउने भएकाले नै नयाँ पत्रिकाको दिनदिनै विश्वसनीयता बढ्दै गएको छ । यो पत्रिका अध्ययन र अनुसन्धान गर्नका लागि समेत उपयोगी सामग्रीका रूपमा परिचित हुँदै गएको छ ।
पत्रिकाले समेट्ने समाचार मात्र नभएर यसमा समावेश हुने लेख, रचना, विचार र स्तम्भहरू फरक र सशक्त हुन्छन् । एउटा गृहणीदेखि विद्यार्थी र बौद्धिक व्यक्तित्वलाई पनि उत्तिकै उपयोगी हुने किसिमका सामग्री नयाँ पत्रिकामा पढ्न सकिन्छ । नयाँ पत्रिकाले समेट्ने विषयवस्तु पनि नयाँ नै हुने गर्छन् । अझ हरेक शनिबार निस्किने नयाँ पत्रिकाको झन् नयाँ संस्करण त छुटाउनै नहुने हुन्छ ।
यहाँ विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तित्व र समाजमा स्थापित बौद्धिक व्यक्तित्वलाई समेटेर सामग्री सम्प्रेषण हुने गर्छन् । यसले हिजोको समाज कस्तो थियो, आज हामी कुन स्थितिमा छौँ भन्ने झलक मात्रै दिँदैन, भविष्यको मार्गदर्शन पनि गर्छ । मलाई मात्र लागेको होइन, सायद नयाँ पत्रिका पढ्ने सम्पूर्ण पाठकलाई पनि यस्तै महसुस हुन्छ । गहिराइमा पुगेर समाचार ल्याउनु नयाँ पत्रिकाको विशेषता नै भएको छ ।
साथै, विनाभेदभाव समाचार सम्प्रेषण यसको अर्काे विशेषता हो । त्यस्तैगरी विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको विषम परिस्थितिमा पनि नाम चलेका मिडियाहरू धमाधम बन्द भइरहँदासमेत नयाँ पत्रिका उत्तिकै सशक्त र अझै परिष्कृत भएर मैदानमा उत्रियो । कोरोना महामारीको विषम परिस्थितिसँग जुध्दै जनतालाई सही समाचार सम्प्रेषण गर्न र सरकारका साथै सार्वजनिक निकायमा हुने अनियमितताको भण्डाफोर गर्दै सच्चा पहरेदार बनेर उभिएको छ ।
यसको सम्पादकीय लेखन पनि मर्यादित, सभ्य र समाधानका उपायसहितको हुने भएकाले आमपाठकका लागि समेत उत्तिकै पठनीय पाएको छु । यसले वेला–वेलामा लिने अन्तर्वार्ता झनै रोचक हुने गर्छ ।
विगत लामो समयदेखि जसरी अरूभन्दा नयाँ हुने कोसिसमा छ, त्यसरी नै आगामी दिनमा गरिब, दुःखीको आवाज बन्दै जाओस् । नयाँ पत्रिकालाई शुभकामना !